कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

क्यानडाका प्रशिक्षक पुबुदु भन्छन् : नेपालसँग खेल्न पाउँदा खुसी छु

काठमाडौँ — क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालसँग खेल्न पाउँदा आफू नै खुसी नै रहेको जनाएका छन् । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा सोमबार भएको आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा पुबुदुको प्रशिक्षणमा रहेको क्यानडाले नेपाललाई ६३ रनले पराजित गरेको थियो ।

क्यानडाका प्रशिक्षक पुबुदु भन्छन् : नेपालसँग खेल्न पाउँदा खुसी छु

नेपालले टस जितेपछि ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८३ रन बनाएको थियो । जवाफमा आएको नेपाल १९.३ ओभरमा १ सय २० रनमै अलआउट भयो । दुवै टोली जुन १ बाट अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको तयारीमा जुटिरहेको छन् ।

क्यानडाले जुन १ मा अमेरिका र नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै छ । दुवै खेल डालासमा हुनेछ । ‘नेपालले १० वर्षपछि विश्वकप खेल्दै छ, तर नेपाल योभन्दा पनि अगाडि पनि ट्वान्टी-२० विश्वकप खेल्न योग्य थियो,’ नेपालसँगको विश्वकप अभ्यास खेलमा विजय हात पारेपछि पुबुदुले भने, ‘म अहिले खुसी छु, नेपालले राम्रो खेलेर पुनः विश्वकपमा पुगेको छ । म पनि घर फर्किन पाएकोमा खुसी छु र क्यानडालाई पहिलो पटक ट्वान्टी-२० विश्वकपमा पुर्‍याउन पाएकोमा खुसी छु ।’

नेपालले यसअघिको एकमात्र ट्वान्टी-२० विश्वकप २०१४ मा पुबुदुकै प्रशिक्षणमा खेलेको थियो । २०११ मा पहिलो पटक नेपालको प्रशिक्षक भएका पुबुदु २०१५ मा फर्किएका थिए र पछि अमेरिकाको प्रशिक्षक भए । २०२२ मा पुनः नेपालको प्रशिक्षक भए पनि पुबुदुको कार्यकाल ६ महिनामात्र टिक्न सक्यो र नेपालबाट फर्किएलगत्तै उनी क्यानडाको प्रशिक्षक बनेका थिए ।

फेब्रुअरीमा पुबुदुको प्रशिक्षणमा क्यानडा टोली काठमाडौं आएर ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला र नेपाल ‘ए’ सँग खेलेको थियो । क्यानडाले त्यसपछि दुबई गएर यूएई र स्कटल्यान्डसँग २–२ गरी सबै चार खेल जितेर विश्वकप क्रिकेट लिग-२ को शीर्ष स्थानमा छ ।

क्यानडाले ट्वान्टी-२० विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिकासँग समूह चरणमा खेल्दै छ । छिमेकी प्रतिद्वन्द्वी अमेरिकासँग डालासमा जुन १ मा खेलेर क्यानडाले विश्वकपको यात्रा प्रारम्भ गर्नेछ । नेपालले समूह चरणमा नेदरल्यान्ड्ससहित श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x