१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पेरिस बम आक्रमणका दोषीलाई २० वर्ष जेल

बीबीसी/रोयटर्स

ब्रसेल्स — सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा गरिएको बम आक्रमणका एकमात्र जीवित सलेह अब्देसलामलाई बेल्जियमले २० वर्षका लागि जेल सजाय तोकेको छ । 

पेरिस बम आक्रमणका दोषीलाई २० वर्ष जेल

२८ वर्षीय अब्देसलाम र उनका सहयोगी सोफियन अयारीलाई हत्या प्रयास, गैरकानुनी हतियार राखेको तथा आतंकवादी गतिविधिमा संलग्न भएको सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो । अब्देसलामा पेरिस आक्रमणपछि भाग्ने क्रममा बेल्जियम पुगेका थिए । उनीहरू सन् २०१६ मा राजधानी ब्रसेल्सबाट पक्राउ परेका थिए ।


यसअघि उनले गत फेबु्रुअरी ५ मा ब्रसेल्सको अदातलका न्यायाधिसले सोधेको प्रश्नको जवाफ दिन अस्वीकार गरेका थिए । त्यसक्रमा उनले अब्देसलामले आफ्नो मौनता नै प्रतिरक्षा भएको दाबी गर्दै न्यायाधीशको प्रश्नको जवाफ नदिने बताएका थिए ।


फैसला सुनाउने क्रममा अदालतलमा अनुपस्थित दुवैलाई माग दाबीअनुसार नै २० वर्षको सजाय दिइएको हो । फैसला सुनाउँदै न्यायाधीशले ‘उनीहरू दुवै जनाको अतिवादी घटनामा संलग्नता रहेकोमा कुनै दुईमत नभएको’ बताए ।


सन् २०१५ को नोभेम्बरमा पेरिसस्थित एक कन्सर्ट हल, रंगशाला, रेस्टुरेन्ट तथा बारमा बन्दुकधारीले भीषण आक्रमण गरेका थिए । आक्रमणमा संलग्न अब्देलसलामका भाइ ब्राहिम पेरिसको एक क्याफेबाहिर गरिएको आत्मघाती हमलामा मारिएका थिए । फ्रान्सेली अभियोजनकर्ताले अब्देलसलामले हमलामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गर्दै आएका छन् । पेरिस आक्रमणबारे उनीविरुद्ध फ्रान्समा छुट्टै सुनुवाइका हुने बताइएको छ । सोमबार भएको फैसला भने पेरिस आक्रमणपछि भाग्ने क्रममा बेल्जियमका प्रहरीसँग भएको गोलीकाण्डबारे हो ।


को हुन् सलेह अब्देसलाम ?

अब्देस्लाम सन् २०१५ को नोभेम्बरमा १ सय ३० जनाको ज्यान जाने गरी गरिएको फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा एक मात्र जीवित आक्रमणकारी हुन् । इस्लामिक स्टेटसम्बद्ध अब्देसलामको आक्रमणमा मुख्य भूमिका रहेको फ्रान्सेली अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार आक्रमणपछि भाग्ने क्रममा उनको बेल्जियमका प्रहरीसँग भिडन्त भएको थियो । बेल्जियम प्रहरीले गरेको खानतलासीका क्रममा उनले गोली चलाउँदा ३ प्रहरी र एक फ्रान्सेली सहकर्मी सामान्य घाइते भएका थिए । घटनामा एक बन्दुकधारी भने मारिएका थिए । त्यसको तीन दिनपछि अब्देस्लाम ब्रसेल्सको मोलेन्बिकस्थित आफ्नो घरमा पक्राउ परेका हुन् ।


उनीसँगै पेरिसबाट भाग्न सफल टयुनिसियन नागरिक आयारी सिरियामा इस्लामिक स्टेटका लागि लडेको बेल्जियम सञ्चारमाध्यमले जनाएका छन् । उनी मोनिर अहमद अलाज र अमिने चोउक्रिका नाममा सिरियाली शरणार्थीका रूपमा ग्रिस हुँदै युरोप प्रवेश गरेका थिए ।


अब्देस्लाम पक्राउ पर्नुभन्दा ४ दिनअघि ब्रसेल्समा भएको आक्रमणमा पनि संलग्न भएको अधिकारीको आशंका छ । ब्रसेल्समा गरिएका ३ आत्मघाती आक्रमणमा ३२ जनाको मृत्यु भएको थियो । आक्रमणमा ३ सय ४० घाइते भएका थिए । उनी इस्लामिक स्टेटको बम टोलीसँग आवद्ध रहेको अधिकारीको दाबी छ । हाल उनी फ्रान्स र बेल्जियमको सीमाक्षेत्रमा पर्ने भेन्डिन–ले–भियल कारागारमा छन् । बेल्जियमको राजधानी ब्रसेल्सबाट करिब १ सय ५० किलोमिटरको दूरीमा रहेको भेन्डिन–ले–भियल फ्रान्सकै उच्च सुरक्षा व्यवस्था भएको कारागार हो ।


प्रहरीसँग अब्देसलामले गरेको कुराकानीमा आधारित फ्रान्सेली सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूमा उनले अन्य ३ जना आत्मघाती आक्रमणकारीलाई कारमा लगेको स्वीकार गरेका थिए । उनले आफूसँग पनि आत्मघाती पेटी बम भएको तर त्यसले काम नगरेपछि नजिकैको फोहोर फाल्ने टोकरीमा राखेको बताएका थिए । त्यसलगत्तै आफूले योजना परिवर्तन गरेको अब्देस्लामले बताएका थिए । अब्देस्लामलाई उद्धृत गर्दै फ्रान्सेली सञ्चारमाध्यममा उल्लेख छ– ‘म पनि अन्य ९ आक्रमणकारीजस्तै सहिद हुन चाहन्थँे । तर अल्लाहले फरक निर्णय लिए ।’

प्रकाशित : वैशाख ११, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?