कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान छाड्न रोक

बीबीसी/रोयटर्स

इस्लामावाद — पाकिस्तानले सवारी दुर्घटनामा आफ्ना नागरिकको ज्यान लिएको आरोपमा एक अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ ।

अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान छाड्न रोक

स्थानीय सञ्चारमाध्यमका अनुसार अमेरिकी सरकारले सैनिक सहचारी कर्णेल जोसेफ इम्यानुएल हललाई फिर्ता लैजान शनिवार विमान पठाएको थियो ।

अफागानिस्तानको बगरामबाट उडेको अमेरिकी हवाई सेनाको जहाज शनिबार पाकिस्तानको नुर खान सैन्य हवाईअड्डामा ११ बजेर १५ मिनेटमा उत्रेको थियो । त्यसको ५ मिनेटपछि दुतावासका ८ कर्मचारीसहित नुर खान हवाईअड्डामा पुगेका हललाई पाकिस्तानी संघीय अनुसन्धान संस्था (एफआईए) का अधिकारीले देश छाड्न रोकेका हुन् ।

एफआईएका अधिकारीले हललाई चिन्नेलगत्तै उनको पासपोर्ट कब्जामा लिएर उच्च अधिकारीलाई देश छाड्न दिने/नदिनेबारे सोधेका थिए । तर उच्च अधिकारीको निर्देशनअनुसार हललाई देश फर्कन नदिने बताएपछि करिब ४ बजे उक्त विमान फर्केको थियो ।

उनलाई यात्राका लागि ‘कालोसूची’ मा राखिएकाले उनलाई विमानस्थलहरूले देश छाड्न दिने छैनन् । शनिबार प्रकाशमा आएको विवरणबारे दुवै देशका अधिकारीहरूले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पाकिस्तानले गत महिनाको सडक दुर्घटनामा दोषी रहेको भन्दै उनलाई जान नदिएको हो । दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको थियो । इस्लामाबादको उत्तरमा पर्ने दामन–ए–कोहमा गत अप्रिल ७ मा २२ वर्षीय आतिक बेगको दुर्घटनामा मृत्यु भएको थियो । सीसीटीभीमा रेकर्ड भएका दृश्यहरूमा कर्णेल हलले चलाएको तीव्र गतिको सेतो रंगको गाडीले रातो ट्राफिक बत्तीको बेवास्ता गर्दै ठक्कर दिएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमले कर्णेल हलले रक्सी खाएर गाडी चलाएको समाचार प्रसारण गरेका थिए । तर उक्त दाबीलाई अमेरिकी दूतावासले भने अस्वीकार गर्दै आएको छ । घटनापछि पाकिस्तानी सञ्चारमाध्यमले ‘मान्छे मार्ने कूटनीतिक लाइसेन्स’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।

सञ्चारमाध्यममा सार्वजनिक उक्त घटनाबारे पाकिस्तानस्थित अमेरिकी दूतावासका प्रवक्ताले घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरे । वासिङटनस्थित अमेरिकी विदेश मन्त्रलायका प्रवक्ताले सुरक्षा र गोपनीताका कारण घटनाबारे स्पष्ट बोल्न नसक्ने बताए ।

अमेरिकी अधिकारीहरूले कूटनीतिक छुट पाउने भन्दै पक्राउ गर्न वा कर्णेल हलमाथि मुद्दा चलाउन नमिल्ने तर्क गरेका थिए । घटनापछि दुई देशबीच राजनीतिक तनाव थप बढेको छ ।

मृतकका बुवाले कर्णेल हलमाथि इस्लामाबाद उच्च अदालतमा मुद्दा चलाइनुपर्ने माग गरेका छन् । शुक्रबार उक्त अदालतले कर्णेल हलले पूर्ण रूपमा छुट पाउन नसक्ने बताएको थियो ।

यसअघि पाकिस्तानले अमेरिकाले आफ्ना वासिङटनस्थित कूटनीतिज्ञलाई देशभित्र घुमफिरका लागि प्रतिबन्ध लगाएको जनाउँदै इस्लामाबादस्थित अमेरिकी कूटनीतिज्ञलाई पनि निर्बाध हिँडडुल गर्न रोकेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रलायले आफ्ना कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाइएको जनाए पनि थप जानकारी दिएको छैन । मन्त्रलायका प्रवक्ताले भने, ‘हामी निरन्तर पाकिस्तानी समकक्षीसँग निरन्तर सम्पर्कमा छौं ।’ उनले पाकिस्तानी विदेश मन्त्रालय सम्बद्ध अधिकारीसँगको कुराकानीको विवरण सार्वजनिक गर्न असमर्थ रहेको बताए ।

तर स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानस्थित अमेरिकी कूटनीतिज्ञलाई दूतावासको ४० किलोमिटरभन्दा टाढा जानका लागि अनुमति लिनुपर्ने निर्णय गरेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष २०१८ को अवसरमा गरेको एक ट्वीटमा पाकिस्तान ‘झूटो र बेइमान’ भएको बताएपछि वासिङ्टन र इस्लामाबादबीचको सम्बन्धमा तिक्तता आएको हो । पाकिस्तानलेअफगानिस्तानस्थित तालिवान लडाकुविरुद्धको अमेरिकी सेनाको कारबाहीमा हातहतियार उपलब्ध गराउँदै आएको थियो । त्यसको प्रतिउत्तरमा अमेरिकाले पाकिस्तानलाई ठूलो आर्थिक सहयोग गर्दै आएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयअघि पाकिस्तानले तालिवान नेतालाई आश्रय दिइरहेको आरोप लगाउँदै पाकिस्तानमाथिको सैन्य सहयोग कटौती गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?