कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१० मिनेटको ‘निसाफ’

इस्लामिक स्टेटका संधिग्दविरुद्ध इराकी अदालतले १० मिनेटमै मृत्युदण्डको फैसला सुनाउने गरेको छ । 
हालसम्म २ हजार ९ सय मुद्दाको किनारा लागिसकेकामा ९८ प्रतिशत दोषी ठहर
न्यूयोर्क टाइम्स

बग्दाद — एक ४२ वर्षीय महिलाले इस्लामिक स्टेटलाई सहयोग गरेको सम्बन्धी आफूविरुद्धका आरोपको प्रतिरक्षा गर्न जम्मा २ मिनेट समय पाइन् । 

१० मिनेटको ‘निसाफ’

कालो अवयामा रहेकी टर्कीकी अमिना हसनले इराकी न्यायाधीशलाई आफू परिवारसहित गैरकानुनी रूपमा इराक प्रवेश गरेकी र इस्लामिक स्टेटको नियन्त्रणमा रहेको स्थानमा २ वर्षसम्म बसेको बताइन् । उनले भनिन्, ‘मैले कहिल्यै इस्लामिक स्टेटबाट पैसा लिइन् । मैले टर्कीबाट आफ्नै पैसा ल्याएकी हुँ ।’ न्यायाधीशले उनलाई झुन्डयाएर मृत्युदण्ड दिइने फैसला सुनाइनुअघि जम्मा १० मिनेट मुद्दाको सुनुवाइ गरे ।

अर्की टर्कीका महिला अदालतको सुनुवाइ कक्षमा प्रवेश गरिन् । त्यसैगरी, एकपछि अर्की । २ घण्टाभित्र १४ महिलाविरुद्धको सुनुवाइ सकियो र उनीहरूलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइयो ।

इस्लामिक स्टेटविरुद्धको युद्धमा सरकारी फौजले सफलता हासिल गर्दै गएपछि पक्राउ परेका हजारौं विद्रोहीहरू, सहयोगी र उनीहरूका परिवारहरू पक्राउ परेसँगै इराकको न्यायिक प्रक्रिया नै ध्वस्तप्राय: भएको छ ।

अधिकारीहरूले पक्राउ परेकाहरूलाई इस्लामिक स्टेटले करिब एक तिहाइ क्षेत्रमा तीन वर्षसम्म गरेको शासनका लागि सहयोग गरेको आरोप लगाउने गरेका छन् । लाखौं इराकीहरूले रक्तपात र विध्वंशको अन्त्यको महसुस गर्दै गर्दा अभियोग र दण्डका लागि अधिकतम जोड दिने आफ्नो योजनाका कारण प्रधानमन्त्री हैदर अल–अवादीले निकै ठूलो जनसमर्थन प्राप्त गरे ।

‘इस्लामिक स्टेटका आतंककारीले इराकका मोसुल, सलाउद्दिन, अनवरलागयतका स्थानमा मानवता र इराकी जनताविरुद्ध निकै ठूलो अपराध गरेका छन्,’ इराकी सेनाका प्रवक्तासमेत रहेका जनरल याहया रसुलले भने, ‘पीडितहरू र इराकी जनताको रगतको सम्मानका लागि अपराधीहरूले मृत्युदण्ड पाउनैपर्छ ।’ तर आलोचकहरूले इराकी अदालतमा हुने सुनुवाइ न्यायभन्दा पनि बढी प्रतिकार भएको बताउने गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले ‘न्यायिक प्रक्रिया कानुनको विफलतातर्फ उन्मुख भएको’ चेतावनी दिएको छ ।

हयुमन राइट्स वाचले अधिकांश मानिसलाई अधिकतम सजाय दिने गरेको भन्दै इराकको आलोचना गरेको छ ।

राष्ट्रको प्रतिआतंकवाद कानुनले आतंकवादी कार्यमा संलग्न, प्रोत्साहन गर्ने, योजना बनाउने, आर्थिक सहयोग गर्ने वा सहयोग गर्ने जोसुकैलाई मृत्युदण्ड दिने व्यवस्था गरेको छ । त्यस कारण पनि इराकी अदालतले मानवताविरोधी अपराधमा संलग्न तथा उनका श्रीमती वा परिवारलाई उस्तै सजाय दिने गरेको छ ।

‘व्यक्तिगत परिस्थितिले कुनै अर्थ राख्दैन,’ हयुमन राइट्स वाचका वरिष्ठ अनुसन्धानकर्मी बेल्किस विलीले भनिन्, ‘घरायसी काम गर्ने, स्वास्थ्यकर्मीलगायत सबैलाई मृत्यु दण्डको सजाय दिने गरिएको छ ।

यसको अर्थ विलीका अनुसार इस्लामिक स्टेटको संलग्नता भएको विश्वास गरिएका खराब अपराधको अनुसन्धान गर्ने झन्झट अदालतले नलिएको प्रस्ट हुन्छ । इराकी न्याय मन्त्रलायले उक्त आलोचनाहरू अस्वीकार गर्दै न्यायाधीश तथा सुनुवाइ प्रक्रियाको बचाउ गर्दै आएको छ । ‘यदि कुनै प्रमाण छन् भने उनीहरूमाथि अभियोग लगाइन्छ तर कुनै प्रमाण छैनन् भने मुक्त गरिन्छ,’ कानुन मन्त्रालयका प्रवक्ता तथा न्यायाधीश अब्दुल–सत्तार अल–बिर्कदरले भने ।

सरकारले आतंकवादको आरोपमा थुनामा परेकाको तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन । तर नाम उल्लेख नगर्ने सर्तमा अदालतसँग सम्बन्धित दुई व्यक्तिका अनुसार सन् २०१७ यता इस्लामिक स्टेटनिकट भएको आशंकामा करिब १३ हजार मानिसलाई पक्राउ गरिसकिएको छ ।

हयुमन राइट्स वाचले गत डिसेम्बरमा कम्तीमा २० हजार मानिसलाई इराकी अधिकारीले इस्लामिक स्टेटसँग साँठगाँठ गरेको आरोपमा पक्राउ गरेको जनाएको थियो । गत महिना समाचार संस्था एसोसिएटेड प्रेसले इराकले सन् २०१४ यता इस्लामिक स्टेट तथा अन्य आतंकवादी क्रियाकलापमा संलग्न भएको आशंकामा १९ हजार मानिसलाई थुनामा राखेको समाचार सार्वजनिक गरेको थियो ।

इराकी गुप्तचर अधिकारीका अनुसार कुनै निश्चित आतंकवादी आक्रमणमा संलग्न तथा विद्रोही संगठनमा उच्च जिम्मेवारी लिएकाहरूलाई छुट्टै राखिने गरेको जनाए । सन् २०१७ को जुन/जुलाई यता १० हजारभन्दा बढी मुद्दाहरू अदालतमा पेस गरिएको अदालत जानकार स्रोतले बताएको छ । तीमध्ये हालसम्म २ हजार ९ सय मुद्दाको किनारा लागिसकेको छ । उक्त मुद्दामा करिब ९८ प्रतिशतलाई दोषी ठहर गरिएको छ । तर उक्त स्रोतले तीमध्ये कतिपयलाई मृत्युदण्डको सजाय दिइयो वा कार्यान्वयन गरियो भन्नेबारे जानकारी नभएको बतायो । सरकारले गत सोमबार आतंकवादको अपराधमा दोषी ११ जनालाई मृत्युदण्डको सजाय दिइएको जनाएको थियो ।

हालसम्म पक्राउ परेकामध्ये १ हजार ३ सय ५० विदेशी महिला र ५ सय ८० बालबालिका रहेका छन् । तीमध्ये अधिकांशले तल अफर सहरमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा आत्मसमर्पण गरेका थिए । उनीहरूमध्ये अधिकांश टर्की, रूस र मध्य एसियाका छन् । साउदीलगायतका अरब देशले पक्राउ परेकालाई सुपुर्दगी गर्न माग गरेका छन् भने बेलायत, फ्रान्सलगायतका अन्य देशले आफ्ना नागरिकलाई फिर्ता लैजान हिचकिचाइरहेका छन् ।

विरलै हुने घटनामा गत फेब्रुअरीमा ४ रूसी महिला र २७ बालबालिकालाई रूस फिर्ता पठाइएको थियो । टर्कीले आफ्ना

आमाबुबाले इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा लगेका वा कुनै गलत कार्यमा संलग्न नभएका बालबालिकालाई फर्काउन पहल गरिरहेको छ ।

करिब १५ वर्ष इस्लामिक अतिवादीको बम आक्रमणले ध्वस्त राष्ट्रका लागि बाह्य देशले सोचेजस्तो विदेशीको संलग्नताबारे सहनशीलता कम हुनु स्वाभाविक हो । तर ह्युमन राइट्स वाचका बेल्किस विलीले खासगरी विदेशीको हकमा कोही विदेशी भएको आधारमा इस्लामिक स्टेटको सहयोगी भएको अनुमान गरिएको दाबी गरिन् ।

यसै महिना दोषी ठहर २० देखि ४४ वर्षका टर्कीका १२ र अजरबैजानका २ महिला सिरियास्थित इस्लामिक स्टेटको राजधानी रक्कामा बस्दै आएका थिए । तर उनीहरूमध्ये कतिपयका श्रीमान्हरूको हवाई आक्रमणका क्रममा मृत्यु भएपछि उनीहरू इराक पसेका थिए र तल अफरमा इराकी सेनाले गरेको कारबाहीका क्रममा आत्मसर्मपण गरेका थिए ।

सादा पोसाकका सुरक्षाकर्मीले घेरिएका आरोपीले मधुरो बत्ती बलेको बग्दादस्थित प्रतिआतंकवाद अदालतमा सुनवाइका लागि कुरिरहेका देखिन्थे । थुनामा ८ महिना गुजारेका १३ बालबालिकालाई उनका आमाहरूसँगै अदालततर्फ लगिँँदै थियो । जब अमिना हसनलाई बोलाइयो, उनले आफ्नो बच्चा अर्की थुनुवाको जिम्मा लगाइन् । अर्की महिलाले बालकको घुम्रे कपालमा सुम्सुम्याइन् भने केहीले सुस्केरा हाल्दै प्रार्थना गरे ।

सरकारले नियुक्त गरेका उनीहरूका वकिल अलि सुल्तानले आफू सुनुवाइका लागि तयार नभइसकेको बताए । उनले आफूसँग उनीविरुद्ध लगाइएका अभियोगका प्रमाणको पहुँच नभएको बताए । नेगर मोहम्मदले उनी सबै इस्लामिक स्टेटका अपराधमा निर्दोष भएको बताए पनि न्यायाधीश अहमद अल–अमेरीले हसनलाई मृत्युदण्डको सजाय सुनाए ।

नाजली इस्मालीले न्यायाधीशलाई श्रीमान्ले उनको परिवारलाई सिरिया जान बाध्य पारेको बताए । उनका ३ सन्तान सिरियामा गरिएको हवाई आक्रमणका क्रममा मारिएको इस्मालीले बताइन् । उनको एक मात्र जीवित सन्तान २ वर्षीय याहया मात्र हुन् जसले उनलाई सुनुवाइ कक्षबाहिर कुरिरहेका थिए ।

न्यायाधीश अमेरीले सोधे, ‘तिमी निर्दोष छौ कि दोषी ?

‘म निर्दोष छु,’ इस्मालीले भनिन् ।

न्यायाधीशले उनलाई मृत्युदण्डको सजाय दिए ।

इस्मालीले मुस्काउँदै आफ्नो भाग्य स्वीकार गरिन् । ‘यसको मतलब म अन्तिममा स्वर्गमा पुग्छु,’ उनले भनिन् ।

आमा र बच्चाले एक सुुरक्षाकर्मीको साथमा अदालत छाडे पनि बच्चाबारे भने केही थाहा भएन ।

प्रकाशित : वैशाख ८, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?