कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिरिया द्वन्द्व : गुटा र अफ्रिनमा ७७ मारिए

५० हजार विस्थापित
बीबीसी/एएफपी

दमास्कस — सिरियाका द्वन्द्वग्रस्त पूर्वी गुटा र अफ्रिन क्षेत्रमा शुक्रबार गरिएका हिंसात्मक कारबाहीका क्रममा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणपछि कम्तीमा ५० हजार सर्वसाधारण उक्त क्षेत्रबाट बाहिरिएका छन् ।

सिरिया द्वन्द्व : गुटा र अफ्रिनमा ७७ मारिए

पूर्वी क्षेत्र गुटामा रूसको सहयोगमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । हवाई आक्रमणपछि उक्त क्षेत्रबाट २० हजारभन्दा बढी सर्वसाधारण अन्यत्र भागेका छन् । शुक्रबार गुटाको काफर बट्ना र सक्बा सहरमा गरिएका आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले जनाएको छ ।

त्यसैगरी, उत्तरी क्षेत्र अफ्रिनमा टर्किस फौजले ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध गरेको आक्रमणका क्रममा १८ जनाको मृत्यु भएको छ । आक्रमणका कारण ३० हजारभन्दा बढी विस्थापित भएको बीबीसीले जनाएको छ ।

सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको ज्यान गइसकेको छ । द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रूपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न टर्की, रूस र इरानका विदेशमन्त्रीहरू कजाक राजधानी अस्तानामा भेटवार्ता गरी आगामी महिना टर्कीको राजधानी इस्तानबुलमा हुने सिरियाबारे हुने सम्मेलनको तयारी गरेका छन् । सरकारी टेलिभिजनले अधिकांश महिला तथा बालबालिकाहरू सिरियाको उत्तरी र दक्षिणी क्षेत्रबाट बाहिरिएका दृश्यहरू प्रसारण गरेको बीबीसीले जनाएको छ ।

सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटामा तीन सातायता भएका भिषण कारबाहीपछि करिब ७० प्रतिशत भू–भाग नियन्त्रणमा लिएको सरकारी सेनाले जनाएको छ । सिरियाको पूर्वी क्षेत्र गुटामा हाल दर्जनौं जिहादी समूहहरूले सशस्त्र विद्रोह गर्दै आइरहेका छन् । तीमध्ये जैस अल–इस्लाम र यसको विपक्षी फालक अल–रहमान मुख्य छन् ।

त्यसैगरी, सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० यता टर्कीको सरकारी सेनाले शक्तिशाली सिरियन कुर्दिस विद्रोही ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध आक्रमण गर्दै आइरहेको छ ।

टर्कीले वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाईपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउँदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौंदेखि छुट्टै राज्यको मागसहित विद्रोह गर्दै आइरहेको छ ।

गत मंगलबार टर्कीले अफ्रिन क्षेत्रमाथि आफूले नियन्त्रण कायम गरेको जनाएको थियो । इस्लामिक स्टेटविरुद्धको कारबाहीमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहेको वाईपीजीले उत्तर–पूर्वी सिरियाका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेको छ । सन् २०१६ मा इस्लामिक स्टेटलाई परास्त गर्दै मानविजमाथि कुर्दिस नेतृत्वको फौजले नियन्त्रण कायम गरेको थियो ।

अंकराले इस्लामिक स्टेटविरुद्धको कारबाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाईपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारबाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्किस सेना तथा उसको समर्थनमा हजारौं लडाकु कारबाहीमा संलग्न छन् ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?