१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिरिया युद्ध : रकेट हमलामा ५९ मारिए

बीबीसी/एएफपी

दमास्कस — सिरियाको राजधानी दमास्कसको व्यस्त बजारमा गरिएको रकेट हमलामा परी कम्तीमा ५९ जना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ बालबालिका छन् ।

सिरिया युद्ध : रकेट हमलामा ५९ मारिए

सिरियाली प्रहरीलाई उद्धृत गर्दै साना समाचार संस्थाले जनाएअनुसार पूर्वी क्षेत्र गुटाका विद्रोहीले कसकोउलमा बुधबार रकेट प्रहार गरेका हुन् । सानाका अनुसार पश्चिमी क्षेत्रमा गरिएको अर्को एक छुट्टै घटनामा कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । विद्रोही नियन्त्रित सिरियाको पूर्वी क्षेत्र गुटामा रूसी सेनाको सहयोगमा सरकारी फौजले एक महिनादेखि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण हालसम्म कम्तीमा १ हजार ४ सय सर्वसाधारणको मृत्यु भइसकेको छ ।

हिंसात्मक कारबाहीपछि उक्त क्षेत्रका कम्तीमा ५० हजार सर्वसाधारण विस्थापित भइसकेको बीबीसीले जनाएको छ । यसअघि मंगलबार शंकास्पद रूसी हवाई हमलामा कम्तीमा १५ बालकालिका र ४ महिलाको ज्यान गएको थियो ।

राष्ट्रसंघलगायतका सहायता संस्थाहरूले एक महिना लामो आक्रमणका कारण पूर्वी गुटाबाट ठूलो संख्यामा मानिस विस्थापित भएको जनाएका छन् । उनीहरूले उक्त क्षेत्रमा करिब ४ लाख मानिस राहतको पर्खाइमा रहेको बताउँदै आएका छन् । त्यसैगरी, सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा टर्कीको सरकारी सेनाको नेतृत्वमा विगत २ महिनादेखि कुर्दिसविरुद्ध आक्रमण गर्दै आएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप यर्दोगानले गत आइतबार आफ्नो फौजले कुर्दिस सहर अफ्रिनमाथि पूर्ण नियन्त्रण कायम गरेको बताएका थिए । सहरको मध्यभागमा लडाकुहरूले कुर्दिसलाई लखेटेर झन्डा फहराउनुका साथै प्रख्यात कुर्दिस नेताको सालिकसमेत तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । उक्त क्षेत्रमा टर्कीको सरकारी सेनाले ‘फ्री सिरियन आर्मी’ सहितको सहयोगमा गत जनवरी २० देखि कुर्दिस लडाकु समूह ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध कारबाही गर्दै आएको छ । टर्कीले वाईपीजी आतंककारी संगठन भएको दाबी गर्दै आएको छ ।

सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० मा शक्तिशाली सिरियन कुर्दिस विद्रोही वाईपीजीविरुद्ध आक्रमण सुरु गरेको हो । टर्कीले वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाईपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउँदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौंदेखि छुट्टै राज्यको मागसहित विद्रोह गर्दै आइरहेको छ ।

अंकाराले इस्लामिक स्टेटविरुद्धको कारबाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाईपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारबाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्किस सेना तथा उसको समर्थनमा हजारौं लडाकु कारबाहीमा संलग्न छन् ।

पूर्वी गुटामा भने रूसको समर्थनमा सिरियाली सेनाले एक महिना अघिदेखि गरेको भीषण आक्रमण गर्दै आएको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ । द्वन्द्वले करिब ६१ लाख आन्तरिक विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?