कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एमालेभित्र विस्फोट हुन्छ, देशव्यापी रूपमा पहिरो जान्छ : खनाल

भाद्र २०, २०८०
एमालेभित्र विस्फोट हुन्छ, देशव्यापी रूपमा पहिरो जान्छ : खनाल

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सही कार्यदिशा नलिएको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताएका छन् । नेतृत्वले दक्षिणपन्थी कार्यदिशा लिएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री खनालले एमालेका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको बताए । 

नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेभित्र देशव्यापी रुपमा असन्तुष्टि रहेको बताए । 'एमालेले देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको छ । त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ,' उनले भने, 'एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ । विभिन्नखालका विस्फोट र विद्रोहहरू हुन सक्छन् ।'

एमालेले विगतमा गलत कार्यदिशा लिएकाले नै माधवकुमार नेपालसहितका नेताहरूले विद्रोह गरेको खनालको भनाइ थियो । एमालेले राप्रपासँग गठबन्धन गरिरहेको भन्दै उनले त्यो गलत बाटो भएको धारणा राखे । 'अहिले नेकपा (एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भए पनि अंगालो मार्ने ! भन्नचाहीँ पुनरुत्थानवादी भन्ने ?' उनले भने, 'कांग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन् । त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ । त्यसो हुनाले उनीहरूको सिद्धान्त के हो ? कोसँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ ।'

एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न लागेको पनि खनालको भनाइ थियो । एकीकृत समाजवादी पार्टीले सही बाटो लिएर अगाडि बढेमा केही वर्षभित्रमै राष्ट्रव्यापी पार्टी बन्ने उनको भनाइ थियो । उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने पनि बताए ।

प्रकाशित : भाद्र २०, २०८० १७:३७
×