कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिरियामा आक्रमण

अमेरिका, बेलायत र फ्रान्सद्वारा क्षेप्यास्त्र हमला
लक्ष्य पूरा भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
रोयटर्स/बीबीसी

दमास्कस — सिरियाको पूर्वी गुटास्थित डुमा सहरमा गतसाता भएको भनिएको रासायनिक आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी गठबन्धनले सिरियाका विभिन्न स्थानमा शनिबार बिहानैदेखि आक्रमण सुरु गरेको छ । अमेरिका, बेलायत र फ्रान्सले आक्रमण गरेका हुन् ।

सिरियामा आक्रमण

राजधानी दमास्कस र नजिकैका दुई भिन्न स्थानमा हमला गरिएको अमेरिकी रक्षामन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका, बेलायत र फ्रान्सले सिरियामा रासायनिक हतियार रहेका भनिएका स्थानमा आक्रमण गरिएको दाबी गरेका छन् । दमास्कस र होम्स सहरमा निकै ठूला आवाजहरू सुनिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले योजनाअनुसा निकै राम्रोसँग आक्रमण कार्यान्वयन गरिएको बताए । उनले भने, ‘लक्ष्य पूरा भयो ।’

यसअघि ह्वाइटहाउसमा सिरिया आक्रमणबारेको सम्बोधनमा ‘हमला जारी रहेको’ बताएका थिए । उनले भने, ‘बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाका सशस्त्र फौजको संलग्नतासहित एक संयुक्त कारबाही जारी छ ।’ ट्रम्पले सिरियाका रासायनिक अस्त्र भएका स्थानमा ‘बेलायत र फ्रान्सको सहकार्यमा सैन्य हमला’ लाई अनुमोदन गरेको बताएका हुन् । अमेरिकाका लागि रुसी राजदूतले एक विज्ञप्ति जारी गर्दै ‘यस्ता कदमप्रति प्रतिक्रिया नजनाई नबस्ने’ जनाएको छ ।

यद्यपि सिरियाको राजधानी लगायतका स्थानमा सधैंझैं अवस्था साधारण रहेको बीबीसीले जनाएको छ । दमास्कसका सडकमा गाडीहरू चलेको र सुरक्षा जाँचकेन्द्रमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिएका छन् । पसलहरू खुला नै रहेको र मानिसहरू नियमित कामम गइरहेको जनाइएको छ । राजधानी दमास्कसको मुख्य चोकमा केही मानिसहरूले सिरियाली सेना र राष्ट्रपति असदको पक्षमा नाराबाजी गरिरहेको बताइएको छ ।

हालै भएको आक्रमण एक वर्षअघि सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको हमलाभन्दा उल्लेखनीय थियो तर राष्ट्रपति ट्रम्पले भनेजस्तो ठूलो हवाई आक्रमण भने नभएको बीबीसीले जनाएको छ । ट्रम्प आक्रमणमा रुसीहरू नपरून् भनेर सावधानी अपनाइएको समेत जनाएकाले अमेरिका संयमित भएको देखिन्छ ।

क्षेप्यास्त्र खसालेको दाबी
सिरियाको सरकारी टेलिभिजनले अमेरिकी गठबन्धनले प्रहार गरेका एक दर्जनभन्दा बढी क्षेप्यास्त्र सरकारी फौजले खसालेको दाबी गरेको छ । तर एक रुसी सैनिक अधिकारीलाई उद्धृत गर्दै अमेरिका, बेलायत र फ्रान्सले प्रहार गरेको ७१ वटा क्रुज क्षेप्यास्त्र खसालेको जनाएको छ ।

मस्को आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेफटनेन्ट जेनेरल सर्गेइ रुड्सकोईले सिरियामा कम्तीमा १ सय ३ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको जनाए । उनले हालैका दिनमा सिरियाली हवाई सेनाको रक्षा क्षमता वृद्धि गरिएको जनाए ।

फ्रान्सको रक्षा मन्त्रालयका एक अधिकारीले आफ्नो सेनाले प्रहार गरेका १२ वटा क्षेप्यास्त्र खसालिएकोबारे कुनै संकेत प्राप्त नभएको जनाएका छन् । अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडामा भने आक्रमण नगरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मेद्वारा आक्रमणको बचाउ
बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘फौज प्रयोग गर्नुबाहेक अन्य कुनै व्यावहारिक विकल्प नभएको’ दाबी गर्दै कारबाहीमा आफ्नो देश संलग्न भएको बताइन् । तर मेले उक्त कारबाही सत्ता परिवर्तनका लागि नभएको प्रस्ट पारिन् । मेले सिरिया आक्रमणमा संलग्न हुने आफ्नो निर्णयको बचाउ गर्दै त्यसबारे संसद्मा संशोधन गर्ने बताएकी छन् । उनले भनिन्, ‘यो घटनाक्रम र सैन्य गोपनीयताको सन्दर्भमा हामीले जे गर्‍यौं त्यो उचित छ ।’ मेले गतसाता डुमामा भएको रासायनिक हमला सिरिया सरकारबाहेक अरूले गर्न नसक्ने समेत दाबी गरिन् ।

बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले सिरियामा अमेरिका, बेलायत र फ्रान्सले गरको हमला ‘अत्यधिक सफल’ भएको बताए । उनले आक्रमणमा संलग्न लडाकु विमान तथा चालक दलका सबै सदस्य सकुशल फर्केको जनाए ।आक्रमणमा बेलायतका ४ ‘टोर्नेडो’ जेटहरू संलग्न थिए । जेटमा रहेका क्षेप्यास्त्रले ३ सय माइल (४८० किलोमिटर) टाढा जीपीएसको माध्यमबाट निसानामा मार हालेका थिए । यद्यपि बेलायतका विपक्षी नेता जेरेमी कोर्बिनले सिरियाविरुद्ध आक्रमण गर्ने प्रधानमन्त्री मेको निर्णय ‘कानुनत: प्रश्न गर्न सकिने’ भएको बताए । उनले प्रधानमन्त्री मेले वासिङ्टनबाट निर्देशन लिनुको सट्टा संसद्बाट स्वीकृति खोज्नुपर्ने बताए ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले ‘रासायनिक अस्त्रहरू सार्वजनिक सुरक्षाका लागि खतरा भएकाले आफ्नो देश आक्रमणमा संलग्न’ भएको बताए । उनले सिरिया सरकारका गतिविधिले ‘लक्ष्मणरेखा नाघेको’ दाबी गरे ।

मर्केलले गरिन समर्थन
जर्मन चान्सलर एन्जेला मर्केलले सिरियामा अमेरिकी गठबन्धनले गरेको हवाई आक्रमणप्रति आफ्नो समर्थन जनाएकी छन् । उनले उक्त हमला थप रासायनिक अस्त्र प्रयोगविरुद्ध सिरियाली राष्ट्रपति असर अल–असदलाई सचेत गराउनका लागि ‘आवश्यक र उपयुक्त’ रहेको दाबी गरिन् ।

उपयुक्त हवाई हमला : टर्की
टर्कीको विदेश मन्त्रालयले एउटा विज्ञप्तिमार्फत राष्ट्रपति बसर अल असदको शासनविरुद्ध गरिएको हवाई आक्रमणलाई ‘उपयुक्त’ भएको बताएको छ । गतसाता डुमामा सिरियाली पक्षले गरेको भनिएको रासायनिक अस्त्रको प्रसंग उल्लेख गर्दै टर्कीले ब्रिटेन, अमेरिका र फ्रान्सले चालेको कदमले मानवीय चेतनालाई सहज तुल्याएको टिप्पणी गरेको छ ।

टर्कीले सिरियाली सरकारविरुद्ध लडिरहेका विद्रोहीहरूलाई सघाएको छ । तर उसले उत्तरी सिरियामा रहेका कुर्द फौजविरुद्ध पनि सैन्य कारबाही सुरु गरेको छ । उत्तरी सिरियामा हवाई आक्रमण गर्नका लागि टर्कीले रुससँग एउटा सहमति गरेको बताइएको छ ।

सैन्य हमला अपराध : इरान
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सिरियामा ‘अमेरिकाको नेतृत्वमा भएको आक्रमण अपराध भएको बताएका छन् । उनले उक्त आक्रमणबाछट कुनै पनि उपलब्धि हासिल नहुने बताए । उनले भने, अमेरिकाका साझेदारले कुनै पनि उपलब्धि हासिल गर्ने छैनन् । सिरियामा भएको आक्रमण विशुद्ध अपराध मात्रै हो ।’

खामेनीले अमेरिकी राष्ट्रपति, बेलायती प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिलाई अपराधीको संज्ञा दिएको इरानी टेलिभिजनले जनाएको छ । इरानले सिरियाली सरकारी सेनाको समर्थनमा आफ्ना फौज परिचालन गरेको छ । साथै इरानले असद सरकारलाई आर्थिक सहयोग गर्दै आएको छ । इरानी विदेशमन्त्रालयले अमेरिका र उसका साझेदार मुलुकसँग कुनै प्रमाण नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले रासायनिक अस्त्र नियन्त्रणसम्बन्धी निकाय (ओपीसीडब्ल्यू) को धारण सार्वजनिक हुनुअवावै आक्रमण गरेकाले गम्भीर परिणामका लागि तयार रहन चेतावनी दिए ।

संयम हुन राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेजले सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रमध्ये ३ अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको आक्रमणलाई नजिकबाट नियालिरहेको बताएका छन् । गुटेरेजले ‘राष्ट्रसंघीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार कदम चाल्न’ ध्यानाकर्षण गरे । उनले भने, ‘म परिषद्का सबै सदस्य राष्ट्रलाई जिम्मेवार हुन आग्रह गर्छु ।’

पुटिनद्वारा हमलाको निन्दा


मस्को (एजेन्सी)– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो साझेदार सिरियामाथि अमेरिकी नेतृत्वको आक्रमणको निन्दा गरेका छन् । उनले रुसी सेनामाथि प्रहार गरिए कडा जवाफ दिने चेतावनी दिए ।

रुसको सरकारी टेलिभिजनबाट प्रसारित एउटा वक्तव्यमा पुटिनले रुसले राष्ट्रसंघको आपतकालीन बैठक बोलाउन माग गर्ने उनले बताए । उनले सिरियामाथिको आक्रमण ‘हस्तक्षेपकारी कदम’ भएको आरोप समेत लगाए ।

पुटिनले सिरियामाथि आक्रमण गर्ने बहानाका रूपमा गतसाता डुमामा नियोजित रूपमा शंकास्पद रासायनिक हमला गराइएको बताए । अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकैका क्षेत्रलाई निसाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

उसले दमास्कस नजिक एउटा सैन्य अखडामा प्रहार गरिएका सबै १२ वटा क्रुज क्षेप्यास्त्रलाई सिरियाली तोपहरूले खसालेको पनि दाबी गरेको छ । सिरियाली राष्ट्रपति बसर अल–असदको सहयोगमा रुसी सेनाले सन् २०१५ देखि हवाई आक्रमण सुरु गरेको हो ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू अमेरिकाले भनेजस्तो रासायनिक आक्रमणको प्रमाण हेर्न आफू आतुर रहेको बताएका छन् । मस्कोमा शनिबार बोल्दै उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई रासायनिक आक्रमणको प्रमाण देखाउन चेतावनी दिए ।

प्रकाशित : वैशाख २, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?