३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिरियामा फेरि आक्रमणको चेतावनी

रोयटर्स/बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया सरकारलाई रासायनिक आक्रमण गरे पुन: हमला गर्ने चेतावनी दिएका छन् ।

सिरियामा फेरि आक्रमणको चेतावनी

अमेरिका, फ्रान्स र बेलायतले सिरियाले डुमा सहरमा रासायनिक हमला गरेको आरोपमा जवाफी आक्रमण गरेको एक दिनपछि ट्रम्पले सिरिया सरकारलाई चेतावनी दिएका हुन् ।

सिरिया तथा रुसले रासायनिक आक्रमणबारेको आरोप निराधार भएको बताउँदै आएको छ । सिरिया सरकारले विद्रोहीविरुद्ध गर्दै आएको कारबाहीमा रुसले सहयोग गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणको निन्दा गर्न रुसले पेस गरेको प्रस्ताव आइतबार असफल भएको छ । जम्मा दुई देशले मात्रै त्यसको पक्षमा मत दिए ।

शनिबार अमेरिकी नेतृत्वले डुमा सहरमा गरेको आक्रमणलाई रुसी राजदूत भसिली नबेन्जियाले ‘गुन्डागर्दी’ को संज्ञा दिएका छन् । उनले ‘अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको’ बताए । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले ‘खतरनाक परिस्थिति सिर्जना भएको’ भन्दै संयमता अपनाउन आग्रह गरेका छन् ।

अमेरिका, बेलायत र फ्रान्सले गत साता भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र अनुसन्धान गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्लाई मनाउन प्रयास थालेका छन् । उनीहरूले परिषद्का सदस्यलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए ।

मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्‍याउन र राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा राष्ट्रपति बसर अल–असदको सरकार पनि सामेल हुन आह्वान गरिएको छ । मस्यौदामा सोमबारबाट वार्ता सुरु हुने आशा व्यक्त गरिएको छ । तर रुसले त्यसविरुद्ध भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ ।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हलीले सिरियालाई रासायनिक अस्त्रको प्रयोग नगर्न चेतावनी दिँदै थप हवाई हमलाको चेतावनी दिएकी थिइन् ।

यसैबीच, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) साझेदारहरूले अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि चालेको कदमप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।

नेटोका महासचिव जेम्स स्टोलनबर्गले शनिबार गरिएको कारबाहीले सिरियाको रासायनिक क्षमतामा आँच आएको बताए । उनले आक्रमणले सबै समस्या समाधान नगरे पनि तत्कालका लागि उक्त कारबाही सही भएको बताए । अमेरिकी गठबन्धनले सिरियाका विभिन्न तीन स्थानमा शनिबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए । राजधानी दमास्कस र नजिकैका दुई भिन्न स्थानमा गरिएको हमलामा रासायनिक हतियार भण्डारण स्थल र वैज्ञानिक अनुसन्धान केन्द्र ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

आक्रमणको विरोधमा प्रदर्शन
अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणको विरोधमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि आइतबार प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘सिरियालाई मुक्त गर’, ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन’, ‘आक्रमणले निर्दोषमा मारिन्छन् ।’ जस्ता नारा लगाएका थिए । साथै प्रदर्शनकारीले उक्त आक्रमणको विरोधमा हस्ताक्षर संकलन समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्सले सिरियामा शनिबार बिहानै गरेको आक्रमणको २४ घण्टा नबित्दै सर्वसाधारणहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले युद्धको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?