कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गर्नुपर्‍यो : अध्यक्ष ओली

काठमाडौँ — सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति देखेको बताएका हुन् । 

एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गर्नुपर्‍यो : अध्यक्ष ओली

एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न र पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरेका हुन् ।

‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस छ गते संसद् चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौं । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौं । झन्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौं । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन, चलाई सक्नु छैन । विकास, निर्माणको काम भएको छ, अरु काम भएको छ । पुनःर्निर्माणको काम भएको छ । सबै कामहरु भएको छ, तर देख्दैन,' अध्यक्ष ओलीले भने, 'आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो गर्‍या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउदैन थियौं हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो ।'

आफू नेतृत्वको सरकारले गरेका कामहरू पार्टीका नेताहरूले नदेखेको ओलीले भने । पार्टीको आलोचना मात्रै गरिएको तर भएका राम्रा कामहरूको प्रसंसा नभएको उनको तर्क थियो । 'दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईहरूले देख्नु भएन ? नवौ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?,’ उनले भने ।

एमाले र माओवादी केन्द्र मिलेर २०७४ को निर्वाचन गठबन्धन बनाई गएको नेपाल‍ कम्युनिस्ट पार्टीले झन्डै २ तिहाई मत ल्याएको थियो । उक्त पार्टीमा विवाद उत्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा दोस्रो पटक विघटन गरिदिएका थिए । दुवै विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो । अहिले आएर ओलीले ती विघटन पार्टी जोगाउनका लागि रहेको प्रष्टिकरण दिएका हुन् ।

अध्यक्ष ओलीले पार्टीले मिसन २०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न पनि सचेत गराएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x