कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुई कोरियाबीच अप्रिलमा शिखर वार्ता

बीबीसी/रोयटर्स

सोल — उत्तर र दक्षिण कोरियाबीच आगामी अप्रिल २७ गते शिखर वार्ता हुने भएको छ । दुई देशका शीर्ष नेताबीच १० वर्षपछि वार्ता हुन लागेको हो ।

दुई कोरियाबीच अप्रिलमा शिखर वार्ता

दुई देशले संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाक्षेत्र पन्मुन्जोममा वार्ता हुने उल्लेख छ ।

बिहीबार दुई देशका अधिकारीबीच भएको वार्तापछि उक्त मिति तय भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली नेता किमले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गरेको भोलिपल्ट शिखर वार्ताको मिति घोषणा गरिएको हो । उक्त भेटमा किमले आफू ‘कोरियाली द्वीपमा परमाणु नि:शस्त्रीकरणका लागि आफू तयार रहेको’ बताएका थिए ।

केही साताअघि उत्तर कोरियाली नेता किमको वार्ताप्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरिसकेका छन् । दुई नेताबीच आगमी मे महिनामा वार्ता हुने जनाइए पनि मिति भने हालसम्म तय गरिएको छैन् ।

उत्तर र दक्षिण कोरियाली प्रतिनिधिमण्डलले दुई कोरियाबीच अप्रिल २७ को शिखर वार्ता ‘शान्ति गाउँ’ का नामले प्रख्यात पन्मुन्जोममा हुने बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाली प्रतिनिधि प्रमुख री सन ग्वानले ‘दुई कोरियाबीच विगत ८० वर्षयताकै सम्बन्ध सुमधुर भएको’ बताएका छन् ।

रीले भने, ‘यदि दुवै पक्षले आफ्नो ऐतिहासिक महत्त्व र शीर्ष वार्ताको अर्थ बुझ्न सके हामीले निश्चित रूपमा सबै समस्याको समाधान गर्न सफल हुनैछौं ।’ दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व भने एकीकरण मन्त्री चो म्युङ–ग्युनले गरेका थिए ।

सन् १९५३ मा कोरियाली युद्धको अन्त्य भएपछि हालसम्म २ पटक मात्र दुई कोरियाली शीर्ष नेताबीच वार्ता भएको छ । यसअघि सन् २००७ मा भएको शीर्ष वार्तामा उत्तर कोरियाका तत्कालीन नेता किम जोङ–इल र दक्षिण कोरियाली पूर्वराष्ट्रपति रो मु–हयुनबीच प्योङयाङमा वार्ता भएको थियो ।

त्यसअघि दुई कोरियाबीच सन् २००० मा शीर्ष वार्ता भएको थियो । गत बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र चिनियाँ नेताबीच भएको भेटवार्ताको स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त भेटवार्तामा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन लागेको वार्ताका एजेन्डाबारे छलफल भएको जनाएका छन् ।

बुधबार किम एक अप्रत्याशित भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उनी सन् २०११ मा उत्तर कोरियाको शासनसत्ता सम्हालेयता पहिलो पटक विदेश भ्रमणमा गएका हुन् ।

बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले दुई कोरिया शिखर वार्ताका लागि मिति तय भएकोमा स्वागत गर्दै ‘उक्त वार्ताले कोरियाली द्वीपमा शान्ति स्थापित हुने आशा व्यक्त गरेका छन् ।

प्रकाशित : चैत्र १६, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?