कस्तो रह्यो त २०१३ ?

जितेन्द्र साह

काठमाडौ — पश्चिमा क्यालेन्डरअनुरूप नयाँ वर्ष, २०१४ को आवागमन हुनै लागेको छ । विश्वभर यसको स्वागतका लागि तयारी जारी छ ।

योसँगै गत वर्ष भएका विभिन्न घटनाहरूको फरकफरक दृष्टिकोणले विश्लेषण पनि भइरहेको छ । कस्तो रह्यो त सन् २०१३ ? यो प्रश्न सुन्दा सरल लागे पनि यसको उत्तर सहज छैन । प्रकृति विपत्ति, आतंकवादको त्रास, साम्प्रादायिक हिंसा, गृहयुद्ध, राजनीतिक प्रतिशोध, यौन उत्पीडन, आन्तरिक कलह र अन्तरदेशीय संघर्षले गत वर्षलाई अठ्याइराख्यौं । विश्वभरि दैनिक हुने अथाह घटनामा सबैलाई केलाउन सकिन्न । केही घटना यस्ता थिए, जसले विश्व समाजलाई प्रभावित पारेका छन् ।
गत वर्षको सुरुवात नै त्रासबाट भयो । सन् २०१३ को फेब्रुअरी १५ मा खगोलीय गतिविधिको क्रममा रुसी सहर चेल्याविन्स्कको आकाशमा ठूलो चमकका साथ १० टनको पुच्छे्रतारा विस्फोट भयो । यो वैज्ञानिक चक्रमा उक्त उल्का पिण्डबाट उछिटिएका टुक्राहरू लागेर १ हजार घाइते भए भने थुप्रै घरका झ्याल फुटे । पोपको गतिविधिले पनि विश्वलाई छोयो । शारीरिक एवं मानसिक अक्षमताका कारण फेब्रुअरी २८ मा भ्याटिकन सिटीका पोप बेनेडिक्ट छैटौंले सेन्ट पिटर चर्च छाड्ने निर्णय गरेर सबैलाई चकित पारे । ५ सय ९८ वर्षपछि उक्त पदबाट राजीनामा दिने उनी पहिलो व्यक्तित्व बने । उनको ठाउँ लिएको अर्जेन्टिना मूलका पादरी जोर्ज मारियो बरगोगलियोले विकृतिविरुद्धको अडान र मानव सेवा भावका कारणले यस वर्ष टाइम म्यागजिनद्वारा वर्ष पुरुष 'म्यान अफ द इयर' सम्मान पाएर अर्को इतिहास रचे ।
गत २४ अपि्रलमा गार्मेन्ट कारखाना रहेको ढाकाको राना प्लाजा भत्किँदा भएको १ हजार १ सय श्रमिकको मृत्यु एक त्रासदीपूर्ण खबर थियो । केन्याको राजधानी नैरोबीस्थित सबभन्दा ठूलो सपिङ मल वेस्टगेटमा अल कायदाको सोमाली समूह अल सबाबको आक्रमणमा १३ मुलुकका ६७ जनाको हत्या अर्को अकल्पनीय खबर थियो । फ्रान्सले २८ जनवरीमा पश्चिम अफ्रिकाको मध्य भागमा मालीको टिम्बुक्टुबाट अल कायदा लडाकुलाई लखेट्यो । यसैगरी, पूर्वी अल्जेरियाको अमानासस्थित टिगान्टुरिन ग्यास प्लान्टमा अल कायदा आवद्ध आतंकवादीविरुद्धको कारबाहीमा बन्धक बनाइएकामा ६ बेलायतीसहित कम्तीमा ३९ विदेशी, एक अल्जेरियाली सुरक्षाकर्मी र २९ विद्रोहीको ज्यान गयो । आतंक र त्रासबीच यसमा १ सय ७ विदेशी र ६ सय ८५ अल्जेरियाली कामदारलाई मुक्त गरिएको थियो ।
उच्च स्तरका व्यक्तित्वहरूको यौनलीलाको चर्चा कहिल्यै कम भएन । इटालीका पूर्वप्रधानमन्त्री ७८ वर्षे सिल्भ्ियो बर्लुस्कोनीलाई वर्षभरि कर छली र यौनअपराधले पछ्यायो । आफ्नै निवासमा जुन २४ मा आयोजित बंगाबंगा पार्टीमा नाबालिग नर्तकी रुबीसँगको यौन समागम र एक घटनामा उनलाई छाड्न प्रहरीलाई दबाब दिएकोमा ७ वर्ष जेल सजाय पाए । अपिल गरेर तत्कालै जमानतमा रिहा भए पनि उनले वर्षभरि सम्मानका लागि लडे । केही सेलिब्रेटी पत्रकार र साधुसन्तको मुद्दा अदालतमा विचाराधीन छ । राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य हेरचाहसम्बन्धी बिलमा सत्ताधारी र विपक्षीबीच सहमति अभावमा आर्थिक वर्षको बजेट पारित नहुँदा अक्टोबर १ देखि १६ सम्म अमेरिकाको संघीय सरकार ठप्प हुँदा पूरा विश्वलाई चिन्तित बनायो । त्यहाँ सन् १९९५/९६ मा २१ दिन र सन १९७८ मा १८ दिन सरकारको कामकाज रोकिएको थियो ।
२०१४ को फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक खेल अगाडि रुसको छवि सुधार्ने प्रयासमा पुटिनले आममाफी सम्बन्धी कानुन ल्याए । यसअनुरूप उनले आफ्नो विरोध गरेपश्चात जेल गएकी युवा सांगीतिक समूह 'पुसी रायट' का दुई महिला सदस्य र खर्बपति व्यापारी मिखाइल खोदोर्कोभ्स्कीलाई रिहा गरे । त्यहाँको जेलमा रहेका २३ हजारमध्ये १ हजारलाई उक्त आममाफी अन्तर्गत छाडिने भनिएको छ । अटलान्टिक महासागरस्थित फकल्यान्डबासीले मार्च १० मा भएको जनमत संग्रहमा बेलायती रहने पक्षमा मतदान गरे ।
अर्जेन्टिनाले फकल्यान्ड युद्धको ३१ वर्षपछि उक्त क्षेत्र आफ्नो भएको भनेपछि जनमत संग्रह भएको थियो । अमेरिकामा अपि्रल १५ मा आयोजित बोस्टन म्याराथनमा दुई प्रेसर कुकर बम विस्फोट हुँदा तीन दर्शकको ज्यान गयो भने २ सय ५० घाइते भए । १६ जनाले खुट्टा गुमाए । यसमा सहभागी चेचेन मुलका दाई २६ वर्षे तामेरलान प्रहरी कारबाहीमा मारिए भने भाइ १९ वर्षे डोखारलाई पक्राउ गरियो ।
इजिप्टको सेनाले जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीर्को दल मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गरेपछि उसको हजारौं कार्यक्रता पक्राउ गर्‍यो । चीनमा गत वर्ष राजनीतिक रूपले निकै उथलपुथल मुलक रह्यो । सबभन्दा शक्तिशाली नेता बो सीलाई भ्रष्टाचार मुद्दामा मुछिएपछि नयाँ शक्तिको रूपमा सी जिनपिङ राष्ट्रपति भए । श्रीमती गु केलाईलाई बेलायती मित्र र व्यावसायिक पार्टनर निल उडको हत्यापछि बो पनि विवादित बनेका थिए । बोमाथि पनि प्रमाण मेटेको, शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचारमा सहयोगीको अभियोग लाग्यो । उनलाई अन्ततः नोभेम्बर २२ मा आजीवन काराबासको सजाय भयो ।
दक्षिण अमेरिकी देश चिलीमा वामपन्थी गठबन्धनकी मिसेल बेसलेट दोस्रोपटक र निकै लामो राजनीतिक अभ्यासपछि जर्मर्नीको संसद्ले ५९ वर्षे एन्जेला मार्केललाई तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचित भइन् ।
यो वर्ष भारतका प्रतिष्ठित पत्रिका तहल्काका पूर्वप्रधान सम्पादक ५० वर्षे तरुण तेजपाललाई नोभेम्बरको अन्तिम सातातिर यौन उत्पीडनको आरोपमा पक्राउ परेर थुनामा जानुपर्‍यो । शक्तिको दुरुपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका उनी यो वर्ष विश्वभरि
चर्चामा रहे ।
सन् २०११ को १५ मार्चदेखि सुरु भएको सिरियाली युद्धमा गत वर्ष प्राणघातक रासायनिक हतियार प्रयोगको विषय सर्वाधिक चर्चामा रह्यो । त्यहाँको गृहयुद्धमा हालसम्म १ लाख २६ हजार भन्दा बढी नागरिकको मृत्यु भयो भने २४ लाख भन्दा बढी जनता शरणार्थी भए । गत वर्षको मेमा भएको निर्वाचनमा सहभागी हुन एक महिना अगाडि मार्चमै केही वर्षको निर्वासनपछि स्वदेश फर्केका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल ७० वर्षे पर्वेज मुसर्रफविरुद्ध सरकारले हत्या र देशद्रोहको मुद्दा लगाएको छ । उनी आफ्नै घरमा नजरबन्द छन् । पूर्वगुप्तचर कर्मचारी ३१ वर्षे एडवार्ड जोसेफ स्नोडेनले अमेरिकाको पोल खोलेर थप तनाव सिर्जना गरे । अमेरिकाले विभिन्न देशका नागरिक र राष्ट्र प्रमुखको टेलिफोन रेकर्ड गरेको सार्वजनिक गरेर विश्वभरि खैलाबैला मचाए । राष्ट्रपति ओबामाले जनताले गोपनीयताको अधिकारबारे माग गरेको अवस्थामा एनएसएको व्यापक शक्तिमा सम्भावित परिवर्तनका विषयमा छलफललाई स्वागत गरिनेसम्म भन्नुपर्‍यो ।
विश्वको हरेक मुद्दामा एक-अर्कालाई सहयोग गर्दै आएको भारत र अमेरिकाबीचको सम्बन्ध डिसेम्बरको अन्त्यतिर नराम्ररी प्रभावित बन्यो । एक घरेलु कामदारलाई शोषण गरेको र उसको बारेमा गलत सूचना दिएको आरोपमा न्युयोर्कस्थित भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेलाई पक्राउ गरी निर्वस्त्र खानतलास गरिएपछि दुवै मुलुकबीच पानी बरोबरको अवस्था आएको हो । यो मुद्दामा भारतमा अमेरिकाको कडा विरोध भयो । भारतीय अधिकाहरूले यो प्रकरणलाई लिएर दुवै मुलुकबीच सम्बन्ध बिग्रन नदिन सचेत रहेको प्रतिक्रिया दिएका छन् ।
देवयानीसँग सुरक्षा अधिकाले गरेको अभद्र व्यवहारप्रति अमेरिकाले भारतसँग क्षमा मागिसकेको छ । अर्कोतिर भारतमा ४४ वर्षपछि भ्रष्टाचारविरोधी जनलोकपाल बिललाई तल्लो सदन लोकसभाले गत १८ डिसेम्बरमा पारित गर्‍यो । यो प्रधानमन्त्री, मन्त्री र केन्द्रीय जाँच ब्युरो (सीबीई) लाई समेत आफ्नो अधीनमा राख्ने यो सार्वभौमसम्पन्न विधेयक हो ।
भियतनामलेे डिसेम्बर १५ देखि र्‍याफटिङ र समुद्रमा गरिने जोखिमपूर्ण काम, पचास किलोभन्दा बढीको तौल उचाल्ने, घाट र मानवका शव व्यवस्थापन एवं मृत्यु संस्कारसँग सम्बन्धित काममा महिलालाई प्रतिबन्ध लगायो । यो वर्षको ५ मार्चमा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, ८ अपि्रलमा बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थाचर र डिसेम्बर २३ मा एके-४७ राइफलका अविस्कारक रुसका मिखाइल कालासनिकोभ लगायत थुप्रै चर्चित व्यक्तित्वले संसारबाट बिदा लिए । तीमध्ये दक्षिण अफ्रिकी मुलुकका विश्व विख्यात नेता नेल्सन मन्डेलाले ५ डिसेम्बरमा अन्तिम श्वास लिएपछि विश्व नै शोकमग्न भयो ।


प्रकाशित : पुस १३, २०७० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

संसारको एक वर्ष

जितेन्द्र साह

काठमाडौ — बाढी, आँधी र भुइँचालोलगायतका प्राकृतिक प्रकोपको बितेको वर्ष २०१३ लाई छाडेनन् ।

मन्दी र महँगीले थलिएका विश्वभरका जनताहरू सडकमा आएर चर्किए । केही दुःखद खबरहरू पनि सुन्नुपर्‍यो । ५ डिसेम्बरमा दक्षिण अपि|mकाका रंगभेदविरोधी नेता नेल्सन मन्डेलाले ९४ वर्षको उमेरमा र ८ अपि्रलमा बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले ८७ वर्षको उमेरमा संसार छाडिन् । सन् २०१२ को ९ अक्टोबरमा तालेबानी आतंकवादीले गोली हानेका पाकिस्तानकी बालिका मलाला युसुफजाई गत वर्ष शक्तिशाली व्यक्तित्वको रूपमा उदाइन् । अन्य महिनाको तुलनामा डिसेम्बरमा धेरै महत्त्वपूर्ण घटनाहरू भए । यो वर्ष साँच्चिकै 'डिसेम्बेर डोमिनेटेड' रह्यो । यी परिदृश्यहरूलाई बुझ्न विगतका केही घटनाहरूलाई नियाल्न आवश्यक छ ।    
सानामा अस्पतालमा आक्रमण ः अलकायदाले ५ डिसेम्बरमा यमनको राजधानी सानास्थित रक्षा मन्त्रालय परिसरको अल ओरादी अस्पतालमा आक्रमण गर्‍यो । उनीहरूले चिकित्सक र बिरामीको समेत परवाह गरेनन् । यो घटनामा ६ चिकित्सक, चार बिरामी र अन्य ४८ को मृत्यु भयो । संक्रमणकालीन राजनीतिक अवस्थाबाट गुजि्ररहेको यमनमा यस्तो घटना नौंलो नभए पनि अस्पताललाई समेत नछाडिएकोले पूरा विश्वलाई मर्माहत बन्यो ।
जोखिममै रहे पत्रकार ः यो वर्षको अन्त्यतिर डिसेम्बर २३ मा इराकको राजधानी बग्दादको उत्तरी भागस्थित सालाहेदिन टेलिभिजन स्टेसनमै भएको विस्फोटमा सम्पादक, समाचार सम्पादक, उत्पादक, प्रस्तोता र अभिलेख व्यवस्थापकसहित पाँच सञ्चारकर्मीको ज्यान गयो । अलकायदाकै एक गुटले इस्लामी राज्यको विरुद्धमा खबरहरू दिएकोमा यो काण्ड गराएको दाबी गर्‍यो । अमेरिकामा मुख्य कार्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट -सीपीजे) ले सन् २०१३ लाई कारागारमा रहेका पत्रकारका लागि दोस्रो सबैभन्दा नराम्रो वर्ष ठहर गर्‍यो । उसको अनुसार गत वर्ष ५२ पत्रकारको कार्यक्षेत्रमा हत्या भयो । सन २०१२ मा यो संख्या ७३ थियो । गत वर्ष २ सय ११ पत्रकारलाई कारागारमा राखियो । २०१२ मा विश्वमा २ सय ३२ पत्रकारलाई कारागारमा राखिएको थियो ।
थाइल्यान्डमा सबै सडकमा ः प्रधानमन्त्री यिङलक सिनावात्राको राजीनामाको माग गरिरहेका थाइल्यान्डका मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी यो वर्ष सडक केन्दि्रत रह्यो । उसले यिङलक सत्ताबाट नहटे फेब्रुअरी २ मा हुने निर्वाचन असफल बनाइदिने चेतावनी दिएको छ । सरकारले निर्वाचन नरोकिने र विपक्षीले हुन नदिने भनेकाले त्यहाँको राजनीतिक अवस्था डामाडोल छ । सबै विपक्षीले राजीनामा दिएपछि प्रधानमन्त्री यिङलकले संसद्को विघटन गरी निर्वाचनको घोाषणा गरेकी हुन् । यो अस्थिरताको मुख्य कारण चाहिं त्यहाँ गत महिनामात्र ल्याइएको आममाफीसम्बन्धी कानुन थियो । यो प्रधानमन्त्री यिङलकले दाजु एवं पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी दिने प्रयोजनका लागि ल्याएको विपक्षीको आरोप छ । थाक्सिन हाल भ्रष्टाचार अभियोगमा निर्वासनमा छन् ।
चीनको चन्द्रमा लक्ष्य ः जापानसँग टापु विवादमा वर्षभरि अल्झेको चीनले डिसेम्बरमा चाङ ई-३ रोवर मिसनलाई चन्द्रमाको सतहमा पुर्‍यायो । डिसेम्बर पहिलो साता पृथ्वीबाट उडेको उक्त मिसन चन्द्रमाको उत्तरी गोलार्द्धमा ज्वालामुखीको पठार इलाकामा अवतरण गर्‍यो । यो चन्द्रमाको सतहमा पुग्ने तेस्रो र ४० वर्षमा पहिलो मानवरहित रोवर मिसन हो । यसमा माटो र चट्टानबारे जानकारी लिन सक्ने राडार छ । यसको लक्ष्य चन्द्रमामा खनिज पदार्थको खोजी गरेर भविष्यमा उत्खनन गर्नु हो । चन्द्रमाको सतहका नमुनाहरू सन् २०१७ सम्ममा पृथ्वीमा ल्याउने चिनियाँ योजना छ । भारतले पनि यसअघि नोभेम्बरमा महत्त्वाकांक्षी योजनाअनुरूप थप खोज गर्ने चाहनाका साथ मंगलग्रह -मार्स) मा यान पठायो ।  
सुडान हिंसामै ः दुई वर्षअघि जनमत संग्रहबाट उत्तरबाट छुट्टएिर बनेको नयाँ मुलुक दक्षिण सुडानमा डिसेम्बरकै तेस्रो साता सत्ता र विपक्षी पक्षबीच हिंसा सुरु भयो । तेलका भण्डारयुक्त मुलुकको भिडन्तहरूमा हजारौंको ज्यान गएको हुन सक्ने राष्ट्रसंघले जनाएको छ । उसले यही कारणले त्यहाँ शान्ति सेना दुई गुणा बढाएर १२ हजार ५ सय पुर्‍याएको छ । अमेरिका र बेलायतले राजधानी जुवाबाट आफ्ना कर्मचारी र नागरिकलाई सुरक्षित स्थानमा लगिसकेका छन् ।
ओबामा र क्यास्ट्रोको हस्त मिलन ः दक्षिण अपि|mकाका पूर्वराष्ट्रपति तथा स्वतन्त्रतावादी नेता नेल्सन मन्डेलाको अन्येष्टिमा विश्वका धेरै राजनेता, सरकार प्रमुख र नागरिकको ध्यान तानियो । १० डिसेम्बरमा जोहानसवर्गमा भएको मण्डेलाको स्मृति सभामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दीर्घकालीन शत्रु क्युबाका नेता राउल क्यास्ट्रोसँग हात मिलाए । उनले मञ्चमा सम्बोधनका लागि जाने क्रममा स्वयं हात बढाएका थिए । शत्रुसँग पनि मित्रता गर्ने चाहना राख्ने ओबामाको यो रूपलाई शान्तिप्रेमी विश्वले निकै मन परायो । अमेरिकाले कम्युनिस्ट मुलुक क्युबामाथि पाँच दशकदेखि प्रतिबन्ध लगाउँदै आएको छ । यसअघि सेप्टेम्बरमा ओबामाले इरानी राष्ट्रपति हसन रुहानीसँग टेलिफोनमा वार्ता गरेका थिए । इरानमा सन् १९७९ मा इस्लामी क्रान्ति भएपछि अमेरिकी राष्ट्रपतिले इरानी राष्ट्रपतिसँग कुरा गरेको त्यो पहिलोपटक थियो ।
उत्तरकोरियामा उनकै डम्फु ः यो वर्ष दक्षिण कोरियासँग युद्धकै मुखमा पुगिसकेको उत्तरकोरियाले आफ्नै एक नेतालाई १३ डिसेम्बरमा मृत्युदण्ड दियो । सत्ता र शक्तिबीच उत्पन्न शंकामा युवा नेता किम जोङ उनले आफ्ना शक्तिशाली फुपाजु ६७ वर्षे चाङ सोङ थाकलाई झुन्ड्याएरै छाडे, त्यो पनि उनलाई देशद्रोह र भ्रष्टाचारको अभियोग लगाएर । थाकमाथि सत्ताको सर्वोच्च पदमा पुग्नलाई गुटबन्दी गरेर सरकार ढाल्न खोजेको आरोप लगाइएको थियो । चीनसँग सम्बन्ध सुधार्ने अभिभारा पाएका उनी सैनिक आयोगमा पनि उच्च पदमा थिए ।
बंगलादेसमा फाँसी ः गत वर्षभरि नै सत्तापक्ष र विपक्षीको झगडामा अस्थिर बनेको बंगलादेशको इतिहासमा यो वर्ष निकै संवेदनशील रह्यो । आक्रामक सरकारले कट्टरपन्थी इस्लामी नेता ६५ वर्षे अब्दुल कादर मुल्लाहलाई राजधानी ढाकास्थित केन्द्रीय कारागारमा झुन्ड्यायो । सशक्त विपक्षी जमात ए इस्लामी पार्टीका सहायक महासचिव नेता मुल्लाह बंगलादेशमा यो अभियोगमा मृत्युदण्ड पाउने पहिलो व्यक्ति बनेका छन् । उनीमाथि सन १९७१ मा भएको स्वतन्त्रता संघर्षमा पाकिस्तानको पक्षमा युद्ध गरी केही सम्मानित प्राध्यापक, चिकित्सक, लेखक तथा पत्रकारको हत्या गरेको आरोप थियो ।
समलिंगी विहेको विवाद ः यो वर्षको अन्त्यतिर भारत र अस्टे्रलियामा समलिंगी बिहेको विपक्षमा उच्च न्यायिक निकायले फैसला गर्‍यो, जसको दुवै मुलुकका जनताद्वारा चर्को विरोध भयो । यसकै भोलिपल्ट १२ डिसेम्बरमा अस्टे्रलियाको क्यानबेरा उच्च न्यायालयले समलिंगी बिहेका लागि अनुमति दिने स्थानीय कानुनविरुद्ध फैसला गर्‍यो । गत अपि्रलमा समलिंगी विहेलाई कानुनी मान्यता दिने न्युजिल्यान्ड एसिया प्रशान्त क्षेत्रको पहिलो मुलुक बनेको थियो । क्यानाडा, प|mान्स, अर्जेन्टिना र दक्षिण अपि|mकासहित केही मुलुकमा पनि यस्तो बिहेलाई वैधता छ ।
सिरियामा अझै बिचल्ली ः सन् २०११ को १५ मार्चदेखि सुरु भएको सिरियाली युद्धमा गत वर्ष प्राणघातक रासायनिक हतियार प्रयोगको विषय सर्वाधिक चर्चामा रह्यो । राजधानी दमास्कसको नजिकै डुमाको घोउटामा अगस्त २१ मा हानिकारक ग्यास प्रहारमा महिला र बालबालिकासहित कम्तीमा १ हजार ४ सयको ज्यान गयो । यसलाई २१ औं शताब्दीको सबभन्दा निकृष्ट आक्रमण भनियो । आक्रमणमा राष्ट्र संघले आफ्नो प्रतिवेदनमा त्यस्तो हतियार प्रयोग गर्नेमाथि कारबाही हुनुपर्ने माग गर्यो । सिरियाको रासायनिक हतियारको भण्डारबाट तर्सेको अमेरिकाले आफ्नो सेनालाई झन्डै आक्रमणको आदेश दिइसकेको थियो । रुसले मध्यस्थता गरेर मित्र मुलक सिरियाको उक्त भण्डार पारदर्शी ढंगले नष्ट गर्ने भनेपछि युद्ध टरेको हो । अहिले राष्ट्र संघ विशेषज्ञहरूले त्यहाँको लगभग सबै हतियार नष्ट गरिसकेको छ ।
आफ्नै जालमा मुसर्रफ ः गत वर्षको मेमा भएको निर्वाचनमा सहभागी हुन एक महिनाअगाडि मार्चमै केही वर्षको निर्वासनपछि स्वदेश फर्केका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल परवेज मुसर्रफको अवस्था चोकटा खान गएकी बूढी झोलमा डुबेर मरीजस्तै भएको छ । सरकारले ७० वर्षे मुसर्रफविरुद्ध हत्या र देशद्रोहको मुद्दा लगाएको छ । उनी दुई हजार अमेरिकी डलर बराबरको रकम अदालतमा जम्मा गरेर जमानतमा रिहा भए पनि आफ्नै घरमा नजरबन्द छन् । उनलाई सन् २००६ मा बलुचिस्तानका विद्रोही नेता नबाज अक्बर बुग्टा र सन् २००७ मा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या आरोपमा नजरबन्द गरिएको हो । उनले मुलुकमै बसेर संघर्ष गर्ने बताएका छन् । उनी सन्् १९९९ देखि २००८ सम्म सत्तामा थिए । सैनिक जर्नेल रहेका उनले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताच्यूत गरेर शक्तिमा आएका थिए । मेमा भएको निर्वाचन परिणामले सरिफलाई प्रधानमन्त्री बनाएको छ ।  
अमेरिकी गुप्तचरको करामत ः आफ्नै पूर्वगुप्तचर कर्मचारी ३१ वर्षे एडवार्ड जोसेफ स्नोडेनले अमेरिकालाई यो वर्षभर नै हैरान पारे । उनी अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी -सीआईए) र राष्ट्रिय सुरक्षा निकाय -एनएसए) सँग आवद्ध थिए । अमेरिकाले विभिन्न देशका नागरिक र राष्ट्र प्रमुखको टेलिफोन रेकर्ड गरेको खुलासा गरेर आफ्नो मुुलुकलाई थप समस्यामा पारे । यो खुलासाले अमेरिकाको निकट मुलुकसँग सम्बन्ध मात्र चिस्सिएन, सार्वजनिक रूपले माफी माग्नुपर्‍यो । राष्ट्रपति बाराक ओबामाले गुप्तचर निकायलाई काम गर्ने शैली परिवर्तन गर्न आदेशसमेत दिनुपर्यो । अमेरिकामा गम्भीर फौजदार आरोप लागेपछि स्नोडेन २३ जुनदेखि रुसमा शरण लिइरहेका छन् । उनलाई शरण दिएर रुसले अमेरिकासँगको कूटनीतिक सम्बन्ध जोखिममा पारेको छ । स्नोडेनले विश्वभरका जनताको गोपनीयताको हकको प्रत्याभूति गराउने आफ्नो मिसन सफल भएको बताएका छन् ।  
बंगलादेशको दुर्घटना ः पश्चिमा संसार र बेलायतका गल्लीगल्लीमा लुगा निर्यात गर्नेहरूका लागि गत वर्षको अपि्रल २४ सबभन्दा दुःखद दिन हुन पुग्यो । गार्मेन्ट कारखाना क्षेत्रमा  रहेको अवैध ढंगले निर्माण गरिएको ढाकाको राना प्लाजा भत्किँदा १ हजार १ सय श्रमिकको ज्यान गयो । विदेशी सहयोग नलिँदा बेलामा उद्धार नहुँदा धेरैको ज्यान गएकोमा यसको लागि बंगलादेश सरकारको निकै आलोचना भयो । भग्नावशेषमा फँसेको बेला एक महिलाले शिशुलाई जन्म दिइन् भने उच्च तापक्रममा बिनापानी ७२ घन्टासम्म पुरिएर पनि ४० जना सकुशल बचे ।   
नैरोबीको मल आक्रमण ः केन्याको राजधानी नैरोबीस्थित सबभन्दा ठूलो सपिङ मल वेस्टगेटमा अल कायदाको सोमाली समूह अल सबाबले आक्रमण गरेर कम्तीमा ६ बेलायतीसहित १३ मुलुकका ६७ को हत्या गर्‍यो । दुई सयभन्दा बढी घाइते भए । शनिबार दिउँसो ग्राहकले भरिभराउ उक्त मलमा एक महिला आतंकवादीसहित चार जनाले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । स्थानीयवासीले बहादुरी देखाउँदै हजारौंलाई त्यहाँबाट उद्धार गरेका थिए । आतंकवादी प्रवेश गरेको मलको चौथो तल्लालाई नियन्त्रणम लिन सुरक्षा बललाई चार दिन लागेको थियो । चार आतंककारी पनि त्यहींको भग्नावशेषमा पुरिएर मरे । सरकारी सेनाले कारबाहीको क्रममा पसल लुटेको समेत सार्वजनिक भयो ।  
फिलिपिन्समा आँधी ः मध्य फिलिपिन्समा नोभेम्बर ८ को हायान आँधीले त्रासदीका थुप्रै कथाहरू छाडेर गयो । यसले त्यहाँको दुई सुन्दर द्वीप लेट र समरलाई सखाप पार्‍यो । घर, विद्यालय, गाडी र जीवनलाई उडाएर लग्यो । डिसेम्बरसम्म त्यहाँ ६ हजारको शव फेला परेको र १ हजार ७ सय अझैं हराइरहेको खुलासा भएको छ । जलवायु परिवर्तनका कारणले आएको यो आँधीलाई लिएर विश्वव्यापी बहस सुरु भयो ।
मुर्सीको दल आतंककारी घोषित ः इजिप्टको सेनाले गत जुलाई ३ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरेदेखि एकपछि अर्को गर्दै निरंकुश कदम चाल्यो । उसले डिसेम्बर २४ मा मुर्सीको दल मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गरेको छ । इजिप्टको एक पुरानो मुस्लिमवादी उक्त दललाई सरकारले हालै मात्र प्रतिबन्धित घोषणा गरेको थियो । गत जुलाईमा त्यहाँ भएको सैनिक हस्तक्षेपपछि उनलाई जेलमा राखिएको छ । कार्यकालको वर्ष दिन पनि नपुग्दै उनलाई सैनिकले जबर्जस्त रूपमा हटाएको थियो । विरोधमा उक्त दलका कार्यकर्ताहरूले आन्दोलन गरेका थिए । आन्दोलनमा हजारभन्दा बढीको ज्यान गएको थियो । जुलाईमा मुर्सीलाई अपदस्थ गरिएपछि उक्त दलका २ हजारभन्दा बढी कार्यकर्ता कारागारमा छन् ।

प्रकाशित : पुस १३, २०७० १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×