रूसी कूटनीतिज्ञले बेलायत छाडे

बीबीसी

मस्को — बेलायतको सालिसबरीमा गतसता पूर्वरूसी गुप्तचरमाथिको आक्रमणपछि निष्कासित रूसी कूटनीतिज्ञ तथा उनीहरूका परिवारले बेलायत छाडेका छन् ।

लन्डनको केन्सिङटनस्थित रूसी दूतावासबाट कूटनीतिक गाडी तथा अन्य गाडीमा उनीहरू निस्केका थिए ।

रूसी दूतावासले बेलायतले देश छाड्न दिइएको समयसीमा सकिएकाले कूटनीतिज्ञ र उनीहरूका परिवार गरी ८० जनाले बेलायत छाडेको बताएको छ । मंगलबार दूतावासबाहिर देखिएको सानो भीडले गाडी चढ्न लागेका मानिसलाई बिदाइको अभिवादन गरेका देखिन्थ्यो।

६६ वर्षीय पूर्वगुप्तचर स्क्रिपल र उनकी ३३ वर्षीया छोरी युलियामाथि गत मार्च ४ मा आक्रमण भएपछि दुई देशबीच तनाव बढेको हो । बेलायतले रूसमाथि प्रतिबन्ध लगाउनेबारे पनि निर्णय लिने बीबीसीले जनाएको छ । प्रधानमन्त्री टेरेजा मेले त्यसबारे निर्णय गर्न सुरक्षा परिषद्को बैठकसमेत डाकेकी छन् ।

गत बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले रूसका पूर्वगुप्तचर र उनकी छोरीमाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोगको घटनाबारे व्याख्या गर्न अस्वीकार गरेपछि २३ रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेकी थिइन् । मेले ‘आफ्नो भूभाग र बेलायती नागरिकविरुद्ध रूसले गर्ने कुनै पनि कार्य सहय नहुने’ कडा प्रतिक्रिया दिएकी थिइन् ।

बेलायती निर्णयको जवाफमा रूसले पनि २३ कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । रूसी विदेश मन्त्रालयले उनीहरूलाई रूस छाड्नका लागि एक साताको समय दिएको थियो । यससँगै रूसले मस्कोस्थित ब्रिटिस काउन्सिल र सेन्ट पिटर्सवर्गस्थित काउन्सुलेट कार्यालयसमेत बन्द गर्ने निर्णय गरेको थियो ।

रूसी विदेशमन्त्रीले शनिबार मस्कोस्थित बेलायती दूतावासमा कार्यरत २३ कर्मचारीलाई ‘पर्सोना नन ग्रेटा’ अर्थात् रूसमा बस्न वा प्रवेश गर्न नपाउने सूचीमा उल्लेख गरेको थियो । निवृत्त गुप्तचर कर्नेल स्क्रिपल सन् २०१० मा रूसी जेलबाट मुक्त भएलगत्तै बेलायत आएका थिए ।

उनी सन् २००६ मा बेलायतका लागि जासुसी गरेको अभियोगमा जेल परेका थिए । उनी युरोपस्थित रूसी जासुसहरूको परिचय बेलायती गुप्तचर संस्था ‘एमआई १६’ लाई दिएपछि पक्राउ परेका थिए । उनकी छोरी युलिया ग्यास आक्रमण हुनुभन्दा एक दिनअघि मार्च ३ मा बेलायत पुगेकी थिइन् ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

महिनौंदेखि अस्पतालमा बेवारिसे

फातिमा बानु

काठमाडौँ — ट्रमा सेन्टरको बेड नम्बर ६४६ मा सुतेका छन् । दुवै खुट्टामा औंलादेखि तिघ्रासम्म ब्यान्डेजले बेरिएको छ । छेउमा न औषधि खुवाउने कुरुवा छ, न बेस्सरी दुख्दा के भयो भनेर सोध्ने आफन्त ।

६ महिनादेखि यस्तै छ चलिरहेको उनको जिन्दगी । अस्पतालको बेडमा अलपत्र, एक्लै । उनी हुन् सर्लाहीका ५६ वर्षीय सन्तोष लामा । अनायास खुट्टामा निस्केको घाउ बढेर गत दसैंमा उनी अस्पताल भर्ना भएका हुन् । हिंड्नै नसक्ने गरी अस्पताल भर्ना हुँदा पनि कोही आफन्त भेट्न, सोध्न नआएको उनले गुनासो गरे ।

उनी भन्छन्, ‘सम्पत्ति हुँदासम्म आफन्तले घेर्थे, केही गर्न नसक्ने भएपछि हेर्न पनि कोही आउँदा रैन्छन् ।’ उनी सवारी चालउने काम गर्थे । कहिले पानी ट्यांकर, कहिले रात्रिबस त कहिले एम्बुलेन्स चलाएर जीवन निर्वाह गर्थे । हातखुट्टा चलुन्जेल कहिल्यै अभाव नझेलेका उनलाई अहिले एक छाक मासुभात खान पनि रहरै भएको सुनाए । दसैंताक सधैंजसो उनी काम गरेर घर फर्केका थिए । खुट्टामा सानो पानीफोका निस्किएको थियो । दिनभरि लगाएको छालाजुत्ताले पाछ्यो होला जस्तो मात्रै लागेको थियो उनलाई ।

‘बेलुका छाम्दा मसिनो फोका थियो, रातारात बढेर डर लाग्ने भैगो,’ उनी घाउ निस्केको दिन सम्झिन्छन् । गाउँले नाग लागेको भन्दै झारफुक गर्न सुझाएछन् । घाउ घट्नुको साटो बढेको थियो, पीडा त झन् दोब्बरतेब्बर । सुरुमा एउटा खुट्टामा देखिएको घाउ बढेर दुवैतिर फैलिए । घरी माता घरी झाँक्रीका घर चहार्दाचहार्दै उनी हिंड्नै नसक्ने भएको उनले सुनाए । जोरपाटीको अपांग हस्पिटलमा दुई दिन बसेपछि रिफर भएर उनी ट्रमा सेन्टर भर्ना भए ।

उनी भन्छन्, ‘सुरुमा त भाइ कुर्न आएको थियो, मेरो खल्तीबाट उपचार खर्च सकिएको दिनबाट अनुहार पनि देखाउन आएको छैन ।’ आफन्तको नाममा उनका सबै छन् । श्रीमती, तीन भाइ छोरा, भाइ बुहारी । श्रीमतीसँग भने उनको आठ वर्षदेखि बोलचाल बन्द भएको रहेछ । कमाएको पैसा अनावश्यक खर्च गरिदिने बानीका कारण उनले श्रीमती त्यागेका रहेछन् । अस्पताल भर्ना भएका सुरुवाती दिनमा घाउबाट भलभली रगत बग्थे, उनलाई परिवारको खुब सम्झना आउँथ्यो ।

अब भने पीडा र एक्लोपन उनका सारथिजस्तै बनेका छन् । अस्पताल घर डाक्टर–बिरामी नै परिवारजस्तो लाग्न थालेको छ उनलाई फोका भनेर बेवास्ता गरिएको घाउले उनको पिंडुलाको मासु कुहाइदिएको उनको उपचारमा संलग्न डाक्टर पियूष दाहालले बताए ।‘ खुट्टाको मासुु सबै कुहिएको थियो, शल्यक्रिया गरेर मासु काटेपछि छाला प्रत्यारोपण गरी टालिएको छ । छाला अभाव भएका कारण बिरामीकै तिघ्राबाट ताछेर निकालिएको उनले बताए ।

छाला ताछिएका तिघ्रा पनि घाइते छन् । शौचालय लगिदिनेसमेत साथी नहुँदा उनी नजिकैका अरू बिरामीसंँग सहयोग माग्छन् । कोही नहुँदा दिसापिसाब च्यापेरै बस्ने उनको अनुभव छ । शौचालय जानका लागि जबर्जस्ती ओल्टेकोल्टे गर्ने, उभिने गरेका दिन उनी रातैभरि सुत्दैनन् । ‘चर्रचर्र गर्छ, भतभती पोल्छ नदुख्ने औषधिले पनि काम गर्दैन’, उनी भन्छन्, ‘उठ्न सघाउने मात्रै कोही भएको भए पनि मेरो आधा दुखाइ कम हुन्थ्यो ।’

लामा उपचार खर्च जुटाउन पनि नसक्ने भइसकेका छन् । अस्पतालको बेवारिसे बेडमा उनको उपचार भइरहेको छ । डा. दाहाल भन्छन्, ‘अरू बिरामीलाई ब्यान्डेज गर्दा उब्रिएको कपडाले उनको घाउ बाँध्छौं, अरूले खाइनसकेका औषधि खोजेर उहाँलाई दिन्छौं ।’ उनी अस्पतालमा नमुना परीक्षणका लागि ल्याएएका औषधि खान्छन्, लगाउँछन् । सामाजिक संस्थाले फलफूल ल्याइदिएको दिन उनलाई ठूलै पर्व आएजस्तो लाग्छ । नजिकैका बेडका सुतेका बिरामीलाई रेखदेख गर्ने कुरुवा, भेट्न आउने आफन्त देख्दा उनलाई निकै नरमाइलो लाग्छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्