२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रासायनिक आक्रमण नगरेको रुसको दाबी

बीबीसी/रोयटर्स

काठमाडौँ — रुसले सिरियाको पूर्वी गुटास्थित डुमा सहरमा आइतबार गरिएको शंकास्पद आक्रमणमा रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेको छ ।

रासायनिक आक्रमण नगरेको रुसको दाबी

रुसी विदेशमन्त्री सर्गेइ ल्याभ्रोभले उक्त आक्रमण रासायनिक हतियार प्रयोग गरिएकोबारे कुनै प्रमाण फेला नपरेको बताए । उनले रुसी विशेषज्ञ र सहायताकर्मीहरूले आक्रमणस्थलको भ्रमण गरेको बताउँदै ल्याभ्रोभले अमेरिकाले दाबी गरेजस्तै कुनै सरिन वा क्लोरिन ग्यास आक्रमण नभएको जनाए ।

उक्त आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो । अधिकारकर्मीहरूले आक्रमणका कारण १ हजार मानिसहरूमा श्वासप्रश्वासमा समस्या देखिएको बताएका थिए । आइतबारको आक्रमणपछि विद्रोहीहरूले आत्मसमर्पण गर्दै उक्त स्थान छाडेको बीबीसीले जनाएको छ । आइतबार सिरियाली फौजले रासायनिक आक्रमण गरेको दाबी गर्दै फ्रान्स र अमेरिकाले चेतावनी दिएका थिए । उनीहरूले ‘संयुक्त रूपमा कडा जवाफ दिने’ बताएका हुन् । यसबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा मंगलबार छलफल हुँदै छ । आक्रमणपछि ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल–असद, रुस र इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए । रुसले सिरियालाई विद्रोहीविरुद्धको कारबाहीका सघाउँदै आएको छ ।

आइतबार ट्वीट गर्दै ट्रम्पले आक्रमणका लागि असद र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार भएको दाबी गरेका थिए ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि सर्वसाधारणमाथि रासायनिक आक्रमण गरेर सिरिया र रुसले गम्भीर गल्ती गरेका बताएका थिए । सिरियाले रुसको सहयोगमा डेढ महिनाअघिदेखि पूर्वी सहर गुटामा कारबाही चलाएको हो ।

यसअघि सन् २०१३, २०१७ र २०१८ मा भएका रासायनिक आक्रमणमा करिब ३ सय जनाको मृत्यु भएको थियो । तर रुस तथा सिरियाले भने आफूहरूले रासायनिक आक्रमण नगरेको दाबी गर्दै आएका छन् । आक्रमणका कारण १ हजार ६ सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका छन् ।

राष्ट्रसंघका अनुसार पूर्वी गुटामा करिब ४ लाख सर्वसाधारणमा आधारभूत आवश्यकताको कमी छ । तर भीषण हवाई आक्रमणका कारण उक्त स्थानमा सहायता सामग्री पुर्‍याउने प्रयास असफलप्राय: छ ।

प्रकाशित : चैत्र २७, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?