५० वर्षअघि फर्कँदै रसिक

काठमाडौँ — एउटा समय थियो, गीत–संगीतको स्वर्णिम युग भनेर कहलिएको समय । लोक, आधुनिक सबै विधामा उम्दा गीत–संगीतको माहोल चम्किएका बेला भोजपुरे गायक गणेश रसिक उदाएका थिए– आजभन्दा ५० वर्षअघि ।

‘यो नेपाली ठिटो’, ‘कुखुरी काँ, बासीभात खाँ’, ‘नखेल्नु जुवा र तास’, ‘घरबेटी नानी’, ‘मसँग एउटा तारा छ’ जस्ता दर्जनौं गीतसंगीतका नेपाली स्रोतामाझ चिनिँदै गएका उनै रसिक सिंगो जीवनको निचोड सम्झाउने गरी रसिक साँझ लिएर आउने भएका छन् । सिर्जनाको स्वर्णिम युग मात्रै होइन, उमेरकै स्वर्णकाल नाघेपछिका केही कलाकारको साथ र त्यति नै पुराना गीतसंगीतको भर परेर रसिक शनिबार(असोज ६) राष्ट्रिय नाचघरको सभाकक्षमा देखा पर्ने भएका छन् ।
‘मसँग एउटा तारा छ मायाकोे
यसलाई एउटा आकाश देऊ
मसँग एउटा डुँंगा छ ह्दयको
यसलाई एएटा सागर देऊ
प्रखर कवि बाशु शशीको यो कवितात्मक गीतलाई रसिकले २०२८ सालमा संगीत भरेका थिए । कवि शशीकै सामु थुप्रैपटक यो गीत सुनाएका थिए, गायिका कमला श्रेष्ठका साथमा । आज ५३ वर्षपछि यही गीत युवा पुस्ताकी गायिका झुमा लिम्बूका साथमा फेरि गाउनेछन् अर्का गायक ठूले राईले, रसिकको बितेको समय र संघर्षलाई सम्झेर ।
अर्का भोजपुरे प्रतिभा हिरण्य भोजपुरेसँगको मितेरीमा खुलेको ‘लेकाली समूह’मा रहेर वा एक्लै पनि रसिक जेजति सिर्जनशील बन्न सके, त्यसमा जोडिएका धेरै कलाकार आज यो जगतमै छैनन् । इन्द्रनारायण, शशी भण्डारी, कमला श्रेष्ठ, तीर्थ शेरचन जस्ता कलाकार आज छैनन् ।
लेकाली अभियन्तामध्ये हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठ लामो समयदेखि अमेरिकावासी बनेका छन् । ‘म पनि त्यही स्वर्णिम समय र उमेरको कलाकार परें, आज फेरि रसिक साँझमा जोडिन पाएको छु,’ पुराना गायक किरण प्रधानले भने–‘यो साँझ इतिहासको स्मरण मात्रै जोडिएको छैन, सम्मान पनि गाँसिएको छ ।’
प्रधानले यसअघि २०४५ सालमा रेकर्ड गराएको रसिकको गीत ‘घर छाडी परदेश लाग्दा’ फेरि पनि रसिक साँझमा गाउनेछन्, ३५ वर्षपछि । छिनामखु सरोकार समाजले आयोजना गर्न लागेको रसिक साँझका बारेमा समाजका सल्लाहकार उद्धव राईले ‘अग्रज पुस्ताका स्रष्टाको सम्मानमा अनुकरण गर्न सकिने तहको सांगीतिक उत्सव मनाइने’ तयारी भइरहेको बताए ।
यस्तै, गायक शम्भु राई, सूर्य थुलुङ, सत्यकला राई, रुपक चौधरी, सन्जय तुम्रोक, साजन राईसहितका गायकले रसिकका एक दर्जनभन्दा बढी गीतमा स्वर भर्नेछन् । रसिकले भने आफ्नो भोजपुर, घर नजिकैको ट्याम्के डाँडाको बयानमा खुबै चलेको ‘हाम्रो घरबाट ट्याम्के डाँडा’ सहित केही नयाँ र पुराना गीत सुनाउनेछन् ।
उमेरसँगै रोग र शोकले गल्दै गएका गायक रसिक पछिल्ला केही वर्ष साधना वा सिर्जनाभन्दा बढी स्वास्थ्य उपचारमा अलिक लागिपरेका देखिन्छन् । ‘समय यसरी र यति मिलिक्कै बित्ला भन्ने थिएन, आज पछाडि फर्केर हेर्दा आफैंलाई अचम्म लागिरहेको छ,’ बागबजारस्थित राष्ट्रिय जनसाहित्यिक संघको सभाकक्षमा भइरहेको रिहर्सलमाझ रसिकले सुनाए–‘मैले भोगेको मसँगको हिजोको समयलाई अरुले जेजसो गरे पनि मैले भने बेस्सरी सम्झेको छु, त्यही सम्झना अरुसामु बाँड्न म फेरि रसिक साँझमा आउन लागेको हुँ ।’
यति भनिरहँदा पुरानो समय सम्झाउने कलाकार जीवन राई तबला ट्युनिङमा व्यस्त देखिन्थे । अर्का कलाकार शिलाबहादुर मोक्तान आयुमा स्वर्णकाल नाघिसकेको जस्तो देखिने अकोर्डियम बाजाको स्केलमा रमाइरहेका थिए । रसिक साँझमा अर्केष्ट्रा–कोअर्डिनेटर बनेका अशोक ल्होरुङ राईको व्यस्तता चर्को देखिन्थ्यो, उनका अनुसार रसिक साँझको अर्केष्ट्रा बादनमा २ दर्जनजति कलाकार सहभागी हुने भएका छन् ।
रिहर्सलको यो भीडभाड माहोलमा अग्रज गायिका सुनिता सुब्बा आफूले २३ वर्षअघि रेकर्ड गरेको ‘भुल्न सकिनँ’ गीतको अन्तरा अभ्यासमा मग्न थिइन् । ‘यो गीतमा एकदमैं ठूलो कथा छ, तपाइँ वा मेरो जीवनमा आइपर्नसक्ने कथा छ यसमा,’ उनले हतारमै सुनाइन्–‘प्रेम, बियोग र सम्झनाको यो गीत सधैँसधैँ मेरो मन–मस्तिस्कमा आइरहने गरेको छ । अनि लाग्छ, कतै यो गीत यसका रचनाकार रसिकको आफ्नै कथा त होइन ? तर सोध्ने आँट गरिहालेकी छैन ।’
अनि सुनिताले गीत सुनाइन्, दिल खोलेर–
‘वर्षौंपछि तिम्रो हाम्रो त्यही ठाउँमा भेट भयो
कहिले रुँदै कहिले हाँस्दै जाडोको रात त्यसै गयो
अँगेनामा चिठीहरु दनदनी जल्दै थियो
आशंका र डरको आगो मनभित्र निभ्दै गयो
भुल्न सकिन, भुल्न सकिन
तिम्रो मायाँलाई भुल्न सकिन...।’
