२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रजनीकान्तले गरे नयाँ पार्टी बनाउने घोषणा

नयाँ दिल्ली — दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो प्रशंसकका अगाडि राजनीतिमा आउने घोषणा गरेका छन् । रजनीकान्तले तमिलनाडुमा अब हुने विधानसभा चुनावमा नयाँ पार्टी बनाएर भाग लिने बताएका हुन् ।

रजनीकान्तले गरे नयाँ पार्टी बनाउने घोषणा

रजनीकान्तले आफू कायर नभएको बताउँदै जस्तोसुकै प्रतिकुल अवस्था आए पनि पछि नहट्ने दाबी गरे । आफ्नो छोटो भाषणमा उनले भने, 'तमिलनाडुमा लोकतन्त्रको अवस्था एकदमै दयनीय छ । त्यसलाई हटाउन सिस्टममा परिवर्तन आवश्यक छ ।'


'अहिले हाम्रो राज्यको अवस्था निकै नाजुक छ। यस्तो अवस्थामा यदि म अगाडि नआउने हो भने त्यो मेरो लागि नै लाजमर्दो विषय हुन्छ । म राजनीतिमा आउने कुरा सिनेमा होइन साँचो हो,' राघवेंद्र कल्याण मण्डपममा प्रशंसकहरुको बाक्लो उपस्थितिबीच उनले भने, 'मैले गरेका वाचाहरु यदी तीन वर्ष भित्र पुरा गर्न सकिन भने म राजिनामा दिएर हिँड्छु ।'


रजनीकान्तले आफ्ना समर्थकहरुलाई पनि राजनीतिमा होमिएर गाउँको गल्ली गल्लीमा जान आव्हान गरेका थिए ।


प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन पछि त्यहाँको राजनीतिमा अस्थिरता आएको छ । जयललिताको निधन पछि नै रजनीकान्त राजनीतिमा आउन सक्ने अडकलवाजी भइरहेको थियो । ६७ वर्षिय रजनीकान्तले २०२१ मा हुने विधानसभा चुनावमा उनको नयाँ पार्टीले सबै २३४ सीटमा उम्मेदवारी दिने पनि घोषणा गरे ।


तामिल नाडुको राजनीतिमा पहिलेदेखि नै सिनेमाका चर्चित अभिनेताहरुको दबदबा रहँदै आएको छ । स्व जयललिता पनि आफ्नो समयको चर्चित अभिनेत्री थिइन् । त्यसैले पनि उनको स्थान लिनलाई सिनेमाका पर्दामा संधै जनताको रक्षक बनेर देखा पर्ने सुपरस्टार रजनीकान्त सक्षम हुने विश्वास आम मानिसलाई छ।

प्रकाशित : पुस १६, २०७४ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?