नक्कली शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाले दोलखा र रामेछापमा यसरी उठाएका थिए रकम

कान्तिपुर संवाददाता

काठमाडौँ — रामेछापका कांग्रेस नेता आङटावा शेर्पाले चलाएको अमेरिका जाने गिरोहको सञ्जालमा दोलखा–रामेछापका १ सयभन्दा बढी सर्वसाधारण ठगिएका छन् ।

शुक्रबार कान्तिपुरको सम्पर्कमा आएका दोलखा, जिरीका मिङमा शेर्पा र दावा शेर्पाले आङटावालाई जनही ६ लाख रुपैंया बुझाएको भन्दै आङटावाकै सम्पर्कमा काठमाडौं आएर भूटानी शरणार्थीको फर्म भर्ने र फोटो खिचाउने काम गरिएको बताएका छन् । तर, आङटावाले यो ठगी धन्दा चलाइरहेका छन् भन्ने थाहा पाएपछि गत माघमा उनीबाट साढे ५ लाख रुपैंयाका दरमा ८ जना पीडितले रकम फिर्ता पाएको समेत जानकारी दिएका छन् ।

शेर्पासँग बैंकबाटै कारोबार भएको भन्दै सबै प्रमाणहरु कान्तिपुरलाई दखाउँदै पीडित मिङमा र दावाले आङटावाले सबैजसो शेर्पा समुदायका आफन्तलाई ठगी गरेकाले आफन्तहरु कोही पनि उजुरी दिन र बिरोध जनाउन आउन नचाहेको बताए ।

‘हाम्रो ५० हजार रुपैंया मात्रै उठ्न बाँकी छ, तर आफूमाथि परेको अन्याय र ठगीको तरिका भुल्न नसकेर न्यायका लागि काठमाडौं आएका हौं,’ उनीहरु भन्छन्, ‘तर, टेकुको प्रहरी परिसरले पनि हाम्रो उजुरी लिन मानेको छैन, हामीले चौरी बेचेर आङटावालाई बुझाएको पैसाको अशुलउपर मात्रै अबको मुद्दा होइन, यी फटाहाहरुलाई कडा कारबाही हुनुपर्छ भनेर हामी यहाँ आएका हौं ।’

प्रकाशित : जेष्ठ १९, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्