कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उत्तर कोरिया वार्ताबारे ट्रम्पले भने : फलदायी नभए बाहिरिन्छु

रोयटर्स/बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको प्रस्तावित वार्ता फलदायी नभए बाहिरिने बताएका छन् । 

उत्तर कोरिया वार्ताबारे ट्रम्पले भने : फलदायी नभए बाहिरिन्छु

ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई परमाणु नि:शस्त्रीकरणका अधिकतम दबाब दिइरहनुपर्नेमा सहमत भएको बताए । उनले भने, ‘उत्तर कोरियालाई नि:शस्त्रीकरणका लागि अधिकतम दबाब दिने हाम्रो अभियान जारी छ ।’


आबे वार्ताका क्रममा ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा छन् । यद्यपि राष्ट्रपति ट्रम्पले किमसँगको वार्ता फलदायी हुने अपेक्षा गरेको बताए । ट्रम्पले उत्तर कोरियाले परमाणु नि:शस्त्रीकरणमा सहमत हुनु विश्वका लागि मात्रै नभई स्वयं उत्तर कोरियाका लागि पनि ठूलो उपलब्धि हुने दाबी गरे । ट्रम्पले भने, ‘यो तिनीहरूका लागि मात्र नभई समग्र विश्वकै लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ ।’


दुई नेताबीच बिहीबार भएको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले बैठक असफल हुने आफूलाई लागे त्यसमा सहभागी नहुने बताए । तर यदि बैठक भइहाले पनि त्यो परिणाममुखी नहुने लागेमा आफू बाहिरिने पनि उनले उल्लेख गरे ।

यसअघि ट्रम्पले केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक माइक पोम्पियोले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग भेटवार्ता गरेको पुष्टि गरेका थिए । ट्रम्पका अनुसार पोम्पियोले आगामी मे महिनामा दुई देशबीच हुने भनिएको शिखर वार्ताका लागि आवश्यक वातावरण तयार पार्न गरिएको हो ।


उनले पोम्पियोले किमसँग ‘राम्रो सम्बन्ध’ स्थापित गरेको बताए । ट्रम्पले दुईबीच बुधबार वार्ता ‘निकै सहज’ भएको बताए । तर गत वर्ष ट्रम्पले किमलाई ‘रकेट मान्छे’ भनेका थिए । ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका ३ अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्तामार्फत प्रयास भइरहेको जनाए ।


पोम्पियोको भ्रमण अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच सन् २००० यता भएको सबैभन्दा उच्च स्तरीय हो । ट्रम्प र किमबीच मे महिनामा वार्ता हुने जनाइए पनि मिति र स्थानबारे भने केही उल्लेख गरिएको छैन । तर विश्लेषकहरूका अनुसार उनीहरूबीचको वार्ताको मिति र स्थान दुई कोरियाबीचको शिखर वार्तापछि निर्धारण हुन सक्ने बताएका छन् । उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच आगामी अप्रिल २७ मा वार्ता हुँदै छ ।


बैठकस्थलसहितका विस्तृत विषयबारे दुई देशका अधिकारीहरू गहन वार्तामा जुटिरहेका बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबेले आफूले राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाले बन्धक बनाएका जापानी नागरिकको रिहाइका लागि पहल गर्नसमेत आग्रह गरेको बताए ।


उत्तर कोरियाले १९७० र ८० को दशकमा १३ जना जापानी नारिकलाई बन्धक बनाएको स्विकारेको थियो । तर जापानले बन्धकको संख्या बढी भएको दाबी गर्दै आएको छ । प्योङयाङले केही बन्धकहरू जापान फर्किसकेको र केहीका मृत्यु भएको जनाए पनि जापानले अस्वीकार गर्दै आएको छ ।


दक्षिण कोरियाले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्धका क्रममा ५ सय नागरिकलाई उत्तर कोरियाले बन्धक बनाएको दाबी बताउँदै आएको छ ।


उत्तरले परमाणु हतियार त्याग्ने दाबी

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले उत्तर कोरिया परमाणु नि:शस्त्रीकरणका लागि तयार भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्तर कोरियालाई परमाणु हतियार कार्यक्रमबाट अलग गराउन अधिकतम दबाब दिनुपर्ने’ बताएलगत्तै मुनको यस्तो भनाइ सार्वजनिक भएको हो ।


मुनले दुई कोरिया तथा उत्तर कोरिया र अमेरिकाबीच हुने वार्ताले परमाणु नि:शस्त्रीकरण, कोरियाली द्वीपमा शान्ति स्थापना र दुई कोरियाबीचको सम्बन्ध सुधारका लागि सफल सम्झौता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?