राजा नै विरोधमा

सीएनएन

म्याड्रिड — स्पेनको बार्सिलोनामा गत साता भएको आक्रमणको विरोधमा लाखौं मानिसले प्रदर्शन गरेका छन् ।

 राजा नै विरोधमा

राजा फेलिप छैटौं र प्रधानमन्त्री मारिआनो राजोय सर्वसाधारणसँगै प्रदर्शनमा सहभागी भएका छन् । उनीहरूको सहभागितालाई एकता र सांस्कृतिक विविधताका रूपमा उल्लेख गरिएको छ ।

सहभागीहरू ‘म डराएको छैन’ लेखिएको ठूलो ब्यानरसँगै करिब ५ लाखको संख्यामा थिए । प्रदर्शन सामाजिक सञ्जालमार्फत समन्वय गरिएको जनाइएको छ । कतिपय सहभागीका प्लेकार्डमा लेखिएको थियो, ‘म मुसलमान हुँ तर म आतंकवादी होइन ।’

एक सहभागीले भने, ‘समाधान शान्ति हो । शान्ति सबैका लागि बराबर छ ।’ स्पेनी प्रहरीले ट्वीटरमा तस्बिरहरू सार्वजनिक गर्दै उल्लेख गरेको छ, ‘आजको प्रदर्शनको एकमात्र सन्देश प्रस्ट छ, त्यो हो आतंकवादलाई अस्वीकार ।’ गत हप्ता लस र्‍याम्ब्लसमा भएको भ्यान आक्रमणमा १७ जना मारिएका थिए ।

आक्रमणको जिम्मेवारी तथाकथित इस्लामिक स्टेटले लिएको थियो । त्यसपछिको प्रदर्शनमा सर्वसाधारणसँगै सहभागी हुने फेलिप छैटौं एकमात्र राजा हुन् । राजा र प्रधानमन्त्री स्वायत्तताका लागि लामो समयदेखिको संघर्षमा प्रयोग भइरहेका क्याटालोनियाको झन्डाका पछाडि थिए । लस र्‍याम्ब्लस आक्रमणका समयमा पीडितलाई सहयोग गर्ने आपतकालीन सेवाका सदस्य तथा पसलेहरू पनि प्रदर्शनमा सहभागी भएका थिए ।

कतिपयले मुस्लिमविरोधी कार्यको निन्दा गरिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी राजातिर सिटी बजाउँदै केही प्रदर्शनकारीले विरोध जनाएका थिए । स्पेनमा सन् १९७० मा सैनिक तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि राजतन्त्र पुन:स्थापना भएको हो ।

क्याटालोनियाले आउँदो अक्टोबर महिनामा स्वतन्त्रतामाथि जनमत संग्रह गराउँदै छ । प्रधानमन्त्री राजोयले क्याटालोनिया र स्पेनका अन्य क्षेत्रका बासिन्दाले आतंकवादविरुद्ध एकताबद्ध रहेको देखाउन सर्वसाधारणलाई’ प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?