कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ताल तरेर विद्यालय

दीपक परियार

पोखरा — कलम समाउने कलिला हातले ९ वर्षीय आशिष खत्री डुंगा खियाउँछन् । पुम्दीभुम्दीको अनदुबाट फेवा ताल तरेर ताल बाराही माविमा पढ्न उनी पोखराको लेकसाइड आइपुग्छन् । उनको परिवार सिन्धुलीबाट आएर फेवा ताल पारि अनदुमा बसेपछि उनी दैनिक जोखिम मोलेर विद्यालय धाइरहेका छन् ।

ताल तरेर विद्यालय

उनीजस्तै हरेक दिन फेवा ताल तरेर ताल बाराही माविमा पढ्न आउने ९ विधार्थी छन् । हरेक दिन उनकी आमा सम्झना भट्टराई आफ्ना दुई छोरा सहित अन्य विद्यार्थीलाई लिएर लेकसाइड आइपुग्छिन् । अनदुबाट लेकसाइड ओहोरदोहोर गर्न एक घण्टा लाग्छ । आमासँगै आशिष पनि विद्यालय आउँदा–जाँदा डुंगा चलाउँछन् । अन्य विद्यार्थीले पनि डुंगा चलाउन सहयोग गर्छन् । अनदुमा माध्यमिक तह सञ्चालन भएका विद्यालय नहुँदा जोखिम मोलेर ताल वारपार गर्न विद्यार्थी बाध्य छन् ।

सिन्धुलीबाट ११ वर्षअघि पोखरा आएकी सम्झनाले यही आएर डुंगा चलाउन सिकेकी हुन् । कहिलेकसो पर्यटकलाई पनि डुंगामा घुमाएर धेरथोर आम्दानी गर्छिन् । उनका श्रीमान् भने ज्यामी काम गर्छन् । लेकसाइडमा बस्न खर्चिलो हुने भएकोले ताल पारीको गाउँमा गएर भाडाको घरमा बसेको उनले बताइन् । ‘गाउँतिरै बसेको भएर बजारभन्दा गाउँ नै रमाइलो लाग्छ, सहर अलि महँगो पनि छ,’ उनले भनिन्, ‘सधैं डुंगामा ओहोरदोहोर गर्दा कहिलेकाही जोखम हुन्छ । त्यसलाई आफूले सजिलै सामना गर्नुपर्छ ।’ चैत, वैशाखमा हावाहुरी चल्दा डुंगामा ओहोरदोहोर गर्न जोखिम हुने उनले बताइन् । ‘हावाहुरी चल्दा छाल आउँछ । छालले डुंगा हल्लाउछ, पानी पस्ने डर हुन्छ,’ उनले भनिन् ।

कक्षा ४ मा पढने आशिषले सधैं वारपार गर्ने भएकोले डर नलाग्ने भए पनि हावाहुरी आएर छाल आउँदा भने डर लाग्ने बताए । ताल बाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले हावाहुरी र ठूलो पानी पर्दाको अवस्थामा विद्यार्थीको पढाइ छुट्ने गरेको बताए । ‘अहिलेसम्म त्यस्तो दुर्घटना भएको छैन,’ उनले भने, ‘कहिलेकाही हावाहुरी आउँदा समस्या हुन्छ ।’


प्रकाशित : असार २५, २०८१ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×