कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अन्तर कोरिया वार्ता अर्को हप्ता गर्न उत्तर कोरिया सहमत

रासस/एएफपी

सोल — उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ । दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ । 

अन्तर कोरिया वार्ता अर्को हप्ता गर्न उत्तर कोरिया सहमत

उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन/तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ । पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउदो अप्रिलको अन्त्य तिर शिखर सम्मेलन गर्नेगरी तयारी गरिने भएको छ ।


दक्षिण कोरियाले अब हुन गइरहेको उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेण्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो । ‘युनिफिकेसन फेभिलियन विल्डीङ’मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उनका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्ने भएका छन् ।


दुई देशको शिखर सम्मेलनमा भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा भेटवार्ता गराउने लक्ष्य राखिएको छ । गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुस गरिएको छ ।


दुई देशकाबीचमा सम्वन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्वन्धमा पनि नाटकिय हिसाबले सुधार आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताएका छ्न् । उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको केही समय अगाडि बताएका थिए ।


राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो ।

प्रकाशित : चैत्र १०, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?