कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्रम्प, पुटिन र नयाँ शीतयुद्ध

१२ अप्रिल १९८२ मा तत्कालीन सोभियत संघको गुप्तचर निकाय कमिटी फर स्टेट सेक्युरिटी (केबीजी) प्रमुख युरी एन्ड्रोपोभले रोनाल्ड रेगनलाई पुन: अमेरिकी राष्ट्रपति हुनबाट रोक्न सक्रिय बन्न आफूअन्तर्गतका अधिकारीलाई निर्देशन दिए।

ट्रम्प, पुटिन र नयाँ शीतयुद्ध

 

सफ्ट टार्गेट
सोभियत नेतृत्वले रेगनलाई एक रोक्नै नसकिने खालको सैनिक शासक ठानेको थियो। केबीजीका तत्कालीन उच्च अधिकारी भासिली मित्रोखिमका अनुसार त्यो बेला सोभियत गुप्तचर निकायले रिपब्लिकन र डेमोक्रेटिकको हेडक्वाटरमा ‘रेगन मिन्स वार’ भन्ने नारा फैल्याएको थियो। र, राष्ट्रपति रेगनलाई एक भ्रष्ट र सैनिक शासकका रूपमा चित्रित गर्न खोजेको थियो। सोभियत संघको यो प्रयास सफल भने भएन, ५० मध्ये ४९ राज्यमा जितेर रेगन दोस्रो पटक पनि राष्ट्रपति भए।

अमेरिका र तत्कालीन सोभियन संघले शीतयुद्धताका एकआपसविरुद्ध गुप्तचर प्रयोग गरे। सन् १९६० ताका सोभियत गुप्तचर अधिकारीहरूले अमेरिकाले मार्टिन लुथर किङ जुनियरलाई मारेको भन्ने हल्ला फैलाइदिए। ८० को दशकमा उनीहरूले अमेरिकी गुप्तचर निकायले आफ्नो सैनिक अखडा रहेको फोर्ट डेट्रिकमा एड्स रोग फैलाएको हल्लासमेत फिजाइदिए। उनीहरूले त्यो बेलामा लगातार कम्युनिष्ट पार्टीलाई र विभिन्न देशमा भएका गृहयुद्धमा साथ दिइरहे। यता, अमेरिकी निकाय सीआईएले भने आफ्नोतर्फबाट इरान, क्युबा, हाइटी, ब्राजिल, चिली र पानामामा शासन प्रणाली परिवर्तनको लागि निरन्तर काम गरेको थियो। सीआईएले इटाली, ग्वाटेमाला, इन्डोनेसिया, दक्षिण भियतनाम र निकारागुवामा कम्युनिस्टलाई चुनाव हराउन पैसा, प्रोपोगान्डा र कहिलेकाहीं हिंसात्मक माध्यम पनि अपनायो।

९० को दशकको सुरुआतमा सोभियत युनियन विगठन भएपछि सीआईएले रुसलाई अमेरिकाबारे नकारात्मक हल्ला नफैलाउन आग्रह गर्‍यो। रुसले पनि त्यसो नगर्ने प्रतिबद्धता जनायो। तर, न्युयोर्कमा रहेको रुसी गुप्तचरी निकायका प्रमुख, जो २००२ मा फिर्ता बोलाइएको थिए, सर्गे ट्रेटाकोभले खुलासा गरेका छन् कि त्यसपछि पनि मस्कोले अमेरिकामाथि गर्ने यस्तो राजनीतिक प्रोपोगान्डामा कमी आएको थिएन। ‘केही परिवर्तन भएको छैन,’ उनले २००८ मा लेखेका छन्, ‘अमेरिकालाई गिराउन जे–जे गर्न सकिन्छ रुसले त्यो सबै गरिरहेको छ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जो पश्चिमा प्रवृत्तिलाई हरेक कुरामा दोषी देख्छन्, बेला–बेला इतिहास औंल्याइरहन्छन्। उनी मस्कोविरुद्ध जर्जिया, किर्गिस्तान र युक्रेनमा सोभियन संघ कालिन नेतृत्वलाई हटाउन भएको ‘कलर रिभोलुसन्स’मा पश्चिमी देशहरूले भूमिका खेलेको आरोप लगाउँछन्। पाँच वर्षअघि उनले हिलारी क्लिन्टनमाथि मस्कोमा भएको क्रेम्लिनविरुद्धको प्रदर्शनलाई समर्थन गरेको आरोप लगाए। भलै उनले कुनै प्रमाण दिएका छैनन्। पुटिन सोच्छन्– प्रजातन्त्र, मानव अधिकार, निर्वाचन पर्यवेक्षणमा काम गर्ने पश्चिमा गैरसरकारी संस्थाले कम्युनिस्ट शासन भएको देशमा शासन प्रणाली परिवर्तनका लागि भूमिका खेलिरहेका छन्।

पुटिनले खतरा देखेका यी कामहरूमा संलग्न अमेरिकी अधिकारी भने रुसी राष्ट्रपतिको यस्तो आरोपलाई सतही प्रत्यारोपको संज्ञा दिन्छन्। राष्ट्रपति बाराक ओबामाको पालामा डेपुटी नेसनल सेक्युरिटी एड्भाइजर बेन्जामिन रोड्स पुटिनको यस्तो आरोपलाई अस्वीकार गरे पनि पूरै गलत भने मान्दैनन्। उनी भन्छन्, ‘पुटिन पूरा गलत पनि होइनन्, पहिले हामी विश्वभर शासन प्रणाली परिवर्तनमा संलग्न थियौं। त्यसैले हामीलाई कस्न पुटिनले प्रशस्तै डोरी पाएका हुन्।’

पुटिनका लागि २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचन रुचिकर विषय थियो। उनी ओबामालाई मन पराउँदैन थिए। युक्रेनबाट क्रिमिया लिएपछि ओबामा सरकारले रुसविरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो। त्यो बेला रुसी सरकारी टेलिभिजनले ओबामालाई कमजोर, असभ्य र कायर व्यक्तिको रूपमा चित्रित गरेको थियो। पुटिनको आँखामा हिलारी क्लिन्टन झन् खराब थिइन्। उनले क्लिन्टनलाई उदारवादी हस्तक्षेपको समर्थक र रुसमाथि लगाइएको आर्थिक नाकाबन्दी खुलाउन असहयोग गर्ने पात्रको रूपमा बुझेका थिए। बरु, चुनावको बेला पुटिनले डोनाल्ड ट्रम्पलाई समर्थन गरे जो आफ्नो मन्तव्यको क्रममा पुटिनको प्रशंसा गर्थे। २००७ मा ट्रम्पले रुसको छवि सुधार्न पुटिनले बहुतै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए। २०१३ मा मिस युनिभर्सको उपाधि वितरण समारोहमा सहभागी हुन मस्को जाँदा ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘मैले पुटिनलाई भेट्न पाउँछु होला त? यदि भेटें भने उनी मेरो नयाँ मिल्ने साथी होलान्?’ चुनावी अभियानको क्रममा पनि ट्रम्पले खुसीसाथ भने— पुटिन उच्चस्तरका नेता हुन् जसले ओबामालाई हास्यास्पद पात्र बनाइदिए।

राजनीतिक प्रभावका लागि गुप्तचरी गर्नेहरूका लागि डिजिटल युगमा झन् धेरै अवसरहरू सिर्जना भएका छन्। हिलारी क्लिन्टनको चुनावी अभियानका प्रमुख र बिल क्लिन्टन राष्ट्रपति हुँदाका चिफ अफ स्टाफ जोन पोडेस्टा आधुनिक सञ्चार माध्यमको कमजोर प्रकृतिको बारेमा सचेत हुनुपर्ने बताउँछन्। उनले ओबामा सरकारको पालामा वरिष्ठ परामर्शदाताको रूपमा डिजिटल पोलिसी बनाउन काम गरेका थिए। उनी आफैंले पनि इमेल अकाउन्टमा ‘टु स्टेप भेरिफिकेसन’ राखेका छैनन्। ‘सोझो रूपमा भन्नुपर्दा म र मेरो टिम कुन इमेलमा क्लिक गर्ने नगर्नेमा सचेत छौं भन्नेमा बढी आत्मविश्वासी थियौं,’ उनी भन्छन्। उदाहरणका लागि, उनको इमेलमा एउटा फिसिङ इमेल आयो जसमा जिमेल टिमका नाम दिएर तत्काल पासवर्ड परिवर्तन गर्न भनिएको थियो। उनले उक्त इमेल भेरिभाई गर्दा एक आईटी कर्मचारीले झुक्किएर भनेछन्— यो आधिकारिक इमेल हो।

अमेरिकी राजनीतिक परिदृश्यले पनि आधिकारिकभन्दा गलत जानकारीलाई प्रश्रय दिन भूमिका खेलेको छ। पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकीहरू अहिले राजनीतिक आस्थाका आधारमा दुई दशकयताकै सबैभन्दा धेरै विभाजित छन्। मूलधारका सञ्चारमाध्यमप्रतिको अमेरिकी विश्वास इतिहासमै सबैभन्दा कमजोर भएको छ। यस्तो बेलामा कमजोर माध्यमलाई प्रयोग गरेर गलत जानकारी फैलाउने प्रवृत्तिले पश्रय पाएको छ। आफ्नो राजनीतिक पहिचान प्राप्तिका लागि ट्रम्पले पनि यही अवसरलाई सदुपयोग गरे। ‘खुला समाज जहिले पनि विभाजित हुन्छ किनकि मानिसहरूको आ–आफ्नै धारणा हुन्छ र यसैलाई पूर्वसोभियन युनियन र वर्तमान रुसले हतियार बनाएका छन्,’ ओलेज कुलुगिन, सन् १९९५ देखि अमेरिकामा बसोबास गरिरहेका केबीजीका पूर्वजनरल भन्छन्, ‘उनीहरूको उद्देश्य यो विभाजनलाई बढाउनु हो।’

अमेरिकी राष्ट्रपतिको शपथ समारोहको दुई साताअघि अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक जेम्स क्लापरले एक गोप्य रिपोर्ट सार्वजनिक गरे जसमा रुसी राष्ट्रपति पुटिनले क्लिन्टनलाई असर गर्ने र ट्रम्पलाई फाइदा पुग्ने गरी र अमेरिकी जनताको प्रजातन्त्रप्रति विश्वास टुटाउने अभियान चलाउन गुप्तचर अधिकारीलाई निर्देशन दिएको दाबी गरिएको छ। यो गोप्य रिपोर्टमा तथ्यभन्दा धेरै दाबी छ। गुप्तचर अधिकारीले भने आफ्नो जानकारी संकलन पद्दतिलाई गोप्य राख्न यसो गर्नुपरेको जिकिर गरेका छन्। 

यो रिपोर्टको आलोचकहरू भन्छन्— इराक युद्ध सुरु हुनु एक महिनाअघि पनि गुप्तचर निकायले इराकसँग आम नरसंहारकारी हतियार रहेको दाबी गरेको थियो। तर, इराकसँग त्यस्तो हतियार रहेको विषयमा गुप्तचर निकायबीच नै मतभेद थियो। रुसले २०१६ को चुनावको क्रममा साइबर आक्रमण गरेको विषयमा भने गुप्तचर निकायबीच मतभेद छैन। १७ वटा राज्यका गुप्तचर निकाय पनि चुनावमा ह्याकिङमा रुस संलग्न भएको विषयमा सहमत देखिएका छन्। 

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता वर्णन गर्दै निर्देशक क्लापरले डेमोक्रेटिकको इमेल ह्याक गरेको, ह्याक भएको कागजपत्रहरू विकिलिक्समार्फत सार्वजनिक गरेको र फेक न्युज फैलाउन सोसल मिडिया प्रयोग गरेको भनेका छन्। 

राष्ट्रपति निर्वाचित ट्रम्पले सुरुमा यस्तो ह्याकिङको घटना अस्वीकार गरे। तर, पछि ह्याकिङको विषयमा सहमत भए पनि उनी यसले निर्वाचनमा कुनै प्रभाव नपारेको दाबी गर्छन्। केबीजीबारेको पुस्तक ‘द स्टेट विदिन द स्टेट’ का लेखक एभजेनिया अल्बाट्स भन्छन्— पुटिनलाई सायद अमेरिकी चुनावको नतिजा उल्टाउन सक्छु भन्ने विश्वास थिएन त्यसैले उनले ओबामा र क्लिन्टनको विपक्षमा र ट्रम्पको पक्षमा प्रयास गरे र अमेरिकीको आफ्नो राजनीतिक प्रणालीप्रतिको कमजोर पारे। ‘पुटिन आफ्नो काम गोप्य राख्न चाहँदैनन्,’ अल्बाट्स भन्छन्, ‘उनले यसलाई जतिसक्दो धेरै सार्वजनिक गर्न खोजे। उनले आफ्नो उपस्थिति सबैलाई जानकारी दिन चाहे र देखाए कि जे हामी तिम्रो घर पसेर जे मन लाग्यो गर्न सक्छौं।’

शीतयुद्ध २.०
चुनावअघि डेमोक्रेटिक नेसनल कमिटीमा भएको ह्याकिङको विषयमा ओबामा प्रशासनले पहिल्यै थाहा पाएको थियो तर एक दलको पक्ष लिएको आरोप लाग्ने डरले कडा कदम चाल्न डरायो। ग्रीष्मकालमा पेन्टागन नेतृत्व, स्टेट डिपार्टमेन्ट र गुप्तचर निकायका प्रतिनिधिहरू भेट गर्थे तर उनीहरूको ध्यान चुनावको दिन राज्यका निर्वाचन आयोग र चुनावी प्रणालीलाई कसरी 
ह्याकिङबाट बचाउने भन्नेमै केन्द्रित हुन्थ्यो।

यो सावधानीले भने क्लिन्टनको भित्री वृत्तकाहरूलाई चिढ्यायो। ‘हामी बुझ्छौं उनीहरू परिस्थितिले बाँधिएका थिए,’ क्लिन्टनका एक वरिष्ठ सल्लाहकारले भने, ‘यदि बाराक ओबामाले जनतालाई अमेरिकी चुनाव रुसी सरकारको निसानामा परेको भनेको भए स्थिति झन् बिग्रिन सक्थ्यो।’

गत सेप्टेम्बरमा चीनमा भएको जी–ट्वान्टी सम्मेलनको क्रममा पुटिन र ओबामाको भेट भएको थियो। ओबामाले पुटिनलाई ह्याकिङबारे अवगत गराउँदै नोभेम्बरमा हुने चुनावलाई प्रभाव पार्ने काम नगर्न भनेका थिए। ओबामाले यसो नभए परिणाम राम्रो नहुने चेतावनी दिएका थिए। पुटिनले न ह्याकिङबारे स्विकारे न अस्वीकार नै गरे। बरु, अमेरिकाले रुसको आन्तरिक विषयमा हस्तक्षेप गर्न नागरिक समाज र मिडियालाई पैसा दिएको जवाफ दिए।
लगत्तै, अक्टोबरमा रुसले गरेको चुनावी खिचलोको प्रमाणहरू धेरै भेटिएपछि एक वरिष्ठ नेसनल सेक्युरिटी अधिकृतले त्यसको जवाफ दिने भनेर प्रतिवेदन तयार पारे जसमा रुसी अधिकारीको व्यक्तिगत विवरण, बैंक अकाउन्टको जानकारी सार्वजनिक गर्ने वा मस्कोविरुद्ध नै साइबर आक्रमणको तयारी गर्ने उल्लेख थियो। तर, विदेशमन्त्री जोन केरीले यसो गरे सिरियाको विषयमा रुसलाई मनाउन नसकिने बताए। पछि, ७ अक्टोबरमा सुरक्षा अधिकारीहरूले रुसले डेमोक्रेटिक नेसनल कमिटी ह्याक गरेको सार्वजनिक गरे। उनीहरूले यसलाई उचालेर राजनीतिक रंग भने दिन चाहँदैनथे।

ह्वाइटहाउस रुसी गुप्तचरले चुनावमा पारेको प्रभावबारेमा सचेत त थियो तर उसले कुनै प्रमाण फेला पारेको थिएन। सुरुआती चरणमा क्लिन्टनले चुनाव जित्ने माहोल बनिरहेकाले पनि ओबामा रुसी संलग्नताबारे धेरै आक्रामक बनेनन् किनकि रुसविरुद्ध धेरै आक्रामक बनेको भए चुनावको आधिकारिकतामाथि शंका हुन्थ्यो। चुनावी नतिजा आइसकेपछि, रुसी संलग्नताबारे अनुसन्धान गर्न जोन केरीले एक प्रस्ताव लगेका थिए जसमा डेमोक्रेटिक र रिपब्लिकनका ५–५ जना सदस्य रहने गरी अनुसन्धान कमिटी बनाउने उल्लेख थियो। तर, ओबामाले यसलाई अस्वीकार गरिदिए किनकि उनलाई लाग्यो कंग्रेसमा रिपब्लिकनहरूले यसलाई पक्षधरताको आरोप लगाउँनेछन्। केरीको प्रस्तावलाई समर्थन गरेका एक वरिष्ठ सल्लाहकार भन्छन्, ‘त्यस्तो आयोग बनाएको भए अनुसन्धान जारी रहन्थ्यो तर अब चुनावमा रुसी संलग्नताको अनुसन्धान हुने सम्भावना कम छ।’

ट्रम्पले शपथ लिनु दुई साताअघि गुप्तचर अधिकारीले ट्रम्प र ओबामा दुवैलाई एउटा नयाँ कुरा जानकारी गराए। एक पूर्व ब्रिटिस गुप्तचर क्रिष्टोफर स्टिलले संकलन गरेको कागजपत्रहरू ट्रम्पको २०१३ को मस्को भ्रमणको विषयमा केन्द्रित थियो। ३५ पेजको उक्त फाइलको निचोड छ— रुसको ट्रम्पसँग व्यक्तिगत र आर्थिक सम्बन्ध छ जसलाई रुसले ब्ल्याकमेलको रूपमा प्रयोग गर्न सक्छ। साथै, रुसले ट्रम्पलाई वर्षौंदेखि हुर्काएको, सहयोग र सहायता गरिरहेको दाबी त्यसमा गरिएको छ। तर, यो दाबीमा गुप्तचर अधिकारीहरू एकमत छैनन्। कतिले के विश्वास गर्छन् भने ट्रम्पको मस्को भ्रमणको प्रमाणहरू रुस आफैंले संकलन गरेको थियो। ब्रिटिस गुप्तचरले संकलन गरेको कागजपत्रलाई ट्रम्पले नक्कली भनेका थिए भने पुटिनका प्रवक्ताले यसलाई ‘पल्प फिक्सन’ को संज्ञा दिएका थिए।

हाइब्रिड वार
पुटिन सायदै कम्युटर प्रयोग गर्छन् तर उनले आफ्नो देशलाई डिजिटल युगमा पुर्‍याएका छन्। कुनै समय रुस प्रविधिमा निकै पछि थियो। सन् १९९० सम्म ऊ ग्लोबल इन्टरनेटसँग जोडिएकै थिएन। सन् १९९६ सम्म आइपुग्दा रुसी ह्याकरहरू अमेरिकी सैनिक नेवटर्कमा छिरेर उसका फाइल, मिलिटरी डिजाइन र नक्सा चोर्ने भइसकेका थिए। फ्रेड कप्लानले लेखेको साइबर युद्धको इतिहासम्बन्धी पुस्तक ‘डार्क टेरिटरी’ का अनुसार सन् २००८ मा अमेरिकी अधिकारीले असम्भव ठानेको एक गोप्य नेटवर्कमा रुसी ह्याकर पस्न भ्याए जुन पब्लिक इन्टरनेटसँगसमेत जोडिएको थिएन। पुस्तकको अनुसार रुसी गुप्तचरहरूले काबुलमा रहेको नाटो हेडक्वाटरनजिकै एक सामान्य खुद्रा पसलमा भाइरससहितको पेन ड्राइभ बिक्रीका लागिसमेत राखेका थिए। त्यो पेनड्राइभ नाटोमा कार्यरत सैनिकहरूले किनेर लैजाने उनीहरूको विश्वास थियो। पछिल्लो समय आफ्नो छिमेकीविरुद्ध साइबर रणनीति रुसको गतिलो हतियार भएको छ। 

चर्चित भिडियो कलिङ सफ्टवयर स्काइपको जन्मथलो स्टोनियालाई टेक्नोलोजी वृत्तमा ई–स्टोनिया भनेर चिनिन्छ। यो सबैभन्दा राम्रो इन्टरनेट हुने देशको सूचीमा पर्छ। तर, सन् २००७ मा स्टोनियाको सबै सरकारी वेबसाइट, बैंकसहितका महत्त्वपूर्ण वेबसाइटमा समस्या आयो। 

स्टोनिया र रुसबीच एक सोभियन सेनाको विश्वयुद्धकालीन सालिकलाई लिएर विवाद भएको थियो। सोभियत संघको पालामा स्टोनियाको राजधानीमा बनाइएको एक सैनिकको सालिक अर्को ठाउँमा सार्न खोज्दा रुसले स्टोनियालाई त्यसो गरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको थियो। २७ अप्रिल २००७ मा उक्त सालिक सारियो। लगत्तै, रुसी ह्याकरहरूले कसरी ह्याक गर्ने भन्दै रुसी भाषाका च्याटरुमहरूमा स्टोनियाको साइट ह्याक गर्ने तरिका सिकाइदिए, जुन दुई सातासम्म जारी रह्यो। अनुसन्धानको क्रममा ह्याकरको स्रोतसमेत पत्ता लागेन। तर, अघिल्लो वर्ष राष्ट्रपति पद छाडेका टोमस हेन्ड्रिक इल्भेस रुसी संलग्नतामा उक्त घटना भएको दाबी गर्छन्। उनी ह्याकर र सरकारीबीचको मिलोमतोमा यसो गरिएको बताउँछन्। 

अन्तर्राष्ट्रिय जगत्मा खासै चर्चामा नआए पनि राजनीतिक उद्देश्यको लागि गरिएको साइबर आक्रमणको घटनामा यो कोसेढुंगा थियो। एक देशले आफ्नो सालिक सारेको विषयमा अर्को देशले साइबर आक्रमण गरेको थियो। स्टोनियाको घटनाको एक वर्षपछि जर्जियासँगको सीमा विवादमा रुसले विवादित स्थानमा आफ्ना ट्यांक र विमान पठायो भने एकै पटक जर्जियाको सरकारी, बैंक र मिडिया गरी ५४ वेबसाइट बन्द गराइदियो। साथै, उसले जर्जियाको इन्टरनेट सेवासमेत अवरुद्ध पारिदियो। जसका कारण जर्जियाका सैनिक अधिकारीले सैनिकहरूलाई निर्देशन दिनसमेत हम्मे–हम्मे पर्‍यो भने जनता के भइरहेको छ भन्नेसमेत थाहा नपाएर बस्नुपर्‍यो।

रुसमा युद्धसम्बन्धी नयाँ सिद्धान्तले मूर्तरूप लिइरहेको छ जसअन्तर्गत उसले पश्चिमी देशको सामथ्र्यको सिको गरेर घरभित्र अभ्यास गर्ने र बाहिर कार्यान्वयन गर्ने गरिरहेको छ। यो कस्तो हुनेछ भन्ने कुराको छनक २०१३ को फेब्रुअरीमा एक रुसी सैनिक जर्नलमा प्रकाशित लेखले दिन्छ। रुसी सैनिक रणनीतिकारहरूबीच लोकप्रिय जर्नल ‘मिलिटरी इन्डस्ट्रियल कुरिअर’ मा रुसका चिफ जनरल स्टाफ भ्यालेरी गेरासिभोमले ‘भविष्यवाणीमा विज्ञानको महत्त्व’ शीर्षकको एक लेख प्रकाशित गरेका छन् जसमा पश्चिमा देशहरूले गर्ने गरेको सैनिक रणनीति अंगीकार गर्न आग्रह गरिएको छ जसअनुसार सैनिक, प्रविधि, मिडिया, राजनीतिक र गुप्तचरी चाल एकैचोटि चालिन्छ। लेखमा भनिएको यस्तो रणनीति चाल्दा शत्रुलाई कम क्षतिमै परास्त गर्न सकिन्छ। यो रणनीतिलाई ‘हाइब्रिड वार’ को संज्ञा दिइन्छ। उनले लेखमा भविष्यमा हुने युद्धहरू सैनिकहरू मात्रै नभिडेर गुप्तचरी, प्रोपोगान्डा, साइबर अट्याक र गोलमालको बीचमा गरिने दाबी गरेका छन्। 

सन् २०१४ मा रुसी सरकारबाट निर्देशित भनिएको ह्याकर समूह ड्युकले अमेरिकी स्टेट डिपार्टमेन्टको कम्प्युटर नेटवर्कमा छिरेर कागजपत्रहरू चोरी गर्‍यो। रुसी रक्षा मन्त्रालयले वैज्ञानिक र जानकारी अपरेसनका लागि टिम बनाउन लागेको घोषणा गरेको एक वर्षपछि यस्तो घटना भएको थियो। पछि, यो समूहको उद्देश्यबारे रक्षा अधिकारीहरूले प्रस्ट्याएका थिए— शत्रुहरूको जानकारी सञ्जाल भत्काउने। मस्कोको अनुसन्धान संस्थाका इन्फर्मेसन सेक्युरिटी विज्ञ ओलेग डेमिडोभ भन्छन्, ‘यस्तो टिम बनाउनेभन्दा सुरुमा धेरै मानिसहरू हाँसे तर यो साँचो हो कि अहिले मस्कोका उत्कृष्ट विश्वविद्यालयबाट प्राविधिक विषय पास गरेका व्यक्तिहरू यो समूहमा छन्।’

गोलमालको सिद्धान्त
ट्रम्पको सपथलाई रुसी राजनीतिक तह र मिडियाले उल्लासका साथ हेरे। ‘१९१७ मा लेलिनका समर्थकहरूले विन्टर प्यालेसमा छिरेर पुँजीवादी मन्त्रीलाई हिरासतमा लिए र त्यो बेलाको सामाजिक र सांस्कृतिक अवस्था बदले,’ रुसबाट प्रकाशित हुने ‘मस्कोभिस्की कोमसोमोलेट्स’मा प्रकाशित प्रमुख लेखको सुरुआत यसरी गरिएको थियो, ‘२० जनवरी २०१७ मा वासिङ्टनमा कसैले ह्वाइटहाउस वा कंग्रेसमा छिरेर केही गर्ने योजना बनाएका छैनन् तर अमेरिकी राजनीतिक सम्भ्रान्तहरूको मनोभाव अहिले एक सय वर्षअघिको रुसका बुर्जुवाहरूको भन्दा फरक छैन।’
रुसको ‘न्युज अफ दी विक’का सञ्चालक डिमिट्री किसेलोयोभले पनि आफ्नो कार्यक्रममा ट्रम्पमाथि लाग्ने गरेको रंगभेदी भएको आरोपलाई अस्वीकार गरेका छन्। उनले अमेरिकी नयाँ राष्ट्रपतिले गर्नेे गरेको यौनिक टिप्पणी पनि क्षणभरको आवेगमा गरिएको सामान्य मजाक भन्ने गरेका छन्। 

अमेरिकामा ट्रम्पको उदय हुनु र युरोपमा राष्ट्रवादी राजनीति हावी हुँदै जानुमा रुसको हात रहेको भनेर कुनै विश्लेषकले भन्दैन। बरु, ग्लोबलाइजेसनले परेको असरको रिस र आर्थिक मन्दी यसमा बढी जिम्मेवार छन्। तर, अधिक पश्चिमा युरोपेलीहरूको डर के छ भने त्यहाँ शीतयुद्धपछिका निर्माण गरिएका संस्थाहरू जोखिममा छन्। ट्रम्पले नाटोमाथि शंका व्यक्त गरेका छन् भने ब्रेक्जिटजस्ता विषयको समर्थन गरिरहेका छन् जसका कारण उनीमाथि भर पर्न सकिन्न। ‘नाटोलाई कम प्रभावकारी बनाउनु वा अमेरिकालाई युरोपेली सुरक्षा संयन्त्रबाट अलग्याउनु भनेको पुटिनलाई अवसर दिनु हो,’ नाटोको पूर्वकमान्डर ब्रिटिस जेनरल सर सिरेफ भन्छन्। 

एन्ड्रेई कोजिरेभ, जो सोभियत संघका विदेशमन्त्री भइसकेका थिए र अहिले वासिङ्टन डीसीमा बसोबास गरिरहेका छन्, भन्छन्— अहिले अमेरिका र रुस एकै ढाँचामा चलिरहेका छन्। ‘मैले सम्झिएसम्म यो पहिलो पटक यस्तो भइरहेको छ कि दुवै देशमा उस्तै खालका मानिसहरू आसिन छन्— क्रेम्लिन र ह्वाइटहाउसमा एकै स्वभावका मानिसहरू छन् त्यसैले होला उनीहरूको कुरा मिल्छ।’

ट्रम्पले पनि सुरुआतदेखि नै रुससँगको आफ्नो सम्बन्धबारे अमिल्दो प्रतिक्रियाहरू दिइरहेका छन्। २०१३ मा मस्कोमा एक अन्तर्वार्ताको क्रममा उनले पुटिनलाई आफूले व्यक्तिगत रूपमा चिन्ने बताएका थिए। राष्ट्रपति उम्मेदवार हुने क्रममा उनले भने, ‘मैले पुटिनलाई कहिल्यै भेटेको छैन। मलाई थाहा छैन, पुटिन को हुन्?’ सन् २००८ मा ट्रम्पले ट्वीट गरेका थिए, ‘मलाई रुससँग कुनै लिनु–दिनु छैन।’ फेब्रुअरी १६ मा एक पत्रकार सम्मेलनका क्रममा उनलाई पुन: सोधियो तपाईंको चुनावी अभियानको क्रममा कसैले रुससँग सम्पर्क गरेका थिए? उनले भने— मैले चिनेको कसैले सम्पर्क गरेको छैन। उनले आफ्नो रुससँग सम्पर्क विषयलाई कपटको संज्ञा दिए र भने— मैले वर्षौं भयो रुसको कसैसँग पनि सम्पर्क गरेको छैन। तर, फेब्रुअरीमै गुप्तचर निकायले ट्रम्पको सहयोगी र रुसी अधिकारीबीच सम्पर्क भएको कैयौं प्रमाण संकलन गरिसकेको थियो। 

‘इको अफ मस्को’ का प्रधानसम्पादक एलेक्सी भिनेडिकोभको अनुसार ट्रम्पलाई पुटिनले सहयोग गर्नुको अर्थ पश्चिमासँगको लामो दुश्मनीसँग सम्बन्धित छ। पुटिन आफ्नो भूराजनीतिक र आर्थिक कमजोरीलाई उकास्न चाहन्छन्। उनी भन्छन्, ‘हामीले अमेरिकाभित्रै नयाँ गोलमाल सुरु गर्नुपर्छ।’

(इवान ओसनोस, डेभिड रेम्निक र जोसुवा याफाको यस रिपोर्टको भावानुवाद विजय तिमल्सिनाले गरेका हुन्।) 

प्रकाशित : चैत्र १२, २०७३ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?