३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

युरोपमा बढ्दो पृथकतावादी आन्दोलन

नविन पोखरेल

लन्डन — स्पेनको स्वायत्त राज्य क्याटलोनियाका अपदस्थ नेता कार्लेस पुज्डमोन तथा उनका केही क्याबिनेट सदस्यहरु देशद्रोहको मुद्दा खेप्नु अगावै बेल्जियम भासिएका छन् । स्पेनिस मिडियाका अनुसार, उनीहरुले बेल्जियममा शरणार्थीका लागि आवेदन दिने सम्भावना छ ।

युरोपमा बढ्दो पृथकतावादी आन्दोलन

सोमबार स्पेनका महान्यायधिवक्ता जोजे म्यानुयल माजाले बर्खास्त गरिएका क्याटलोनियाका नेता तथा मन्त्री गरि १४ जनाले स्पेनको संविधान उल्लंघन गरि विखण्डन र सार्वजनिक कोष दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई कारवाही गर्ने उद्घोष गरेपछि ति नेता बेल्जियम जान वाध्य भएको बताइएको छ । देशद्रोह मुद्दा प्रमाणित भए तीस वर्षसम्म कैद हुने कानुनी प्रावधान छ ।

क्याटलन नेता कार्लेसको नेतृत्वमा स्पेनबाट क्याटलोनिया अलग भइ स्वतन्त्र राज्य भएको उद्घोष र संसदले वहुमतबीच स्वतन्त्र हुने घोषणा गरेपछि स्पेनमा भएको राजनीतिक अस्थिरताले विभिन्न प्रश्न जन्माएको छ । यसले युरोपमा पृथकतावादी आन्दोलनमा थप प्रोत्साहन गरेको विश्लेषण समेत गरिएको छ ।

युरोपमा यस्ता ९ वटा क्षेत्रहरु छन् जहां स्वतन्त्रता माग तिव्र उठिरहेको छ । २१ लाख जनसंख्या भएको स्पेनको अर्को क्षेत्र बास्कमा स्वतन्त्रता माग राखी भएको हिंसात्मक आन्दोलनमा विगतका वर्षहरुमा आठ सय भन्दा बढिको ज्यान गइसकेको छ । इटालीको भेनेटो र लोम्बार्डी तथा सार्डीनिया क्षेत्र, जर्मनीको बाभारिया स्वशासित क्षेत्र, बेलायतको स्कटल्याण्ड आदि स्वतन्त्रता खोजिरहेका राज्यका ज्वलन्त उदाहरण हुन् ।

क्याटलोनिया मुभमेन्टले ति क्षेत्रमा पृथकतावादी आन्दोलनलाई थप बल पुग्ने आंकलनबीच ति देशका केन्द्रिय सरकारहरु सशंकित बनेका छन् । क्याटलोनियामा भएको अस्थिरताले युरोपियन युनियन तथा ब्यावसायीहरुलाई पिरोल्न शुरु गरेको छ भने यस्तो परिस्थिति जारी रहेको खण्डमा क्याटलोनियाको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने निश्चित छ ।

स्पेनले क्याटलोनियाको स्थानीय संसद भंग गरि केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गरेको घोषणा गत शुक्रबार गरेपनि शुरुमा क्याटलोनियाली नेता कार्लेसले आफू तथा आफ्नो मन्त्रीमण्डललाई स्थानीय जनताले मात्र विस्थापित गर्न सक्ने जिकिर गरेका थिए । क्याटलोनियाले गत अक्टोबर १ मा स्पेनबाट स्वतन्त्र हुन विवादास्पद जनमत संग्रह गरेको थियो ।

स्पेनको धनी तथा औद्योगिक नगरी क्याटलोनियाले सन् २००८ को विश्व मन्दीले स्पेनको ऋणभार थपिएका बेला उल्लेख्य आर्थिक योगदान गर्नु परेपछि स्वतन्त्रता आवाजलाई थप प्रोत्साहित गरेको लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ बिकलचन्द्र आचार्य बताउँछन् । स्पेनको कुल जनसंख्याको करिब १८ प्रतिशत क्याटलोनियाली रहेको चर्चा गर्दै आचार्यले स्पेनको कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत भन्दा बढि योगदान यस क्षेत्रको रहेको जनाए । स्पेनको कुल पर्यटक संख्यामध्ये करिब २४ प्रतिशत क्याटलोनिया जाने गरेको तथ्यांक छ ।

क्याटलोनिया स्पेन अन्तरर्गत रहने वा अलग राष्ट्र बन्ने भन्नेबीच त्यहाँका जनतामाझ चर्को मतभेद छ । गत आइतबार क्याटलोनिया स्पेनमा नै रहनुपर्छ भन्ने समर्थकहरुको विशाल जनसभा क्याटलोनियाको राजधानी बार्सिलोनामा भएको थियो ।

क्याटलोनियाको एकपक्षीय स्वतन्त्र घोषणा गैरकानुनी भन्दै स्पेनले आउंदो डिसेम्बर २१ मा यस क्षेत्रको चुनाव मिति घोषणा गरेको छ । स्पेनको केन्द्रीय सरकारले क्याटलोनियाका प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेको छ । स्पेनको नियम कानुन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने परराष्ट्रमन्त्री अलफोन्सो दास्तिसले बताएका छन् ।

एघारौं शताब्दीदेखि नै आफ्नो बेग्लै पहिचान बनाएको क्याटलोनिया पन्ध्रौं शताब्दीमा स्पेनको एकीकरण भएसंगै राजा फर्डीनान्ड र रानी इजाबेलाको विवाहपछि आधुनिक स्पेनमा सामेल भएको थियो । स्पेनका सैनिक तानाशाह फ्रयान्कोले आफ्नो शासनकाल सन् १९३९ देखि १९७५ सम्म क्याटलोनिया माथि चरम दमन गरेका थिए । सन् २०१० पछि क्याटलोनिया स्पेनबाट अलग राष्ट्र हुनुपर्ने पक्षधरले उल्लेख्य प्रभाव पार्न सफल भएका हुन् ।

स्पेनका दुई प्रसिद्ध फुटबल क्लब रियल मड्रिड तथा बार्सिलोनाबीच हुने भयंकर प्रतिष्पर्धाले पनि उनीहरुबीचको टकराव बुझ्न सकिन्छ ।

क्याटलोनियाको स्वतन्त्रता घोषणा तथा स्पेनले जारी गरेको प्रत्यक्ष शासनको असर युरोपमा कस्तो हुन्छ, त्यो भविष्यले बताउने नै छ ।

बेलायतबाट अलग हुनको निमित्त केही वर्षयता निक्कै प्रयत्न गरेकी स्कटिस मुख्य मन्त्री निकोला स्टर्जनले क्याटलोनियाली जनताको आवाजलाई सम्मान गर्नुपर्ने बताएकी छन् । उनले स्कटल्याण्डमा स्वतन्त्रताको दोश्रो जनमतसंग्रहका लागि गत वर्ष घोषणा गरेपनि त्यसलाई बेलायती प्रधानमन्त्री टेरेजा मेले अस्वीकार गरेकी थिइन् । सन् २०१४, १८ सेप्टेम्बरमा स्कटल्याण्डमा भएको पहिलो जनमत संग्रहमा बहुमत स्कटिस जनताले स्कटल्याण्ड संयुक्त अधिराज्य (यूके) भित्रै रहनुपर्ने पक्षमा मत हालेका थिए ।

क्याटलोनियाको पछिल्लो कदमले स्कटल्याण्डलाई अलग्गिने प्रयासमा थप उर्जा थपिने आशंका बेलायती राजनीतिक वृत्तमा छ ।

प्रकाशित : कार्तिक १४, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?