हाम्रो पार्टीले सरकार छाड्ने कुरै छैन : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् । मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री नेपालले बुधबार आयोजित कार्यक्रममा अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताएका हुन् ।

प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको उनको जिकिर छ । उनले सरकारले केही राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको बताए । उनले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताए ।
'को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ,' उनले भने, 'कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, कांग्रेसबिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन।’
प्रकाशित : आश्विन १७, २०८० १६:३१