विकासोन्मुख देशलाई चीनको २ अर्ब डलर- विश्व - कान्तिपुर समाचार

विकासोन्मुख देशलाई चीनको २ अर्ब डलर

(बीबीसी)

न्युयोर्क — चिनियाँ राष्ट्रपति सी जिनपिङले विकासोन्मुख देशहरूका लागि २ अर्ब अमेरिकी डलरको कोष खडा गर्ने घोषणा गरेका छन्। दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै जिनपिङले सार्थक लगानी वृद्धिका लागि चिनियाँ योजना सार्वजनिक गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले विकासोन्मुख देशहरूका लागि २ अर्ब अमेरिकी डलरको कोष खडा गर्ने घोषणा गरेका छन्।

दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै जिनपिङले सार्थक लगानी वृद्धिका लागि चिनियाँ योजना सार्वजनिक गरेका हुन्। आगामी १५ वर्षमा त्यस्तो लगानी १२ अर्ब डलर पुग्ने उनले बताए। स–साना टापु मुलुकलगायत विश्वका अतिकम विकसित देशलाई दिइने ब्याज मिनाहा गरिने उनले घोषणा गरे। आगामी ५ वर्षका लागि ६ सयवटा वैदेशिक सहायता कार्यक्रम सञ्चालन गरिने बताए। जसलाई ६ वटा १ सय (सिक्स वान हन्ड्रेड) योजना नाम दिइएको छ। जसअन्तर्गत गरिबी उन्मूलन, कृषि उपज समन्वय, व्यापार सरलीकरण, वातावरण सुरक्षा र जलवायु परिवर्तनका प्रभाव सामना, अस्पताल र क्लिनिकहरू निर्माण, विद्यालय र व्यावसायिक तालिम केन्द्र स्थापनाका लागि १/१ वटा परियोजना सञ्चालन गर्ने चिनियाँ योजना छ।

‘संसारको परिस्थिति हेर्दा शान्ति र विकासका लागि २ मुख्य विषयवस्तु देखिन्छन्,’ राष्ट्रपति जिनपिङले भने, ‘युरोपेली शरणार्थी समस्यासहित धेरै विश्वव्यापी चुनौतीको समाधान गर्नु तथा शान्ति र वास्तविक विकासको अनुभूति दिलाउनु नै मुख्य विषय हुन्।’ चुनौती र कठिनाइको सामना गर्दै विश्वले विकासमा फड्को मार्नुपर्ने उनले बताए। ‘विकासले मात्र द्वन्द्वका कारक तत्त्वलाई निर्मूल पार्न सक्छ,’ उनले भने।

विकसित देशले दिने सहायताले दिगो विकाससम्बन्धी राष्ट्रसंघीय लक्ष्य प्राप्तिमा चुम्न टेवा पुर्‍याउने उनले भनाइको एक दिनअगाडि सबै सदस्य राष्ट्रले त्यसका लागि महत्त्वाकांक्षी कार्यक्रम सञ्चालनको प्रतिबद्धता जनाएका थिए। राष्ट्रसंघले सन् २०३० सम्ममा गरिबी र भोकमरी अन्त्यको उक्त लक्ष्य प्राप्त गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

यसअघिको सहस्राब्दी विकास लक्ष्यमा चीनले सन्तोषजनक प्रगति गरेको थियो। धेरै परिवारले गरिबीको चक्रबाट मुक्ति पाएका छन्। यो चीनको असाधारण रेकर्ड त हो नै, गरिबी निवारणमा विश्वव्यापी लक्ष्य हासिल गर्ने कुरालाई पनि सुनिश्चित गर्छ। राष्ट्रपति जिनपिङको भनाइमा अहिले घरेलु समस्यामाथि विजय हासिल गरेर चीन खासगरी अफ्रिकी मुलुकको रूपान्तरणका लागि विकास साझेदार बन्ने दिशामा उन्मुख छ। नयाँ पहलले उदाउँदो आर्थिक महाशक्ति चीनलाई थप जिम्मेवारी दिएको छ।

आगामी ५ वर्षमा चीनले विकासोन्मुख देशका १ लाख २० हजार जनसंख्यालाई कोष र १ लाख ५० हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै छ। दक्षिण–दक्षिण समन्वय र विकास प्रतिष्ठानहरू स्थापना गर्ने चिनियाँ योजना छ। विश्व स्वास्थ्य संगठनका लागि २ अर्ब डलर नगद उपलब्ध गराउँदै छ। ‘विकासोन्मुख देशहरूसँग एकता र समन्वय चिनियाँ विदेश नीतिको मूल जग हो,’ राष्ट्रपति जिनपिङले भने।

प्रकाशित : आश्विन ११, २०७२ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

झापाद्वारा पुलिस पराजित

पर्वत पोर्तेल

काँकडभिट्टा — रेडबुल राष्ट्रिय लिगमा झापा–११ ले विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० ले आइतबार पराजित गरेको छ। जितसँगै झापा २४ अंकसाथ शीर्षस्थानमा कायम छ।

पुलिस १२ अंकबाट माथि उक्लिन सकेको छैन। झापाको सुरुङ्गास्थित कन्काई स्कुलको मैदानमा भएको खेलमा झापाका स्ट्राइकर कर्ण लिम्बूले दुवै गोल गरे। लिगमा उनको व्यक्तिगत गोल संख्या १० पुगेको छ।

घरेलु मैदानमा उल्लेख्य दर्शकको समर्थन पाएको झापाले सुरुदेखि नै पुलिसलाई दबाबमा राखेको थियो। खेल सुरु भएको दसौं मिनेटमा पुलिसका खेलाडीले फल गरेपछि झापाले पाएको पेनाल्टीमा कर्णले गोल गर्न सकेनन्। कर्णको प्रहारलाई पुलिसका अनुभवी गोलरक्षक रितेश थापाले विफल तुल्याए।

२३ औं मिनेटमा झापाले अर्को अवसर गुमायो। दिनेश कार्कीले प्रहार गरेको कर्नर किकलाई देवेन्द्रले सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा खेल एकपक्षीय जस्तै देखिएको थियो। पहिलो हाफको ४१ औं मिनेटमा पाएको अवसरलाई झापाले गुमाएन। दिलेन लोक्तानले प्रहार गरेको बललाई कर्णले फ्लिक गर्दा अप्रत्याशित गोल भयो।  झापाका कर्णले पुन: ४२ औं मिनेटमा अर्को गोल थपे। जसले पुलिस पूरै हतोत्साही बन्यो। गणेश खड्काले दिएको पासलाई कर्णले जाली चुमाएका थिए। झापाको यो १३ औं खेल हो। अब उसले २० गते मनाङसँग खेल्नेछ। झापाका गणेश खड्का, दिनेश कार्की र गोलरक्षक दिनेश थापाले पहेंलो कार्ड पाए। खेलको म्यान अफ द म्याच झापाका देवेन्द्र तामाङ घोषित भए।

झापाका प्रशिक्षक भगीरथ आलेले कप्तान प्रवेश कटुवाल र योगेश गुरुङजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा पनि पुलिसलाई पराजित गर्न सकेको बताए। प्रवेश र योगेश अघिल्लो खेलबाट घाइते छन्। आलेले झापालाई घरेलु मैदान फापेको उल्लेख गर्दै भने,‘अघिल्लो पटकभन्दा अहिले झापाको खेल रणनीति फरक भएकाले जितिएको हो।’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भोला सिलवाल, भरत शाह, रविन श्रेष्ठलगायत खेलाडी नभएकाले झापासँग पराजय बेहोर्नुपरेको बताए। ‘रितेश र जुमनु पनि जम्न सकेनन्,’ श्रेष्ठले भने,‘तालमेल नमिल्दा हार भयो।’

थ्री–स्टारको जित

थ्री–स्टारले एन्फा कम्प्लेक्समा सुदूरपश्चिमलाई १–० ले पन्छाउँदै झापालाई पछ्याउने क्रम कायमै राख्यो। खेलको एकमात्र एवं निर्णायक गोल ओलावाले आफिजले गरेका थिए। उनले प्रहार गरेको बल सुदूरपश्चिमका गोलकिपर वीरेन्द्र चन्दको दुई खुट्टाबीचबाट जाली चुम्न पुगेपछि थ्री–स्टारले १३ औं मिनेटमै अग्रता लिएको थियो। अन्तत: त्यही गोलले थ्री–स्टारलाई ३ अंक दिलायो। थ्री–स्टार ११ खेलमा २२ अंकसहित दोस्रो स्थानमा छ। सुदूरपश्चिमले १३ खेलबाट १४ अंक हासिल गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७२ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×