सरकारद्वारा मुसर्रफकी आमालाई स्वदेश फर्काउने प्रस्ताव- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारद्वारा मुसर्रफकी आमालाई स्वदेश फर्काउने प्रस्ताव

कान्तिपुर संवाददाता

इस्लामावाद (एजेन्सी) — पाकिस्तानी सरकारले शुक्रबार पूर्वराष्ट्रपति पर्वेज मुसर्रफकी बिरामी आमालाई स्वदेश फर्काउने प्रस्ताव राखेको छ । मुसर्रफमाथि अनेकौं फौजदारी मुद्दा चलेका छन् । उनलाई मुलुकबाहिर जान प्रतिबन्ध लगाइएको छ ।


पारमाणविक हतियार सम्पन्न पाकिस्तानमा सैनिक जनरल मुसर्रफको सन् १९९९ देखि २००८ सम्मको शासनकालका अनेकौं आरोपमा सुनुवाइ भइरहेको छ । उनीमाथि देशद्रोह तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा संलग्न रहेको आरोप छ ।
मुसर्रफमाथि फौजदारी अभियोगका कारण सरकार तथा शक्तिशाली सेनाबीच द्वन्द्व हुन सक्ने शंका गरिएको छ । यस्तो द्वन्द्व हुन नदिन मुसर्रफलाई उमेर ढल्केकी तथा बिरामी आमासँग भेट गर्न मुलुकबाहिर दुबईमा मानवीय कारणले जान दिइनुपर्ने सल्लाह दिइएको छ । मुसर्रफका कानुनी समूहले उनलाई स्वदेशबाहिर जान दिन अनुमति प्राप्त गर्न प्रयास गरेका थिए ।
सरकारले मुसर्रफको भाग्यको विषयमा न्यायाधीशहरूले निर्णय गर्नुपर्ने बताएको छ । उनी ९५ वषर्ीया आमालाई निरन्तर स्वास्थ्योपचारका लागि पाकिस्तान ल्याउन प्रस्ताव राखेको छ । सरकारको विज्ञप्तिमा मानवीय जिम्मेवारी पूरा गर्ने उद्देश्यले मुसर्रफकी आमालाई पाकिस्तान ल्याउन विशेष विमान वा एम्बुलेन्स पठाउन पाकिस्तानी प्रधानमन्त्री तयार रहेको भनिएको छ ।
देशद्रोहको आरोपमा मुसर्रफमाथिको सुनुवाइ बम आक्रमणको त्रासमा मंगलबार अगाडि बढ्न सकेन । यस विषयमा जनवरी १ मा सुनुवाइ हुने अनुमान गरिएको छ । मुसर्रफले सन् २००७ मा आपत्काल घोषणा गरेको विषयमा यी अभियोग लगाइएको हो र यस विषयमा उनी दोषी प्रमाणित भएमा  मृत्यदुण्ड वा आजीवन काराबास सजाय हुन सक्छ ।
उनको सहयोगी तथा कानुन व्यवसायीहरूले यो मुद्दा राजनीतिक कारणले अभिप्रेरित भएको र सरकार तथा अन्यले अदालतलाई आफ्नो पुरानो बदला लिन प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । सन् १९९९ मा मुसर्रफले गरेको सैनिक विद्रोहमा हाल तेस्रोपटक प्रधानमन्त्री भएका प्रधानमन्त्री नवाज सरिफ पदच्यूत भएका थिए ।


 

प्रकाशित : पुस १३, २०७० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

कस्तो रह्यो त २०१३ ?

जितेन्द्र साह

काठमाडौ — पश्चिमा क्यालेन्डरअनुरूप नयाँ वर्ष, २०१४ को आवागमन हुनै लागेको छ । विश्वभर यसको स्वागतका लागि तयारी जारी छ ।

योसँगै गत वर्ष भएका विभिन्न घटनाहरूको फरकफरक दृष्टिकोणले विश्लेषण पनि भइरहेको छ । कस्तो रह्यो त सन् २०१३ ? यो प्रश्न सुन्दा सरल लागे पनि यसको उत्तर सहज छैन । प्रकृति विपत्ति, आतंकवादको त्रास, साम्प्रादायिक हिंसा, गृहयुद्ध, राजनीतिक प्रतिशोध, यौन उत्पीडन, आन्तरिक कलह र अन्तरदेशीय संघर्षले गत वर्षलाई अठ्याइराख्यौं । विश्वभरि दैनिक हुने अथाह घटनामा सबैलाई केलाउन सकिन्न । केही घटना यस्ता थिए, जसले विश्व समाजलाई प्रभावित पारेका छन् ।
गत वर्षको सुरुवात नै त्रासबाट भयो । सन् २०१३ को फेब्रुअरी १५ मा खगोलीय गतिविधिको क्रममा रुसी सहर चेल्याविन्स्कको आकाशमा ठूलो चमकका साथ १० टनको पुच्छे्रतारा विस्फोट भयो । यो वैज्ञानिक चक्रमा उक्त उल्का पिण्डबाट उछिटिएका टुक्राहरू लागेर १ हजार घाइते भए भने थुप्रै घरका झ्याल फुटे । पोपको गतिविधिले पनि विश्वलाई छोयो । शारीरिक एवं मानसिक अक्षमताका कारण फेब्रुअरी २८ मा भ्याटिकन सिटीका पोप बेनेडिक्ट छैटौंले सेन्ट पिटर चर्च छाड्ने निर्णय गरेर सबैलाई चकित पारे । ५ सय ९८ वर्षपछि उक्त पदबाट राजीनामा दिने उनी पहिलो व्यक्तित्व बने । उनको ठाउँ लिएको अर्जेन्टिना मूलका पादरी जोर्ज मारियो बरगोगलियोले विकृतिविरुद्धको अडान र मानव सेवा भावका कारणले यस वर्ष टाइम म्यागजिनद्वारा वर्ष पुरुष 'म्यान अफ द इयर' सम्मान पाएर अर्को इतिहास रचे ।
गत २४ अपि्रलमा गार्मेन्ट कारखाना रहेको ढाकाको राना प्लाजा भत्किँदा भएको १ हजार १ सय श्रमिकको मृत्यु एक त्रासदीपूर्ण खबर थियो । केन्याको राजधानी नैरोबीस्थित सबभन्दा ठूलो सपिङ मल वेस्टगेटमा अल कायदाको सोमाली समूह अल सबाबको आक्रमणमा १३ मुलुकका ६७ जनाको हत्या अर्को अकल्पनीय खबर थियो । फ्रान्सले २८ जनवरीमा पश्चिम अफ्रिकाको मध्य भागमा मालीको टिम्बुक्टुबाट अल कायदा लडाकुलाई लखेट्यो । यसैगरी, पूर्वी अल्जेरियाको अमानासस्थित टिगान्टुरिन ग्यास प्लान्टमा अल कायदा आवद्ध आतंकवादीविरुद्धको कारबाहीमा बन्धक बनाइएकामा ६ बेलायतीसहित कम्तीमा ३९ विदेशी, एक अल्जेरियाली सुरक्षाकर्मी र २९ विद्रोहीको ज्यान गयो । आतंक र त्रासबीच यसमा १ सय ७ विदेशी र ६ सय ८५ अल्जेरियाली कामदारलाई मुक्त गरिएको थियो ।
उच्च स्तरका व्यक्तित्वहरूको यौनलीलाको चर्चा कहिल्यै कम भएन । इटालीका पूर्वप्रधानमन्त्री ७८ वर्षे सिल्भ्ियो बर्लुस्कोनीलाई वर्षभरि कर छली र यौनअपराधले पछ्यायो । आफ्नै निवासमा जुन २४ मा आयोजित बंगाबंगा पार्टीमा नाबालिग नर्तकी रुबीसँगको यौन समागम र एक घटनामा उनलाई छाड्न प्रहरीलाई दबाब दिएकोमा ७ वर्ष जेल सजाय पाए । अपिल गरेर तत्कालै जमानतमा रिहा भए पनि उनले वर्षभरि सम्मानका लागि लडे । केही सेलिब्रेटी पत्रकार र साधुसन्तको मुद्दा अदालतमा विचाराधीन छ । राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य हेरचाहसम्बन्धी बिलमा सत्ताधारी र विपक्षीबीच सहमति अभावमा आर्थिक वर्षको बजेट पारित नहुँदा अक्टोबर १ देखि १६ सम्म अमेरिकाको संघीय सरकार ठप्प हुँदा पूरा विश्वलाई चिन्तित बनायो । त्यहाँ सन् १९९५/९६ मा २१ दिन र सन १९७८ मा १८ दिन सरकारको कामकाज रोकिएको थियो ।
२०१४ को फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक खेल अगाडि रुसको छवि सुधार्ने प्रयासमा पुटिनले आममाफी सम्बन्धी कानुन ल्याए । यसअनुरूप उनले आफ्नो विरोध गरेपश्चात जेल गएकी युवा सांगीतिक समूह 'पुसी रायट' का दुई महिला सदस्य र खर्बपति व्यापारी मिखाइल खोदोर्कोभ्स्कीलाई रिहा गरे । त्यहाँको जेलमा रहेका २३ हजारमध्ये १ हजारलाई उक्त आममाफी अन्तर्गत छाडिने भनिएको छ । अटलान्टिक महासागरस्थित फकल्यान्डबासीले मार्च १० मा भएको जनमत संग्रहमा बेलायती रहने पक्षमा मतदान गरे ।
अर्जेन्टिनाले फकल्यान्ड युद्धको ३१ वर्षपछि उक्त क्षेत्र आफ्नो भएको भनेपछि जनमत संग्रह भएको थियो । अमेरिकामा अपि्रल १५ मा आयोजित बोस्टन म्याराथनमा दुई प्रेसर कुकर बम विस्फोट हुँदा तीन दर्शकको ज्यान गयो भने २ सय ५० घाइते भए । १६ जनाले खुट्टा गुमाए । यसमा सहभागी चेचेन मुलका दाई २६ वर्षे तामेरलान प्रहरी कारबाहीमा मारिए भने भाइ १९ वर्षे डोखारलाई पक्राउ गरियो ।
इजिप्टको सेनाले जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीर्को दल मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गरेपछि उसको हजारौं कार्यक्रता पक्राउ गर्‍यो । चीनमा गत वर्ष राजनीतिक रूपले निकै उथलपुथल मुलक रह्यो । सबभन्दा शक्तिशाली नेता बो सीलाई भ्रष्टाचार मुद्दामा मुछिएपछि नयाँ शक्तिको रूपमा सी जिनपिङ राष्ट्रपति भए । श्रीमती गु केलाईलाई बेलायती मित्र र व्यावसायिक पार्टनर निल उडको हत्यापछि बो पनि विवादित बनेका थिए । बोमाथि पनि प्रमाण मेटेको, शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचारमा सहयोगीको अभियोग लाग्यो । उनलाई अन्ततः नोभेम्बर २२ मा आजीवन काराबासको सजाय भयो ।
दक्षिण अमेरिकी देश चिलीमा वामपन्थी गठबन्धनकी मिसेल बेसलेट दोस्रोपटक र निकै लामो राजनीतिक अभ्यासपछि जर्मर्नीको संसद्ले ५९ वर्षे एन्जेला मार्केललाई तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचित भइन् ।
यो वर्ष भारतका प्रतिष्ठित पत्रिका तहल्काका पूर्वप्रधान सम्पादक ५० वर्षे तरुण तेजपाललाई नोभेम्बरको अन्तिम सातातिर यौन उत्पीडनको आरोपमा पक्राउ परेर थुनामा जानुपर्‍यो । शक्तिको दुरुपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका उनी यो वर्ष विश्वभरि
चर्चामा रहे ।
सन् २०११ को १५ मार्चदेखि सुरु भएको सिरियाली युद्धमा गत वर्ष प्राणघातक रासायनिक हतियार प्रयोगको विषय सर्वाधिक चर्चामा रह्यो । त्यहाँको गृहयुद्धमा हालसम्म १ लाख २६ हजार भन्दा बढी नागरिकको मृत्यु भयो भने २४ लाख भन्दा बढी जनता शरणार्थी भए । गत वर्षको मेमा भएको निर्वाचनमा सहभागी हुन एक महिना अगाडि मार्चमै केही वर्षको निर्वासनपछि स्वदेश फर्केका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल ७० वर्षे पर्वेज मुसर्रफविरुद्ध सरकारले हत्या र देशद्रोहको मुद्दा लगाएको छ । उनी आफ्नै घरमा नजरबन्द छन् । पूर्वगुप्तचर कर्मचारी ३१ वर्षे एडवार्ड जोसेफ स्नोडेनले अमेरिकाको पोल खोलेर थप तनाव सिर्जना गरे । अमेरिकाले विभिन्न देशका नागरिक र राष्ट्र प्रमुखको टेलिफोन रेकर्ड गरेको सार्वजनिक गरेर विश्वभरि खैलाबैला मचाए । राष्ट्रपति ओबामाले जनताले गोपनीयताको अधिकारबारे माग गरेको अवस्थामा एनएसएको व्यापक शक्तिमा सम्भावित परिवर्तनका विषयमा छलफललाई स्वागत गरिनेसम्म भन्नुपर्‍यो ।
विश्वको हरेक मुद्दामा एक-अर्कालाई सहयोग गर्दै आएको भारत र अमेरिकाबीचको सम्बन्ध डिसेम्बरको अन्त्यतिर नराम्ररी प्रभावित बन्यो । एक घरेलु कामदारलाई शोषण गरेको र उसको बारेमा गलत सूचना दिएको आरोपमा न्युयोर्कस्थित भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेलाई पक्राउ गरी निर्वस्त्र खानतलास गरिएपछि दुवै मुलुकबीच पानी बरोबरको अवस्था आएको हो । यो मुद्दामा भारतमा अमेरिकाको कडा विरोध भयो । भारतीय अधिकाहरूले यो प्रकरणलाई लिएर दुवै मुलुकबीच सम्बन्ध बिग्रन नदिन सचेत रहेको प्रतिक्रिया दिएका छन् ।
देवयानीसँग सुरक्षा अधिकाले गरेको अभद्र व्यवहारप्रति अमेरिकाले भारतसँग क्षमा मागिसकेको छ । अर्कोतिर भारतमा ४४ वर्षपछि भ्रष्टाचारविरोधी जनलोकपाल बिललाई तल्लो सदन लोकसभाले गत १८ डिसेम्बरमा पारित गर्‍यो । यो प्रधानमन्त्री, मन्त्री र केन्द्रीय जाँच ब्युरो (सीबीई) लाई समेत आफ्नो अधीनमा राख्ने यो सार्वभौमसम्पन्न विधेयक हो ।
भियतनामलेे डिसेम्बर १५ देखि र्‍याफटिङ र समुद्रमा गरिने जोखिमपूर्ण काम, पचास किलोभन्दा बढीको तौल उचाल्ने, घाट र मानवका शव व्यवस्थापन एवं मृत्यु संस्कारसँग सम्बन्धित काममा महिलालाई प्रतिबन्ध लगायो । यो वर्षको ५ मार्चमा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, ८ अपि्रलमा बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थाचर र डिसेम्बर २३ मा एके-४७ राइफलका अविस्कारक रुसका मिखाइल कालासनिकोभ लगायत थुप्रै चर्चित व्यक्तित्वले संसारबाट बिदा लिए । तीमध्ये दक्षिण अफ्रिकी मुलुकका विश्व विख्यात नेता नेल्सन मन्डेलाले ५ डिसेम्बरमा अन्तिम श्वास लिएपछि विश्व नै शोकमग्न भयो ।


प्रकाशित : पुस १३, २०७० १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×