१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिरिया रासायनिक आक्रमण: अनुगमनकर्तालाई अनुमति

रोयटर्स/बीबीसी

मस्को/दमास्कस — रूसले सिरियाको पूर्वी सहर डुमामा भएको भनिएको रासायनिक आक्रमणबारे अध्ययन गर्न अनुगमनकर्तालाई उक्त स्थानमा जान अनुमति दिइएको जनाएको छ ।

सिरिया रासायनिक आक्रमण: अनुगमनकर्तालाई अनुमति

१० दिनअघि गरिएको हमलाबारे अध्ययन गर्न अनुगमनकर्ताको टोली डुमा सहरमा शनिबार नै पुगिसकेको भए पनि आक्रमण स्थलमा जान रोक लगाइएको थियो ।


रासायनिक हतियार निषेधका लागि अन्तर्राष्ट्रिय निगरानी समूह (ओपीसीडब्लू) का महानिर्देशक अहमेत उजुम्कुले आफूहरूलाई सुरक्षाको कारण देखाई सिरियाली सेनाले उक्त स्थानमा जान रोक लगाएको बताएका थिए ।


ओपीसीडब्लूका अनुसार सिरियाली अधिकारीले उनीहरूलाई उक्त स्थानमा जान दिनुको सट्टा २२ जना आक्रमणका प्रत्यक्षदर्शीलाई अन्तर्वार्ताका लागि राजधानी दमास्कस ल्याइदिने बताएका थिए ।


अमेरिकाले त्यसविरुद्ध चासो व्यक्त गर्दै आएको थियो । उसले अनुगमनकर्ताको टोलीलाई उक्त स्थानमा जानबाट रूसले रोकेको दाबी गर्दै आएको छ । सिरियाली सरकारी फौजले गररहेको विद्रोहीविरुद्ध कारबाहीमा रूसी सहयोग छ ।


अमेरिकाले गत अप्रिल ७ मा गरिएको आक्रमणमा रासायनिक हतियार प्रयोग भएको दाबी गर्दै सिरिया तथा उसको प्रमुख सहयोगी रूस जिम्मेवार रहेको बताउँदै आएको छ । आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको थियो । आक्रमणमा कुनै पनि रासायनिक हतियारको प्रयोग नभएको दुवै देशको दाबी छ ।


उक्त आक्रमणको प्रतिक्रियामा अमेरिका, बेलायत र फ्रान्सले सिरियामा आक्रमण गरेका थिए । ती देशले सिरियाको सम्भावित रासायनिक हतियार निर्माण तथा भण्डारण स्थलमा १ सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणमा ‘लक्ष्य प्राप्त भएको’ दाबी गरेका थिए ।


उनले सिरिया सरकारले पुन: रासायनिक आक्रमण गरे फेरि आक्रमण गर्दै आएको बताउने गरेका छन् । त्यसको जवाफमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सिरियामा अमेरिकाले पुन: आक्रमण गरे ‘स्थिति भयावह हुने’ चेतावनी दिएका थिए ।


इरानी समकक्षी हसन रुहानीसँगको टेलिफोन कुराकानीमा पुटिनले अमेरिकी नेतृत्वलेको आक्रमणपछि सिरियामा राजनीतिक सम्झौता हुने सम्भावना क्षीण भएको बताएका थिए । साथै उनले पश्चिमा देशले राष्ट्रसंघीय बडापत्रको प्रतिकूल कदम चालेको निष्कर्ष निकाल्दै पुन: त्यसो भए अन्तर्राष्ट्रिय सम्बन्ध अस्तव्यस्त हुने धम्की दिएका हुन् । यसैबीच, अमेरिकी राष्ट्रपति मस्कोविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउने अधिकारीहरूको प्रस्ताव अस्वीकार गरिदिएका छन् । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हलीले अमेरिकाले रूसविरुद्ध छिट्टै नयाँ आर्थिक प्रतिबन्धको घोषणा गर्ने बताएकी थिइन् । तर अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले मंगलबार ट्रम्पले थप प्रतिबन्ध लगाउन अस्वीकार गरेको जनाएको छ ।


सोमबार हलीले रूसविरुद्ध अमेरिकाले लगाउने प्रतिबन्धहरू सिरियाली राष्ट्रपति बसर अल–असदलाई रासायनिक हतियार निर्माण गर्न सहयोग गर्ने कम्पनीप्रति लक्षित हुने दाबी गरेकी थिइन् ।


पुटिन–मर्केल फोनवार्ता
मस्को (रोयटर्स)– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलर एन्जेला मर्केलले मंगलबार फोनवार्ता गरेका छन् । वार्तामा सिरिया मुद्दा र नर्ड स्ट्रिम पाइपलाइनबारे कुराकानी भएको रूसी राष्ट्रपतिको कार्यालयले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार फोनवार्ताका क्रममा पुटिनले सिरियामा हालै अमेरिकी नेतृत्वमा गरिएको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका थिए ।

प्रकाशित : वैशाख ५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?