थाई सरकारको निर्वाचन गराउने प्रतिबद्धता

बैंकक (एएफपी) — थाइल्यान्डमा आउँदो निर्वाचनमा सेना परिचालन गर्ने प्रधानमन्त्री यिंगलक सिनावात्राले संकेत दिएकी छन् । निर्वाचन आयोगले सुरक्षाको कारण स्थगित गर्न आग्रह गरेको थियो ।
प्रधानमन्त्री सिनावात्राले निर्वाचन आयोगको आग्रहलाई अस्वीकार गरेकी छन् । निर्वाचनविरोधी आन्दोलनका कारण बिहीबार दुईको ज्यान गएको छ । मारिनेमा एक प्रहरी पनि छन् ।अरू १ सय ५० घाइते भएका छन् । विपक्षीहरूले निर्वाचनविरुद्धमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्रीले निर्वाचनको प्रयोजनका लागि आवश्यक मात्रामा सेनाको प्रबन्ध गर्न निर्देशन दिने तयारी गरेकी छन् ।
उपप्रधानमन्त्री सुरापोङ टोभिछाकुलका अनुसार निर्वाचनका लागि दोस्रो चरणको उम्मेदवारी दर्ता गराउन सशस्त्र प्रहरी बललाई भनिसकिएको छ । निर्वाच्ानमै सुरक्षाका लागि सेनालाई निर्देशन दिइनेछ ।
सिनावात्राको सरकारले केही समययतादेखि देशमा व्यापक विरोधको सामना गरिरहेको छ । राजनीतिक शक्तिहरूमा अधिकांशले सरकारको समर्थन गरिरहेकोले सेना लगाएरै भए पनि निर्वाचन गर्ने तयारीमा सरकार छ ।
प्रकाशित : पुस १३, २०७० १०:४०