१०६ रूसी कूटनीतिज्ञ निष्कासित

जासुस विष आक्रमण
बीबीसी/रोयटर्स

वासिङ्टन — अमेरिका तथा युरोपेली देशले हालै बेलायतमा पूर्व रूसी गुप्तचरमाथि गरिएको आक्रमणको विरोधमा दर्जनौं रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेका छन् ।

१०६ रूसी कूटनीतिज्ञ निष्कासित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना कूटनीतिज्ञलाई देशनिकालाको आदेश दिएका छन् । तीमध्ये ४८ कूटनीतिज्ञ वासिङ्टनस्थित रूसी दूतावासका कर्मचारी हुन् । अन्य कूटनीतिज्ञ न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत भएको बीबीसीले जनाएको छ । पछिल्लो अमेरिकी निर्णय रूसविरुद्ध शीतयुद्धयताकै ठूलो हो ।


त्यसैगरी जर्मनी, फ्रान्स र युक्रेनले समेत रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय गरेका छन् । साथै अन्य कतिपय युरोपेली देशले समेत रूसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।


रूसले उक्त निर्णयको जवाफमा ‘उस्तै कदम चाल्ने’ जनाएको छ । रूसले ६६ वर्षीय पूर्वरूसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियामाथि गत मार्च ४ मा बेलायतको सालीसबारीमा भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।


बेलायती प्रधानमन्त्री टेरेजा मेले अमेरिका तथा युरोपेली देशको निर्णयको स्वागत गर्दै ‘रूसविरुद्ध कडा जवाफ दिन सबै मित्रशक्ति राष्ट्रहरू एकसाथ उभिएको’ बताइन् । बेलायती विदेशमन्त्री बोरिस जोन्सनले ‘आफ्नो देशको पक्षमा अभूतपूर्व अन्तर्राष्ट्रिय समर्थन’ भएको बताएका छन् ।


रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखरोभाले युरोपेली संघ तथा अमेरिकी कदमको कडा शब्दमा भत्र्सना गरेकी छन् । गत साता भएको युरोपेली देशका नेताहरूले स्क्रिपाल र युलियामाथि स्नायु प्रणालीमा असर गर्ने विषालु ग्यासद्वारा गरिएको आक्रमणमा ‘मस्कोको संलग्नता लगभग पुष्टि भएको’ निष्कर्ष निकालेका थिए ।


उक्त निर्णयपछि युरोपेली देश तथा अमेरिकाले रूसविरुद्ध एक भएका छन् । आक्रमणको विरोधमा शुक्रबार युरोपेली संघ (ईयू) ले रूसबाट आफ्ना राजदूत फिर्ता गर्ने दुर्लभ निर्णय लिइसकेको छ । ‘गत मार्च ४ मा बेलायती नागरिक र उनकी छोरीको हत्या गर्ने उद्देश्यले रूसले स्नायु प्रणालीमा असर पुर्‍याउने विषालु ग्यास आक्रमण गरेको छ ।’ अमेरिकी विदेश विभागद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त आक्रमणले हाम्रो मित्रराष्ट्र बेलायतका कैयौं मानिसको जीवन जोखिममा पर्नुका साथै एक प्रहरी अधिकारीसहित ३ जना गम्भीर घाइते भएका छन् ।’


त्यसैगरी, युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले ‘बेलायतप्रति ऐक्यबद्धता जनाउन युरोपेली देशसँगको समन्वयमा १३ जना रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय गरेको’ बताएका छन् ।


सोमबार युक्रेनले १३, पोल्याड, फ्रान्स, जर्मनी र क्यानडा प्रत्येकले ४, चेक गणराज्य र लिथुआनियाले तीन/तीन जना रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय गरेका छन् । त्यसैगरी, नेदरल्यान्ड, इटाली, डेनमार्कले दुई/दुई जना तथा स्टोनिया, लात्भिया, क्रोयसिया, फिनल्यान्ड र रोमानियाले एक/एक कूटनीतिज्ञ निष्कासित गरेका हुन् ।


यसअघि सोमबार बिहान लात्भिया, लिथुवानिया, स्टोनिया र पोल्यान्डले रूसी राजदूतलाई आआफ्नो विदेश मन्त्रालयमा सोधपुछका लागि बोलाएका थिए । बेलायतले यसअघि नै २३ जना रूसी कूटनीतिज्ञलाई देशनिकाला गरिसकेको छ ।


त्यसको जवाफमा रूसले पनि त्यति नै संख्यामा कूटनीतिज्ञ निष्कासित गर्नुका साथै, मस्कोस्थित ब्रिटिस काउन्सिल र सेन्ट पिटर्सवर्गस्थित काउन्सुलेट कार्यालयसमेत बन्द गरिसकेको छ ।


सर्गेई र उनकी छोरी दुवैको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बेलायती अधिकारीले उनीहरूमाथि ‘नोभिचोक’ नामक रसायनको प्रयोग गरी आक्रमण गरिएको जनाएका थिए । उक्त घटनापछि उद्धार कार्यमा संलग्न अधिकारी निक बेली भने लामो समयको उपचारपछि बिहीबार घर फर्किसकेका छन् ।

रूसले बेलायतले सुरु गरेको ‘रूसविरोधी अभियान’ लाई युरोपेली संघ पछयाइरहेको भन्दै युरोप महादेशको अवस्था सामान्य हुनबाट रोक्ने उद्देश्यले लन्डनले चलाएको अभियानमा युरोपेली संघ पिछलग्गु बनेको प्रतिक्रिया दिएको छ । तर बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘सालिसबरी विष आक्रमण युरोपमाथिको अतिक्रमणको अंश’ भएको जनाएकी छन् ।

प्रकाशित : चैत्र १३, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?