रोकिएन सिरियामा आक्रमण, राष्ट्रसंघीय युद्धविरामको अवज्ञा

बीबीसी/रोयटर्स

दमास्कस — राष्ट्रसंघीय सुरक्षा परिषद्ले द्वन्द्वका कारण पिडित सर्वसाधारणलाई आवश्यक मानवीय सहायता प्रदान गर्न युद्धविराम प्रस्ताव पारित गरेको २ दिन बितिसक्दा पनि सिरिया सरकारले हवाई आक्रमण जारी राखेको छ । 

रोकिएन सिरियामा आक्रमण, राष्ट्रसंघीय युद्धविरामको अवज्ञा

रूसी सेनाको समर्थनमा सिरियाली सरकारी सेनाले सोमबार पनि भीषण आक्रमण गरेको अनुगमनकर्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सोमबार गोटाको पुर्वी क्षेत्रमा गरिएका आक्रमणमा परि ९ जना मारिएका छन् ।


सिरियाली प्रतिरक्षा फौज ‘ह्वाईट हेल्मेट्स’ ले डोउमास्थित एक भवनमा गरिएको तोप प्रहारका कारण २४ जना मारिएको र दर्जनौं घाइते भएको जनाएको छ । मृत्यु हुनेमध्ये ९ जना एकै परिवारका भएको जनाइएको छ ।


विगत ८ दिनदेखि जारी भिषण बमबारीका कारण हालसम्म ५ सय ४१ जनाको मृत्यु भइसकेको छ । जसमध्ये कम्तीमा १ सय ३० बालबालिका छन् ।


मानवअधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ ले आक्रमण जारी नै रहेकाले क्षतिको एकिन विवरण संकलन गर्न कठिन भइरहेको जनाएको छ ।


आक्रमण नरोकिएपछि राष्ट्रसंघले युद्धविरामका लागि पुन आग्रह गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले सोमबार सिरियालाई ‘पृथ्वीको नर्क हुनबाट रोक्नुपर्ने’ बताउँदै तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।


जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई सोमबार सम्बोधन गर्दै उनले सुरक्षा परिषदद्वारा पारित प्रस्ताव ‘कार्यान्यन भएमात्र त्यसको अर्थ हुने’ बताए । उनले ‘युद्धविराम प्रस्ताव तत्काल कार्यान्वयन हुने र दिगो हुने’ आशा व्यक्त गरे ।


युरोपेली संघका विदेश निति प्रमुख फेडेरिका मोग्हेरिनीले सिरियाली सरकार र यसका समर्थकलाई द्वन्द्व अत्यको प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेकी छन् । तर सिरियाली सरकारले सर्वसाधारण लक्षित आक्रमण नगरेको दाबी गर्दै पूर्वी गोटालाई आतंकवादीको नियन्त्रणबाट मुक्त गर्ने दाबी गरे ।


यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा मानविय सहयोग उपलब्ध गराउन दैनिक केही समय आक्रमण रोक्न निर्देशन दिएका छन् । रूसी रक्षामन्त्री सर्गेइ सोइगुले स्थानीय समयअुनसार हरेक दिन विहान ९ देखि २ बजेसम्म आक्रमण रोक्ने जनाए । उनले उक्त स्थान छोड्न चाहने सर्वसाधारणलाई समय दिन दैनिक ५ घण्टा आक्रमण स्थगित गर्ने निर्णय गरेको जनाए ।


राजधानी दमास्कसको नजिकै रहेको पूर्वी गोटा विद्रोहीको नियन्त्रणमा रहेको मुख्य क्षेत्र हो । उक्त क्षेत्र सन् २०१३ देखि रूस र इरानको समर्थन प्राप्त सिरियाली सेनाको नियन्त्रणमा रहेका स्थानको बीचमा छ ।


पूर्वी गोटामा अस्पताल संचालन गर्दै आएको संगठन यूओएसएसएमले आइतबार र सोमबार सरकारी फौजले गरेको हवाई आक्रमणका कारण कम्तिमा ३ दर्जन सर्वसाधारण मारिएको जनाएको छ ।

यसअघि, सुरक्षा परिषद्ले मानवीय सहायत प्रदान गर्न ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव पारित गरेको थियो । शुक्रबार युद्धविराम प्रस्तावमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्र सहमत भएका थिए ।


युद्धविरामले आवश्यक मानवीय सहायता सामग्री वितरण गर्न तथा उपचारका लागि कदमहरू चाल्न मद्दत गर्ने बताइएपनि जिहादी समूह र उसका सहयोगीलाई सम्बोधन नगरेका कारण कार्यान्वयन हुनेमा आशंका गरिएको थियो ।


राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले पनि युद्धविराम कार्यान्वयन हुनेमा यसअघिनै आशंका व्यक्त गरेका थिए । रूस सिरियाली सरकारी सेनाको महत्वपूर्ण साझेदार हो ।


के हो सिरियाली युद्ध ?

सिरियाली युद्ध बाथ पार्टीको सरकार र उसलाई परास्त गर्न उद्दत फौजबीचको लडाई हो । तर द्वन्द्व बढै गएपछि अमेरिका, रूस, टर्की, इरान, साउदी अरब तथा लेबनानलगायतका देश प्रत्यक्ष वा परोक्ष रुपमा युद्धसँग जोडिएका छन् ।


राष्ट्रपति बशर अल(असदको राजीनामा माग गर्दै सन् २०११ को मार्च १५ मा शुरू भएको विरोध प्रदर्शनमाथि सेनाले हस्तक्षेप गरेपछि शसस्त्र विद्रोह शुरु भएको हो ।


सिरियामा सन् १९७१ देखि असदको परिवारले शासन गर्दै आएको छ । असद सन् २००० मा राष्ट्रपति बनेका हुन् । उनका समर्थकहरु शिया समुदायका मुस्लिम हुन् भने अधिकांश विपक्षीहरु सुन्नि छन् । सन् २०१२ मा राष्ट्रसंघले सिरियामा राजनीतिक कारणले शुरू भएको द्वन्द्व सिया र सुन्नि समुदायबीचको युद्धमा परिणत भएको जनाएको थियो ।


केन्द्रिय नेतृत्व नरहेको विद्रोहीका अधिकांश लडाकु भगौडा सेना छन् । सन् २०११ को अन्त्यमा इस्लिामिक समूह अल(नुसरा फ्रन्टले विद्रोहीको समर्थनमा युद्धमा होमिएपछि थप द्वन्द्व चर्केको हो ।


सन् २०१३ मा लेबनानको इस्लामिक राजनीतिक संगठन तथा अर्धसैन्य समूह हेज्बुल्लाहले सिरियाली सेनाको पक्षमा सामेल भयो ।


सिरियाली सरकारलाई रूस र इरानले सैन्य सहयोग प्रदान गर्दै आएका छन् । कतार र साउदी अरबले भने विद्रोहीलाई हतियार आपूर्ति गर्ने गरेका छन् ।


यसअघि सन् २०१३ मा सिरियाले विद्रोहीविरुद्ध रसायकिन हतियार प्रयोग गरेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय समुदायले ब्यापक आलोचना गरेका थिए । त्यसयता रसायनिक हतियारको प्रयोग रोकेको सरकारले विद्रोहीबीचका आक्रमण भने गर्दै आएको छ । सन् २०१४ यता सिरियाको आधाभन्दा बढी भू(भाग ‘इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया’ (आइएसआइएस) को नियन्त्रणमा छ ।


युद्धका कारण ३ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ भन ३० लाखले शराणार्थी जीवन बाँचिरहेका छन् । अनुगमनकर्ताहरुका अनुासर करिब ६३ लाख सर्वसाधारण आन्तरिक रुपमा विस्थापित छन् ।


प्रकाशित : फाल्गुन १४, २०७४ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?