कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा परमाणु बिजुली उत्पादन सुचारु

टोकियो — विरोधका बाबजुद जापानले पुन: परमाणु ऊर्जाबाट बिजुली बनाउन सुरु गरेको छ । ४ वर्षअघि भूकम्प र सुनामीका कारण फुकुसिमामा परमाणु दुर्घटनापछि ऊर्जा उत्पादन बन्द गरिएको थियो ।

जापानमा परमाणु बिजुली उत्पादन सुचारु

क्युसु इलेक्ट्रिक पावर कम्पनीले दक्षिणी जापानस्थित आफ्नो सेन्दाई संयन्त्रको रियाक्टर नम्बर १ बाट कन्ट्रोल रड हटाएको छ । यहींबाट परमाणु विखण्डन प्रक्रिया सुरु हुनेछ । जापानभरमा विद्युत् कम्पनीले २५ रियाक्टरहरूलाई सुचारु गर्न चासो देखाएका छन् । तर, उनीहरूले नयाँ कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।
क्युसु कम्पनीले नयाँ सुरक्षा उपकरणका लागि १२ करोड डलर खर्च गरेको छ । कम्पनीका अनुसार सेन्दाईको १ नम्बर रियाक्टरबाट सोमबार स्थानीय समयअनुसार साढे १० बजेबाट काम सुरु गरिएको छ । यस रियाक्टरबाट आगामी शुक्रबारदेखि परमाणु बिजुली उत्पादन सुरु हुने र आगामी महिनादेखि यसले पूर्ण क्षमताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकार परमाणु रियाक्टरलाई सुचारु गर्न चाहेको उल्लेख गर्दै संसारकै सबैभन्दा कडा सुरक्षा मापदण्डलाई पूरा गर्ने बताएका छन् । तर, जापानीहरूले भने परमाणु ऊर्जा पुन: सुरु गर्न लागिएकोमा विरोध जनाउँदै आएका छन् ।
सन् २०११ को मार्च ११ मा फुकुसिमामा आएको भूकम्प र सुनामीका कारण दायची प्लान्टमा नोक्सान भएको थियो । भोलिपल्टै यहाँबाट रेडियोधर्मी पदार्थ चुहिन थालेको थियो । यसलाई सन् १९८६ को चेर्नोबिल संकटपछिकै सबैभन्दा ठूलो परमाणु संकट मानिएको थियो ।
 

प्रकाशित : श्रावण २६, २०७२ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?