बेलायतको मतगणना एकै रातमा कसरी सम्भव ?

नविन पोखरेल

लन्डन — घोषणा भएको ५० दिनमै बेलायतको संसदीय निर्वाचन गत बिहीबार सम्पन्न भयो । प्रधानमन्त्री टेरेजा मेले ताजा जनादेश लिन भन्दै पदावधि सकिन तीन वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आतंकवादको चपेटामा परेको बेलायतले सुरक्षा चुनौतीबीच निर्वाचन सम्पन्न गर्‍यो ।

बेलायतको मतगणना एकै रातमा कसरी सम्भव ?

बेलायती संसदमा ६५० सिटका लागि भएको उक्त निर्वाचनमा ४ करोड ६९ लाख योग्य मतदातामध्ये ७० प्रतिशतले देशभरका ४० हजार केन्द्रबाट मतदान गरे । यसवर्षको सहभागिता २५ वर्षयताकै सबैभन्दा धेरै भएको बेलायती मिडियाको विश्लेषण छ । 

राति १० बजे मतदान सकियो र बिहासम्म एक सिटको पुन: गणनाले ढिलाइ बाहेक लगभग सबै क्षेत्रको नतिजा आयो । कुन क्षेत्रले नतिजा पहिलोपटक सार्वजनिक गर्ने भन्ने प्रतिष्पर्धामा हाउटन एण्ड सन्डरल्याण्ड साउथको नतिजा एक घण्टा अर्थात राति ११ बजेभित्रै सार्वजनिक भएको थियो । राति एक बजेसम्म ५ निर्वाचन क्षेत्रका परिणाम आइसकेका थिए ।  

यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । वर्तमान प्रधानमन्त्री मेको कन्जरभेटिभले ३१८, प्रतिपक्षी लेबर पार्टीले २६२, स्कटिस नेशनल पार्टीले ३५ र लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जिते । बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्ने भएपनि स्पष्ट बहुमत नआएपछि प्रधानमन्त्री मेले १० सिटमात्र जितेको नर्दन आयरल्याण्डको डेमोक्रेटिक यूनियनिष्ट पार्टी (डियूपी) संग मिलेर सरकार बनाउने कसरत थालेकी छन् । 

नेपालमा दुई दशकपछि घोषणा गरिएको स्थानीय निर्वाचनको दोश्रो चरण हुन अझै बाँकी छ । पहिलो चरणको निर्वाचन नतिजा (भरतपुरबाहेक) आउन हप्तौं लाग्यो । आखिर बेलायतमा त्यति छिटो मतगणना कसरी सम्भव छ ? बेलायतको निर्वाचनमा छिटो परिणाम आउनुका केही मुख्य कारण छन् । 

यहाँ उम्मेदवार संख्या कम, मतपत्र सामान्य अनि स्पष्ट हुन्छ । यातायात सुविधाले निर्वाचन सकिएको करिब ३० मिनेट भित्र सबै मत पेटिका मत गणनास्थल आइपुग्छन् । पूर्व तयारीसहित जनशक्ति परिचालन अत्यधिक र विश्वासको भरमा काम गरिन्छ । 

यहाँ मतगणना छिटो हुनुमा पाँच कारण देख्छन् अन्तर्राष्ट्रिय  कानुनका प्राध्यापक एवं बेलायती परराष्ट्रमन्त्रीको सल्लाहकार समितिमा रहेर काम गरिसकेका डा. सूर्यप्रसाद सुवेदी । उनको बुझाइमा लामो समयको अभ्यास र परीक्षण भइसकेको प्रणाली लागू, थोरै उम्मेदवार, सानो र सामान्य मतपत्र, व्यवसायिक निर्वाचन अधिकृत वा रिटर्निङ अफिसर एवं शिक्षित मतदाताका कारण छिटो नतिजा आउँछ ।

बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट उठेर पराजित पहिलो नेपाली मुलका उम्मेदवार डा. बच्चु कैलाश कैनीले यातायातको सुगमता, जनशक्ति, प्रभावकारी व्यवस्था, पूर्व तयारी र विश्वासलाई मुख्य कारण मानेका छन् ।   

कैनीले निर्वाचनका दिन आफ्नो निर्वाचन क्षेत्रमा मत गन्न र निर्वाचन घोषणा गर्न करिब १०० जना कर्मचारी खटिएको बताए । ‘यहाँ पूर्ण तयारी, छिटो काम सक्नुपर्छ भन्ने मानसिकता तथा प्रभावकारी रुपमा जनशक्ति, श्रोत र साधनको परिचालन हुन्छ’, कैनी थप्छन्, ‘मत गन्ने दिनमा एक जना उम्मेदवारले १० जना एजेन्ट राख्न पाउँछन् । तर, सबै कर्मचारीको विश्वासमा काम हुन्छ । एजेन्टले कुनै कुरा हेर्नु पर्दैन । अर्को कुरा यहाँका कर्मचारी इमान्दार र भरपर्दाे हुन्छन् ।’

मतगणना स्थलमा एजेन्टका रुपमा सहभागी लक्ष्य गुरुङका अनुसार लामो टेबलमा एकातिर गणना गर्ने कर्मचारी र अर्कोतिर एजेन्ट बसेका हुन्छन् । सुरुमा सिल गरेर ल्याइएको ब्यालेट बक्समा भएको मतपत्र संख्या लेखिए बमोजिम ठीक छ छैन् रुजु गरिन्छ । दोश्रो चरणमा कुन पार्टी वा उम्मेदवारको हो छुटयाएर ट्रेमा राखिन्छ र तेश्रो चरणमा गणना गरिन्छ । गणना सकिएपछि पनि फेरि जाँचिन्छ । 

लन्डन बरो अफ बार्नेट क्षेत्रको गणनामा बसेका गुरुङले बिहान ६ बजे नतिजा घोषणा भइसकेको जनाए । उक्त क्षेत्रमा तीन 
सांसदको २१ वडाका २१ वटै टेबल राखिएका थिए र एक टेबुलमा ६ जनाले मत गनेका थिए । 

प्रकाशित : जेष्ठ २७, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?