उत्तर कोरियाले खोल्यो दक्षिणसँगको हटलाइन

सोल — उत्तर कोरियाले दक्षिण कोरियासँगको हटलाइन सेवा पुन: सुरु गरेको छ । नेता किम जोङ उनको आदेशपछि बन्द गरिएको उक्त सेवा दुई वर्षपछि सुचारु गरिएको हो । दक्षिण कोरियाले बुधबार स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे उत्तरबाट आएको कल रिसिभ गरिएको जनाएको छ ।

उत्तर कोरियाले खोल्यो दक्षिणसँगको हटलाइन

तर तत्कालै सम्पर्कविच्छेद भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । प्योङचाङमा हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने विषयमा छलफल गर्न उत्तरले हटलाइन खोलेको जनाइएको छ ।

उत्तर कोरियाको ‘शान्तिपूर्ण पुन: एकीकरण समिति’ का अध्यक्ष री सन गोनले किम जोङ उनका तर्फबाट बोलेको भन्दै हटलाइन सेवा सुचारु गर्ने घोषणा टेलिभिजनमार्फत गरेका थिए । केसङ औद्योगिक कम्प्लेक्सका विषयमा भएको विवादपछि उत्तर कोरियाले सीमावर्ती पानमनजोममा १९७१ मा स्थापित हटलाइन बन्द गरेको थियो । हटलाइन सेवा पुन: खोलिएपछि दक्षिण कोरियाले सकारात्मक प्रतिक्रिया दिएको छ । राष्ट्रपति मुन जे इनका प्रेस सेक्रेटरीले हटलाइन सुचारु हुनु महत्त्वपूर्ण भएको जनाएका छन् । ‘यसले सधैंभरि सञ्चार सम्पर्क हुने वातावरण सिर्जना गर्छ,’ उनले भने ।

दक्षिण कोरियाली सञ्चारमाध्यमले भने नयाँ कदमलाई शंकाको दृष्टिले हेरेका छन् । ‘जुङआङ इल्बो’ अखबारले प्योङयाङले अर्को आणविक कार्यक्रम पूर्ण नभएसम्म समय बिताउने हिसाबले प्रयोग गरेको हुन सक्ने उल्लेख गरेको छ । तर किमले नयाँ वर्षका अवसरमा गरेको सम्बोधनले शान्तिको ढोका खोलेको पनि अखबारले लेखेको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुई कोरियाबीच ३३ वटा हटलाइन छन् ।


‘सम्बन्ध सुधार्ने अवसर’

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सम्बोधनमा दक्षिण कोरियासँग वार्ता सुरु गर्ने जनाउँदै अर्को महिना सोलमा हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने जनाएका थिए । जनताबीचको एकता देखाउने यो राम्रो अवसर हुने उनले बताएका थिए । दक्षिण कोरियाले पनि हिउँदे ओलम्पिकमा उत्तर कोरियाको सहभागितालाई स्वागत गर्ने संकेत गरिसकेको छ । किमको सम्बोधनको प्रतिक्रियामा दक्षिण कोरियाले उच्च स्तरीय वार्ता टोलीको प्रस्ताव गरेको छ ।

प्रकाशित : पुस २०, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?