कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

'चाडबाडमा हुने भिडभाडमा प्रहरीले 'ड्रोन र बडिवर्न' क्यामेराबाट निगरानी गर्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं तिहारलाई लक्षित गरेर काठमाडौं उपत्यकामा प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक घटनालाई न्यूनिकरण गर्न प्रहरीले विशेष योजना बनाएर कार्यान्वयन गरेको हो । प्रहरीले काठमाडौंका १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने ठाउँअनुसार सुरक्षा संवेदनशीलता हेरेर प्रहरी परिचालनको तयारी गरेको छ ।

'चाडबाडमा हुने भिडभाडमा प्रहरीले 'ड्रोन र बडिवर्न' क्यामेराबाट निगरानी गर्छ'

त्यस्तै, चाडबाडका बेला घर छोडेर यात्रा गर्नेहरूलाई घरमा रहेका आफ्ना बहुमूल्य सामान, नगद र गरगहनाहरू सुरक्षित राख्नसमेत आग्रह गरेको छ ।

चाडपर्वका बेला हुने ठगी, चोरी, लुटपाट र झै-झगडा कम गर्न प्रहरीले कस्तो योजना बनाएको छ ? प्रस्तुत छ, काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीसँग गरिएको कुराकानी :

काठमाडौंमा अहिले दिनहुँजसो आन्दोलनहरू भइरहेका छन्, यहाँको सुरक्षा अवस्था कस्तो छ ? कसरी व्यवस्थित गर्नुभएको छ ?

समग्रमा भन्ने हो भने सामान्य नै छ । तर संघीय राजधानी भएको हिसाबले यहाँ विभिन्न खालका गतिविधिहरू भइरहन्छन् । विभिन्न माग राखेर विरोधका कार्यक्रमहरू पनि भइरहेका हुन्छन् । त्यसले गर्दा प्रहरीको ठूलो जनशक्तिचाहिँ त्यस्ता कार्यक्रमहरूमा इन्गेजमेन्ट भइरहेको हुन्छ । प्रहरीले गर्नुपर्ने थुप्रै कामहरू हुँदाहुँदै पनि ती कामलाई थाती राखेर यतातिर व्यस्त हुनुपर्ने अवस्था पनि आइरहेको हुन्छ । अवश्य पनि विरोधका गतिविधि भएपछि प्रहरी र प्रदर्शनकारीहरूबीच कहिलेकाहीं अलिअलि खटपट त भइ नै हाल्छ ।

काठमाडौंमा लामो समयदेखि रात्रिकालीन व्यवसायलाई सुरक्षा चुनौतीका रुपमा हेर्ने गरेको पाइन्छ । तपाईंले चाहिँ यहाँको प्रहरी प्रमुखका हिसाबले यसलाई कसरी हेरिरहनुभएको छ ?

हामीले रात्रिकालीन व्यवसायलाई व्यस्थित, मर्यादित र सुरक्षित बनाउन पटक–पटक छलफल र अन्तरक्रिया हुँदै आएको छ । अहिले मुलुकको अर्थतन्त्र नै कमजोर रहेको बेला व्यवसाय नै गर्न नपाउने भन्ने कुरा भएन । बरू त्यसलाई कसरी सुरक्षित र व्यवस्थित बनाउने भन्ने कुरामै हाम्रो जोड रहँदै आएको छ । हामीले व्यवसायीहरूसँग हातेमालो गरेर नै काम गर्दै आएका छौं । रातिको समयमा सहरलाई सुरक्षित राख्न हामीले सीसीटीभी, सडक बत्तिहरूको व्यवस्थापन गर्नेदेखि लिएर प्रहरी गस्ती गर्नेसम्मका कामहरूमा पनि ध्यान पुर्‍याएका छौं ।

दसैं नजिकिएको छ । विगतमा चाडबाडका बेला काठमाडौंमा ठगी, चोरी, डकैती र झै-झगडाजस्ता अपराधहरू बढी हुने गरेको पाइन्छ, त्यसलाई रोक्ने प्रहरीको योजना के छ ?

यो बेला एकैपटक धेरै मानिसहरूको आवागमन हुने र त्यस्तो मौकामा सार्वजनिक साधनको भाडामा ठगीदेखि लुटपाट हुने, चोरी गर्ने र काठमाडौंमा घरहरूको ताला तोडेर चोरी डकैती गर्ने, झै-झगडा गर्नेजस्ता अपराधहरू बढी हुने गर्छन् । हामीले विगतका आपराधिक घटनाहरूलाई विश्लेषण गरेर केही दिनअघि देखि काठमाडौं उपत्यकामै विशेष सुरक्षा योजना लागू गरेका छौँ । यो विगतभन्दा केही पृथक् र नयाँ अभ्यासहरूसहितको छ । यसलाई हामीले दुई वटा पाटोबाट हेर्न सक्छौँ– पहिलो कानुनको पालना गराउने र अर्को सचेतना फैलाउने ।

कानुनको कार्यान्वयन गराउने कुरामा हामीले विगतमा चाडपर्वका बेला हुने गरेका घटनाहरू जस्तैः ठगी, चोरी, लुटपाट, डकैती र झै-झगडाजस्ता अपराधलाई विश्लेषण गरेर त्यसलाई यसपटक कमभन्दा कम कसरी गराउन सकिन्छ ? यदि भइहाल्यो भने त्यहाँ कसरी छिटोभन्दा छिटो प्रहरी परिचालन गरेर क्षति कम गराउने र अनुसन्धान प्रक्रिया अघि बढाउने ? भन्ने कुरामा योजनाहरु बनाएका छौँ ।

काठमाडौंका नयाँ बसपार्क, गोगंबु, सीतापाइला, माछापोखरी, बालाजु, चाबहिल, जोरपाटी, कोटेश्वरलगायत ठाउँहरूमा १४ वटा नागरिक सहायता कक्षहरू सञ्चालन गरिएको छ । बढी भीडभाड हुने, व्यापार हुने ठाउँहरू, मन्दिरहरूमा ड्रोनको माध्यमबाट मनिटर गरेर त्यस्ता जोखिमयुक्त ठाउँहरूमा प्रहरी परिचालन गरिएको छ । त्यस्तै, पहिलो पटक सिभिल प्रहरीले पनि बडीवोर्न क्यामेराबाट भीडभाड हुने ठाउँहरूमा सुक्ष्मरुपमा मनिटरिङ गर्ने र प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

अर्को पाटो भनेको सचेतना फैलाउने कुरा हो । हामी ख्याल ख्यालमा सामाजिक सञ्जालमार्फत महत्वपूर्ण सूचनाहरू सेयर गरिरहेका हुन्छौँ । तर त्यस्तो सूचना गलत मनसाय भएका व्यक्तिहरूका लागि अवसर बनिदिन्छन् । फेसबुकमा राखिएका सूचना आफ्नै लागि पनि हानिकारक बन्न सक्छन् । त्यसैले सामाजिक सञ्जालमा लेख्ने कुरादेखि लिएर सबै कुरामा हामीले सजगता र सतर्कता अपनाउनुपर्ने हुन्छ । साथसाथै मानिसहरू रमाइलोमा भुलेर घरको झ्याल ढोका राम्रोसँग नलगाउनेजस्ता लापरबाही पनि भइरहेका हुन्छन् । त्यस्ता कुराहरूमा पनि सबैको ध्यान पुग्न आवश्यक हुन्छ ।

अर्को भनेको घरमा बहुमूल्य सामग्रीहरू र गहनाहरू राखिएको छ भने पनि त्यसको सुरक्षा पनि घरधनीले गरेर मात्रै घर छोडेर हिँड्नु उपयुक्त हुन्छ । हामीले यस्ता थुप्रै कुराहरूको सचेतना फैलाउने काम पनि यो बेला गरिरहेका छौँ ।

प्रकाशित : आश्विन २३, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?