१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दिल्लीमा आम आदमी

नयाँदिल्ली — पढाइले मेकानिकल इन्जिनियर रहेका ४५ वर्षे अरबिन्द केजरीवालले आम आदमी पार्टी (आप) गठनको १४ महिनामै मुख्यमन्त्री बनेर शनिबार शपथ लिनासाथै वषौंवर्षदेखि परम्परागत पद्धतिमा चल्दै आएको दिल्ली राजनीतिमा भिन्न तरंग छाएको छ ।


कुनै सुरक्षा संकेत र रातोबत्तीको चहकबिना दिल्ली मेट्रो हुँदै रामलीला मैदान पुगेका मुख्यमन्त्री केजरीवालले शपथग्रहण गर्नासाथै सर्वसाधारण दिल्लीवासीको मनलाई छुने गरी आफू 'घूस लिने र दिनेको विरोधमा कडा रूपमा प्रस्तुत हुने' प्रतिबद्धता जनाए । कौसम्भीदेखि बारखम्बा मेट्रो स्टेसनसम्म मेट्रो चढेर आएका केजरीवालले दिल्लीका उपराज्यपाल नजीव जंगबाट मध्याह्न १२ बजे शपथ लिएका थिए । उनले मुख्यमन्त्रीको कार्यभार सम्हाल्नासाथ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई दिएका छन् । भ्रष्टाचारविरोधी अभियानमा अगुवा एवं समर्थक रहेका अन्ना हजारेले पनि 'केजरीवालले राम्रो काम गरेर देखाउने विश्वास आफूले लिएको' भन्दै शुभेच्छा व्यक्त गरेका छन् । शपथग्रहण समारोहमा यसअघिकी मुख्यमन्त्री शिला दीक्षित भने उपस्थित थिइनन् ।
विधानसभाका ७० मध्ये २८ सिट ल्याएर भारतीय जनता दलपछिको स्थानमा आए पनि कंग्रेसले ल्याएको ८ सिटको समर्थनमा सरकार बनाएको
हो । मुख्यमन्त्रीले विधानसभा बैठकमा जनवरी ३ मा सरकार सञ्चालनमा बहुमत हासिल गरेर देखाउनुपर्ने छ । 'हामीले बहुमत पाउनेमा विश्वस्त छौं तर यदि यो अवस्था नआए फेरि जनतामा जानेछौं,' शपथपछि केजरीवालले भने । रामलीला मैदानमै आम आदमी पार्टीका प्रभावशाली पात्रहरू राखी बिडला, गिरीश सोनी, सतेन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र मनीष सिसोरियालाई मुख्यमन्त्री केजरीवालले मन्त्री पदको शपथ गराए । दिल्लीका सातौं मुख्यमन्त्री बनेका केजरीवालले यसै साता प्रतिकेजी ४ रुपैयाँ ५० पैसाका दरमा बढेको सीएनजी ग्यासको मूल्य नघटाएमा जनवरी ७ बाट दिल्लीका १ लाख अटोड्राइभरले गर्न लागेको हडतालको तत्काल सम्बोधन गर्नुपर्ने भएको छ । केजरीवालले १ दखि ७ जनवरीसम्मको अवधिलाई विधानसभा सत्र तोकेका छन् ।
विशेषगरी जनलोकपाल बिल ल्याउन अभियन्ता अन्ना हजारेसँग साथ लिएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका केजरीवालले १५ वर्ष दिल्लीमा एकछत्र शासन चलाएकी कंग्रेस नेतृ शिला दीक्षितलाई विधानसभा निर्वाचनमा ठूलो मत अन्तरले हराएका थिए । भारतीय जनता दल र भारतीय कंग्रेसको विचारधारामा कुनै अन्तर नरहेको भन्दै उनले यी दुवै दलको 'भ्रष्टाचार विचार' मा समानता रहेको धारणा राख्दै आएका छन् । २००६ को फेब्रअरीदेखि कर विभागको सहआयुक्तबाट राजीनामा दिएर सामाजिक अभियन्ता अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानमा जुटेका केजरीवाल म्यागासासे अवार्ड विजेता र अशोका फेलोसमेत हुन् ।  
कार्यकाल सुरु गर्नासाथै मुख्यमन्त्री सचिवालयबाट सुरक्षा दस्ता हटाएर र रातभर पनि गाजियावादस्थित पार्टी कार्यालयमै बसेर समस्या पहिचान, 'आम आदमी सम्पर्क' का काममा लाग्ने प्रतिबद्धता केजरीवालले जनाएका छन् । उनले दिल्ली सरकारमा गृह, अर्थ र बिजुली मामलाका मन्त्रालय हेर्ने भएका छन् ।  
राजनीतिक शुद्धताको खोजी गर्न आफू राजनीतिमा छिरेको बताउने केजरीवाल पार्टी 'आप' का एक प्रवक्ता जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक आनन्द कुमारले 'दिल्लीवासीले आधारभूत विषय र मुद्दामा केही सुधार पर्खेर बसिरहेको' प्रतिक्रिया दिएका छन् । 'अहिले आएको केही संकेतसमेत काफी छ,' उनले कान्तिपुरसँग भने, 'भ्रष्टाचार र कुशासनको लामो बहसबाट बाहिर आएका दिल्लीवासीका निम्ति पानी, बिजुली, चामल, सागसब्जीको मूल्यमा त्राण पाउनु अहिलेको ठूलो विषय हो । आम आदमी पार्टीले यी विषयमा तत्काल सम्बोधन गर्नेछ ।'
केजरीवालले एक छोरा र छोरीलाई साक्षी राखेर प्रतिबद्धता बाँडिरहेका छन्् ।



 

प्रकाशित : पुस १४, २०७० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?