कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रतिरक्षा प्रणाली चाँडै सक्रिय बनाइन्छ : अमेरिका

बीबीसी/सीएनएन

वासिङ्टन — अमेरिकाले दक्षिण कोरियामा स्थापना गरिएको मिसाइल प्रतिरक्षा प्रणाली केही दिनमै सक्रिय बनाइने र उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध अझ कडा बनाइने जनाएको छ ।

प्रतिरक्षा प्रणाली चाँडै सक्रिय बनाइन्छ : अमेरिका

उत्तर कोरियाले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेपछि अमेरिकाले यस्तो घोषणा गरेको हो । टर्मिनल हाई अल्टिच्युट एरिया डिफेन्स सिस्टम (थाड) भनिने प्रतिरक्षा प्रणाली सन् २०१७ को अन्त्ययता प्रयोग नहुने अनुमान गरिए पनि अमेरिकाले अहिल्यै सक्रिय पार्ने बताएको हो । तर, आफू निसानामा पार्ने त्रासका कारण अधिकांश दक्षिण कोरियाली नागरिक यसको विपक्षमा छन् ।

बुधबार अमेरिकी कंग्रेसमा बोल्दै अमेरिकी सेनाका प्रशान्त क्षेत्रस्थित कमान्डर हयारी हयारिसले उत्तर कोरियाको बढ्दो आणविक खतराबाट दक्षिण कोरियाको रक्षा गर्न थाड प्रणालीलाई आगामी दिनमा सक्रिय बनाइने बताए । यसैबीच, उत्तर कोरियाको मानव अधिकार इन्स्चि्युटका निर्देशक सोक चोल वोनले आफ्नो देशले आणविक परीक्षण नरोक्ने बताएका छन् । सीएनएनलाई अन्तरवार्ता दिँदै सोकले आणविक परीक्षण आणविक शक्तिसम्पन्न हुने निरन्तर प्रयासको महत्त्वपूर्ण पाटो भएको बताए । ‘जबसम्म अमेरिकाले शत्रुतापूर्ण रूपमा आक्रमण जारी राख्छ, हामी आणविक र मिसाइल परीक्षण रोक्दैनौं,’ उनले भने ।

सोकले सेनाको ८५ औं वार्षिकोत्सवमा गरिएको बृहत् सैन्य अभ्यास अमेरिकी राष्ट्रपतिलाई चेतावनी भएको पनि बताए । ‘यो अभ्यास अमेरिकाले गरेको आक्रमणको सिधा प्रतिक्रिया हो,’ उनले भने । उनले उत्तर कोरियाली जेलमा यातना दिइएको कुरालाई अस्वीकार गरे । उनीहरूलाई अमेरिकाले पैसा दिएर झूटो बोल्न लगाएको पनि उनको आरोप थियो । सोकले राष्ट्रसंघले मानवअधिकार मुद्दालाई राजनीतिकरण गर्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको पनि बताए । राष्ट्रसंघको मानवअधिकार रिपोर्ट काल्पनिक रहेको उनको भनाइ छ । उत्तर कोरिया र
आफ्ना नेता किम जोङ उनको प्रतिरक्षा गर्नु नै मानवअधिकारको अर्थ रहेको पनि उनले बताए । उत्तर कोरियालाई तह लगाउन आर्थिक प्रतिबन्ध र कूटनीतिक दबाब दिन अमेरिकी मन्त्रिपरिषद्ले जोड दिएकै बेला उत्तर कोरियाली अधिकारीको यस्तो भनाइ आएको हो । उत्तर कोरियाको गतिविधिबारेमा बुधबार सिनेटरहरूलाई जानकारी गराइएको थियो । तर सिनेटरहरूले पत्रिकामा पढेभन्दा केही नयाँ जानकारी नआएको बताएका छन् । सिनेटरहरूलाई ब्रिफिङपछि जारी संयुक्त विज्ञप्तिमा अमेरिका कोरियाली प्रायद्वीपमा स्थायित्व र शान्तिपूर्ण रूपमा आणविक हतियाररहित बनाउन केन्द्रित भएको उल्लेख छ । विदेशमन्त्री रेक्स टिलरसन, रक्षा मन्त्री जेम्स म्याटिस र नेसनल इन्टलिजेन्स विभागका निर्देशक डान कोट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘त्यो उद्देश्य पूर्ति गर्न हामी वार्ताका लागि खुला छौं, यद्यपि हामी र हाम्रा सहयोगीको रक्षाका लागि हामी तयार पनि छौं ।’

प्रकाशित : वैशाख १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?