राष्ट्रिय पुस्तकालय निर्माणलाई निर्बाध ढंगले अगाडि बढाउन पहल थाल्छु : शिक्षामन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्बाध ढंगले अगाडि बढाउन पहल थाल्ने बताएका छन् ।

राष्ट्रिय पुस्तकालय निर्माणलाई निर्बाध ढंगले अगाडि बढाउन पहल थाल्छु : शिक्षामन्त्री राई

काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस-२०८० को अवसरमा शुक्रबार शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाइने बताएका हुन् । मन्त्री राईले पुस्तकालय निर्माणमा आइपरेका अवरोधलाई प्रक्रियासंगतरुपमा अगाडि बढाइने बताए ।

मन्त्री राईले भने, ‘केन्द्रीय पुस्तकालयको निर्माणको काममा जे-जे अवरोधहरु छन्, बाधाहरु छन्, हामीलाई दिइएका जिम्मेवारीहरु छन् । प्रक्रिया पूरा गर्नुपर्ने आदि-इत्यादि, त्यो छिटोभन्दा छिटो पूरा गरेर बाधा अड्चनहरुलाई हटाएर केन्द्रीय पुस्तकालय निर्माणलाई निर्बाध ढंगले अगाडि बढाउने संकल्प यहाँहरुसमक्ष म प्रस्तुत गर्न चाहन्छु ।’

अहिले युवाहरुमा पठन संस्कृतिको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्नेमा उनले जोड दिए । मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिए पनि निर्माण कार्यमा अवरोध सिर्जना भएको बताए ।

उनले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताए । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञानआर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणा विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाइ छ ।

पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।


प्रकाशित : भाद्र १५, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्