सिरिया युद्ध : पूर्वी गुटा छाड्दै विद्रोही

बीबीसी/एएफपी

दमास्कस — सिरियाली विद्रोही र उनीहरूका परिवारले सरकारसँगको सम्झौतापछि पूर्वी क्षेत्र गुटा छाड्न सुरु गरेका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार साँझसम्म ८८ विद्रोही तथा ४ सय ५९ सर्वसाधारणले हरस्ता छाडिसकेका छन् । तीमध्ये कतिपय विद्रोहीका परिवार भएको बताइएको छ ।

सिरिया युद्ध : पूर्वी गुटा छाड्दै विद्रोही

विद्रोही समूह अहर्र अल–सामका करिब १ हजार ५ सय लडाकुहरू र करिब ६ हजार सर्वसाधारणहरू हरस्ताबाट उत्तरी प्रान्त इडलिबतर्फ लैजान लागिएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

एक महिनाअघि सिरियाको पूर्वी क्षेत्रमा भीषण कारबाही सुरु गरेको सरकारले पहिलोपटक स्थानान्तरणसम्बन्धी सहमति भएको हो । निगरानी समूहका अनुसार पूर्वी गुटा क्षेत्रमा गरिएको एक महिना लामो हवाई आक्रमणमा परी हालसम्म कम्तीमा १ हजार ५ सय सर्वसाधारणको मृत्यु भइसकेको छ भने ५३ हजार घाइते भएका छन् ।

आक्रमणपछि ८२ हजारभन्दाबढी विस्थापित भइसकेको जनाइएको छ । स्थानान्तरणसम्बन्धी सहमतिपछि विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका मानिस छाड्न सहमत भएको जनाइएको छ । सरकारी टेलिभिजनका अनुसार उक्त सहमतिपछि विद्रोहीले १३ जनालाई छाडिसकेका छन् । त्यसैगरी अर्को विद्रोही समूह जैस–अल–इस्लामसँग पनि सम्झौता हुन लागेको बीबीसीले जनाएको छ ।

सिरियास्थित मानव अधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले विभिन्न स्थानमा अझै पनि भिडन्तहरू जारी रहेको जनाएको छ । उसका अनुसार बिहीबार भएका भिडन्तमा कम्तीमा १९ जनाको ज्यान गएको छ । संस्थाका अनुसार करिब ४ हजार सर्वसाधारण खाली खुट्टै डोमा क्षेत्रबाट अन्यन्त्र गएको जनाएको छ ।

पूर्वी गुटामा भने रूसको समर्थनमा सिरियाली सेनाले एक महिनाअघिदेखि गरेको भीषण आक्रमण गर्दै आएको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ ।

द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रूपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

सुरक्षा परिषद्मा छलफल
सिरियामा जारी आक्रमणबारे संयुक्त राष्ट्रसंघमा छलफल भएको छ । छलफलमा बोल्दै महासचिव एन्टोनियो गुटेरेजले सिरिया युद्धका क्रममा रासायनिक तथा घातक हतियार प्रयोगबारे भएको गुनासोबारे चासो व्यक्त गरे ।

सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इडलिबलगायतका क्षेत्रमा गरेका आक्रमणमा रासायनिक तथा घातक हतियारको प्रयोग भएकोबारे व्यापक गुनासो आएको भन्दै सदस्य राष्ट्रको ध्यानाकर्षण गराएका छन् ।

साथै उनले त्यसविरुद्ध सुरक्षा परिषद् सदस्य राष्ट्रलाई एकताबद्ध हुन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरिया युद्धमा प्रयोग भएका घातक रासायनिक हतियार सम्बन्धमा छानबिन गर्नुपर्ने माग भइरहेका बेला गुटरेजको प्रतिक्रिया सार्वजनिक भएको हो ।


महासचिव गुटरेजले भने, ‘रासायनिक तथा घातक हतियारको प्रयोग मानव जातिमाथिकै जघन्य अपराध हो, त्यसैले यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न एकताबद्ध हुन जरुरी छ ।’

प्रकाशित : चैत्र ९, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?