१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सैनिक फिर्ता नगरी वार्ता हुँदैन : चीन

सिन्ह्वा/बीबीसी

बेइजिङ — चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन चीनले चेतावनी दिएको हो ।

सैनिक फिर्ता नगरी वार्ता हुँदैन : चीन

सिन्ह्वाका अनुसार त्रिदेशीय सीमा डोक्लामबाट भारतीय फौज फिर्ता नहुन्जेल कुनै किसिमको वार्ता हुन नसक्ने चीनको भनाइ छ । ‘हाम्रो आधिकारिक अडान नै वार्ताका लागि भारतले आफ्ना सेना निसर्त फिर्ता गर्नुपर्छ भन्ने हो,’ दक्षिण तथा दक्षिणपूर्वी एसियाली अध्ययन केन्द्रका निर्देशक हु सिसेङले भने । उनले भारतले यो सर्त नमानेसम्म कुनै औपचारिक वार्ता सम्भव नरहेको उल्लेख गर्दै सञ्चार माध्यमले पनि विवादको आगोमा घिउ थपिरहेको आरोप लगाए ।

भारतले सडक निर्माणका कारण आफ्नो देशको सुरक्षामा चुनौती थपिएको बताउँदै भुटानसँग भएको सैन्य सम्झौताअनुसार डोक्लाममा सडक निर्माण रोक्न सैनिक पठाएको जनाएको छ । भारतले डोक्लाम क्षेत्र भुटानको भएकाले चीनले अनावश्यक हस्तक्षेप गरिरहेको बतायो ।

डोक्लाम क्षेत्रबाट फौज फिर्ता लैजान चीनले गरेको आग्रह भारतले बेवास्ता गरेकाले स्थिति बिग्रँदै गएको सिन्ह्वाले जनाएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आसन्न बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा चीनको यस्तो भनाइ सार्वजनिक भएको हो । डोभलले जुलाई २७ र २८ मा बेइजिङ भ्रमण गर्दै छन् ।

एक महिनादेखि चलिरहेको विवाद समाधान गर्न भारत सकारात्मक नभएको चीनको आरोप छ । साथै चीनले अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीनले दाबी गरेको दक्षिणपूर्वी काश्मीरमा सन् २०१३ र २०१४ मा भएका भिडन्त जस्तो साधारण रूपमा नलिन चेतावनी दिएको छ ।

द इन्डियन एक्सप्रेसका अनुसार भारतको सरकारले डोक्लाम विवादबारे त्यहाँका विपक्षी दलहरूसँग छलफल गरेको छ । विपक्षी नेताहरूले सरकारलाई बेइजिङसँगको तनाव कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न सुझाव दिएका छन् । बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसहितका उच्च भारतीय अधिकारीहरू सहभागी थिए । भारत र चीनबीच १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो ।

प्रकाशित : श्रावण २, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?