१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

'स्काउटलाई  विधिसम्मत ढंगले  चलाउन चुनाव गर्न लागिएको हो'

काठमाडौँ — नेपाल स्काउट १२ वर्षपछि हुन लागेको निर्धारित चुनाव केही साताका लागि सरे पनि अब माघ २८ भित्र जसरी पनि गर्नका लागि सबैको सहयोग आवश्यक रहेको संयोजक लोकबहादुर भण्डारीले बताएका छन् । स्काउटलाई विधिसम्मत् रुपमा चलाएर संस्थाको गरिमा कायम गरिराख्नका लागि पनि चुनाव आवश्यक रहेको उनले बताए ।

'स्काउटलाई  विधिसम्मत ढंगले  चलाउन चुनाव गर्न लागिएको हो'

माघको पहिलो साता हुने गरी तय भएको चुनाव अब माघ २८ गतेभित्र गर्ने गरी नयाँ समय निर्धारण भएको छ । नेपाल स्काउट तदर्थ समितिका संयोजक भण्डारीले आफूले वैधानिक रुपमा चुनाव गराएर नयाँ व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न खोजेको जानकारी दिए । उनी ५ वर्षयता तदर्थ समितिको संयोजक छन् । अब नयाँ व्यक्तिलाई चुनावबाट नेतृत्वमा ल्याउनै पर्ने उनले बताए ।

यसअघि माघ पहिलो साता गर्ने तय भएको चुनाव युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले 'हाल प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीहरुलाई दृष्टिगत गरि राष्ट्रिय तदर्थ समितिद्वारा घोषणा गरिएको निर्वाचन स्थगित गर्न निर्देशन दिने र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनिक सुझाव समेत लिई संसोधन गरि ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेपछि निर्वाचन केही पर धकेलिएको हो ।

निर्वाचन स्थगन भएपनि नेपाल स्काउट स्थानीय परिषद् सदस्य निर्वाचनका लागि मिति २०८० पौष २२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरू यथावत रहने र दर्ता भएका मतदाता तथा सदस्यहरु पनि यथावत कायम रहनेछन् । पूर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमहरूको मिति पुन:निर्धारण गर्ने गरि आगामी मिति २०८० माघ २८ गते भित्रमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न गर्ने गरि हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरहरुको हकमा नाम दर्ता तथा नवीकरण गर्न पुनः आह्वान गरिएको स्काउटद्वारा जारी सूचनामा छ।

'युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल पौष २३ गते देखि खुल्ला भई माघ ८ गते दिनको ५ बजे बन्द हुने व्यहोरा सुचित गरिन्छ' सूचनामा छ,' साथै निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलनका गर्न आगामी २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरिन्छ ।'

प्रकाशित : पुस २५, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?