२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिरिया द्वन्द्व: रासायनिक आक्रमणमा ७० को मृत्यु

बीबीसी/रोयटर्स

दमास्कस — सिरियाको पूर्वी गुटामा आइतबार गरिएको शंकास्पद रासायनिक हतियार आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

सिरिया द्वन्द्व: रासायनिक आक्रमणमा ७० को मृत्यु

पछिल्लो दुई साता केही शान्त रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा आइतबार रुसको सहयोगमा सरकारी सेनाले आक्रमण गरेको अधिकारकर्मीहरूले जनाएका छन् । यद्यपि, सिरिया तथा उसको प्रमुख सहयोगी रुसले रासायनिक हतियार आक्रमणको आरोप ‘मनगढन्ते’ भएको जनाएका छन् ।

उद्धार संस्था ‘हवाइट हेल्मेट्स’ ले ट्वीटरमार्फत सार्वजनिक गरेका तस्बिरहरूमा मृतकहरूको खात देखिन्छ । ‘हवाइट हेल्मेट्स’ ले मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेको बताएको छ । मृतकहरूको संख्या बढ्न सक्ने जनाइएको छ ।

विभिन्न मेडिकल रिपोर्ट, निगरानी समूह र उद्धारकर्मीहरूले विभिन्न विवरण सार्वजनिक गर्दै रासायनिक हतियारको प्रयोग भएको दाबी गरेका हुन् । ‘हवाइट हेल्मेट्स’का प्रमुख रइद अल–सलेहले भने, ‘७० जना मानिसको श्वासप्रश्वासको समस्याले मृत्यु भइसकेको छ र हजारौंमा उक्त समस्या देखिएको छ ।’ उनले टवीटमार्फत १५० जनाको मुत्यु भएको दाबी गरेपछि उक्त ट्वीट हटाएको बीबीसीले जनाएको छ ।

विद्रोही समर्थित एक सञ्चार संस्थाले ट्वीट गर्दै आक्रमणमा परी कम्तीमा ७५ जनाको मृत्यु भएको जनाएको छ । गुटा मिडिया सेन्टरले आक्रमणका कारण कम्तीमा एक हजार जना प्रभावित भएको जनाएको छ । उसले हेलिकप्टरबाट ‘सरिन’ नामक विषालु ग्याससहितको बम प्रहार गरिएको दाबी गरेको छ । सिरियाली अस्पतालमा काम गर्ने सहयोगी संस्था ‘द युनियन अफ मेडिकल रिलिफ अर्गनाइजेसन’ ले दमास्कसस्थित एक अस्पताललाई उद्धृत गर्दै ७० जनाको मृत्यु भएको यकिन गरेको छ । उक्त संस्थाका प्रवक्ताले अस्पातल स्रोतलाई उद्धृत गर्दै उपचार भइरहेकाहरूमा मुखबाट पिँmज निकाल्ने समस्या देखिएको दाबी गरेको छ । उसले सरिन र क्लोरिन ग्यासले आक्रमण गरेको दाबी गरेको छ ।

यसअघि सन् २०१३ मा सिरियाको पूर्वी गुटामा गरिएको सरिन ग्यास आक्रमणमा सयौं मानिसहरूको ज्यान गएको थियो । संयुक्त राष्ट्रसंघीय नियोगले सरिन ग्यास आक्रमण भएको यकिन गरे पनि आक्रमण कसले गरेको हो भन्नेबारे केही उल्लेख गरेको थिएन ।

सन् २०१७ को विद्रोही नियन्त्रित खान शेइखौन सहरमा गरिएको आक्रमणमा अप्रिलमा भएको त्यस्तै आक्रमणमा ८० जना मारिएका थिए ।

राष्ट्रसंघ र रासायनिक हतियार प्रयोग विरोध संगठन (ओपीसीडब्लू) ले गरेको संयुक्त छानबिनमा उक्त आक्रमणका लागि सिरिया सरकारलाई जिम्मेवार ठहर्‍याएको थियो । त्यसैगरी सन् २०१८ को सुरुमा अधिकारवादी, स्वाथ्यकर्मी र अमेरिकाले सिरियाली फौजले क्लोरिन ग्यास आक्रमण गरेको दाबी गरेका थिए । तर सिरिया सरकारले बारम्बार आफूले कुनै पनि रासायनिक आक्रमण नगरेको दाबी गर्दै आएको छ ।

पछिल्लो आक्रमणपछि बेलायतको विदेशमन्त्रलायले अन्तर्राष्ट्रिय समुदायको जवाफ आवश्यक भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतवर्ष खान शेइखौनमा भएको आक्रमणपछि क्रुस क्षेत्रप्यास्त्र प्रहार गर्न आदेश दिएका थिए । गतमहिना ट्रम्पले सिरियामा अर्को क्षेप्यास्त्र आक्रमणबारे वरिष्ठ अमेरिकी अधिकारीसँग छलफल गरेको वासिङटन पोस्टले जनाएको थियो । त्यसको एक दिनपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सिरियाले रासायनिक आक्रमण गर्नु ‘मूर्खतापूर्ण कदम’ भएको बताएका थिए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि सर्वसाधारणमाथि रासायनिक आक्रमण नगर्न चेतावनी दिएका थिए ।

विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी क्षेत्र गुटामा गत फेब्रुअरी १८ देखि रुसी सेनाको सहयोगमा सरकारी सेनाले आक्रमण सुरु गरेको हो आक्रमणका कारण १ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । मृत्यु हुनेमध्ये एक चौथाइ बालबालिका रहेको निगरानी समूहलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रसंघले पूर्वी गुटामा करिब ४ लाख सर्वसाधारण आधारभूत आवश्यकताको पर्खाइमा रहेको जनाएको छ तर आक्रमण जारी रहेकाले उक्त स्थानमा कुनै पनि सहायता संस्था पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पले दिए चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको पूर्वी क्षेत्र गुटास्थित डोमा सहरमा सिरियाली सरकारी फौजले गरेको आक्रमणको भत्र्सना गरेका छन् । ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल–असद उनका सहयोगी राष्ट्र रूस र इरानलाई चेतावनी दिँदै ‘ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् ।

सामाजिक सञ्जाल टीटरमा ट्रम्पले सिरियाली राष्ट्रपति असलाई ‘जनावर’ को संज्ञा दिएका छन् । उनले आक्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र असद जिम्मेवार भएको बताए ।

सिरियाको सरकारी सेनाले करिब डेढ महिना यता पूर्वी सहर गुटामा गर्दै आएको आक्रमणमा रुसले सहयोग गर्दै आएको छ । रुस र सिरियाले रासायनिक आक्रमण गरेको अस्वीकार गरेका छन् ।

प्रकाशित : चैत्र २६, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?