१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘सिरियामा आक्रमण गरे स्थिति भयावह’

रोयटर्स/बीबीसी

मस्को/दमास्कस — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा अमेरिकाले ‘पुन: आक्रमण गरे स्थिति भयावह हुने’ चेतावनी दिएका छन् ।

‘सिरियामा आक्रमण गरे स्थिति भयावह’

इरानी समकक्षी हसन रुहानीसँगको टेलिफोन कुराकानीमा दुई नेताहरू अमेरिकी नेतृत्वले गरेको आक्रमणका कारण सिरियामा राजनीतिक सम्झौताको सम्भावना सकिएकोमा सहमत भएका छन् ।

रूसी राष्ट्रपतिको कार्यालयले सोमबार जारी गरको विज्ञप्तिमा उल्लेख छ, ‘यदि पश्चिमा देशहरूले राष्ट्रसंघीय बडापत्रको प्रतिकूल कुनै कदम चाले भने त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमै भयावह स्थिति उत्पन्न हुन्छ ।’ रोयटर्सका अनुसार अमेरिकाले मस्कोविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहँदा रूसी राष्ट्रपतिले चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हलीले अमेरिकाले रूसविरुद्ध छिट्टै नयाँ आर्थिक प्रतिबन्धको घोषणा गर्ने बताइन् । हलीले त्यस्ता प्रतिबन्धहरू सिरियाली राष्ट्रपति बसर अल–असदले प्रयोग गरेको रासायनिक हतियार निर्माणका लागि सहयोगी कम्पनीप्रति लक्षित रहेको दाबी गरिन् ।

अमेरिका, बेलायत र फ्रान्सले सिरियाको पूर्वी सहर डुमा गत साता सिरियाली सरकारी फौजले गरेको आक्रमणमा रासायनिक हतियार प्रयोग गरेको दाबी गर्दै आएका छन् । त्यसको प्रतिक्रियामा उनीहरूले शनिबार १ सय ५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ती क्षेप्यास्त्रहरू सिरियाको रासायनिक हतियार निर्माण तथा भण्डारण स्थलमा प्रहार गरिएको हो ।

तर रूस र सिरियाले उक्त हमलामा कुनै पनि रासायनिक हतियारको प्रयोग नगरेको बताउँदै आएका छन् । रूसले राष्ट्रपति असदको पक्षमा विद्रोहीलक्षित कारबाहीमा सहयोग गर्दै आएको छ । यसअघि, आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया सरकारले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरे पुन: आक्रमण गर्ने चेतावनी दिएका थिए ।

अमेरिकी गठबन्धनको हमलापछि प्रतिक्रिया दिँदै ट्रम्पले आक्रमणपछि ‘लक्ष्य प्राप्त भएको’ बताएका थिए । समाचार संस्था रोयटर्सका अनुसार उक्त आक्रमणमा ट्रम्प रूसीहरू नपरून् भनेर संयमित बनेको जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?