१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आक्रमण रोक्ने रूसी निर्देशन विफल 

बीबीसी/एएफपी

दमास्कस/जेनेभा — मानवीय सहयोग उपलब्ध गराउन दैनिक ५ घण्टा सिरियामा बमबारी रोक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनका बाबजुद मंगलबार पनि भीषण आक्रमणहरू भएका छन् । 

आक्रमण रोक्ने रूसी निर्देशन विफल 

फलस्वरूप उक्त क्षेत्रमा कुनै पनि सहायता संस्थाहरू पुग्न नसकेको बीबीसीले जनाएको छ । यसअघि सोमबार पुटिनले पूर्वी गोटा छाड्न चाहने सर्वसाधारणलाई समय दिन दैनिक ५ घण्टा आक्रमण स्थगित गर्ने निर्णय गरेको जनाएका थिए । सोमबार रूसी रक्षामन्त्री सर्गेई सोइगुले हरेक दिन बिहान ९ देखि २ बजेसम्म आक्रमण रोक्न सैनिक अधिकारीलाई निर्देशन दिइसकिएको बताएका थिए । राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका प्रवक्ताले रूसी निर्णयको बाबजुद आक्रमण नरोकिएको बताए ।


जेनेभामा पत्रकारहरूसँग बोल्दै जेन्स लेर्केले भने, ‘वास्तवमा, युद्ध क्षेत्रको अवस्था भनिएजस्तो छैन् । त्यहाँ कुनै सहायता संस्था पुग्न वा सर्वसाधारणहरू बाहिर निस्कन सक्ने अवस्था छैन ।’ राजधानी दमास्कसको पूर्वी क्षेत्रमा पर्ने गोटामा विद्रोही लक्षित आक्रमणमा रूसले सिरियाली सरकारी फौजलाई सहयोग गर्दै आएको छ । मंगलबार गरिएका आक्रमणमा २ बालबालिकाको मृत्यु भएको अनुगमनकर्ताहरूले जनाएका छन् । रूसले विद्रोहीहरूले आक्रमण जारी राखेको आरोप लगाएको छ । तर विद्रोही समूहले रूसी आरोप अस्वीकार गरेका छन् ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्वी गोटा क्षेत्रमा उक्त क्षेत्रमा मृत्यु हुनेको संख्या करिब ६ सय पुगेको एएफपीले जनाएको छ । जसमध्ये करिब डेढ सय बालबालिका छन् । सहायता संस्थाहरूका अनुसार करिब ३ लाख ९३ हजार मानिसहरू युद्धको चपेटामा परेका छन् ।


यसैबीच, फ्रान्सले रूसलाई सिरियाली राष्ट्रपति बसल अल–असदलाई दबाब दिई तत्काल बमबारी रोक्न माग गरेको छ । साथै उसले राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा पारित ३० दिने युद्धविराम तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । राजधानी दमास्कसबाट पूर्वमा पर्ने गोटा सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको छ । रूस र इरानको समर्थन प्राप्त सिरियाली सेनाको उक्त क्षेत्रमा गत ९ दिनयता भीषण आक्रमण हुँदै आएको छ ।


पीडित महिलामाथि यौन शोषण

सिरियाली द्वन्द्वको चपेटमा परेका महिलाहरू यौन शोषणको सिकार हुने गरेको खुलासा भएको छ । बीबीसीका अनुसार राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले प्रदान गर्ने सहयोग पीडित महिलासम्म पुर्‍याउने क्रममा उनीहरूसँग यौन सम्पर्क गर्ने गरेको सहायताकर्मीहरूले बताएका छन् । राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले यौन शोषणबारे शून्य सहनशीलता अपनाउने बताएका छन् । तर उनीहरूले त्यस्ता घटनाबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाए ।


बेलायती सहयोग निकाय डीएफआईडी र अक्सफामले आफूहरूलाई यौन शोषणका घटनाबारे कुनै जानकारी नभएको बताएका छन् । राष्ट्रसंघीय निकाय यूएनएफपीए र यूएनएचसीआरले आफूहरूलाई उक्त घटनाबारे सुनेको भए पनि कारबाही गर्नका लागि यथेष्ट प्रमाण नभएको बताए ।


सहायताकर्मीका अनुसार यौन शोषण यति भयावह छ कि शारीरिक सम्पर्कका लागि तयार रहेको आशंका गरिने डरले सिरियाली महिलाहरू सहायता वितरण केन्द्रसम्म पुग्न पनि अस्वीकार गर्छन् । नाम नबताउने सर्तमा एक सहायताकर्मीले भने, ‘सिरियाका कतिपय खतरनाक क्षेत्रमा पीडितलाई मानवीय सहयोग पुर्‍याउन अन्य विकल्प नभएकाले सहायता संस्थाहरूले यौन शोषणका घटनालाई आँखा चिम्लने गरेका छन् ।’ राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले सार्वजनिक गरेको प्रतिवेदनमा ‘यौनसँग मानवीय सहायता साटिने गरेको’ उल्लेख छ । ‘भ्वाइसेस फ्रम सिरिया २०१८’ नामक प्रतिवेदनमा उल्लेख छ, ‘खासगरी पुरुषको संरक्षणमा नरहेका, विधवा, सम्बन्ध विच्छेद गरेका तथा आन्तरिक रूपमा विस्थापित महिलाहरू यौन शोषणमा पर्ने गरेका छन् ।’

प्रकाशित : फाल्गुन १६, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?