७ सय वर्ष पुरानो टुँडाल घर फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८० को दशकमा पाटनको सुलिमाटोलस्थित रत्नेश्वर मन्दिरबाट चोरिएको कलात्मक सालभन्जिका टुँडाल अस्ट्रेलियाको सिड्नीबाट घर फर्किएको छ ।

झन्डै ४५ वर्षअघि चोरिए पनि यो टुँडाल सन् २००० यता भने सिड्नीको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा पाइएको सूचना बाहिर आएको थियो । त्यसपछि सुरु भएको उत्पत्तिको पहिचान तथा सम्पदा अधिकारसम्बन्धी प्रमाण पहिल्याउने काममा पूर्णता पाएपछि टुँडाल काठमाडौं आइपुगेको हो ।

मंगलबार पाटन म्युजियममा आयोजित एक समारोहमाझ अस्ट्रेलियाका सहायक परराष्टमन्त्री टिम वाट्स र सिड्नी ग्यालरीका निर्देशक माइकल ब्रान्डले उक्त टुँडाल रत्नेश्वर मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।

सम्पदा खोजबिन र घरफिर्तीको अभियान, लस्ट आर्टस् अफ नेपालका अनुसार सिड्नीको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा अझै पनि भूपतीन्द्र मल्ल दम्पतीको सालिक, पद्मपाणी लोकेश्वर आकृति र बोधिसत्व अवलोकितेश्वरका मूर्ति प्रर्दशनीमा छन् । यी सम्पदा पनि घर फिर्ता ल्याउने सहकार्य र संवाद जारी रहेको सम्पदाप्रेमी रवीन्द्र पुरीले बताए ।

रत्नेश्वर मन्दिरका पुजारी प्रतिनिधि सुनील शर्माका अनुसार, घरफिर्ता भएको टुँडाल सम्पदा तत्काल पाटन म्युजियममा राखिए पनि पछि मन्दिरमा प्रतिस्थापन गरिने भएको छ । टुँडाल हस्तान्तरण समारोहमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, काठमाडौंस्थित अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसहितको उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ ५, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

 स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ

कान्तिपुर संवाददाता

बुटवल — बुटवल प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २६ वर्षीय मनोज कार्की र ३५ वर्षीय सुरेन्द्र अमात्य रहेका छन्।

उनीहरूले बुटवल उपमहानगरपालिका-१३ स्थित ज्ञवात रेस्टुरेन्टअगाडि पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई कृष श्रेष्ठले चलाउँदै आएको लु ६४ प २६०९ नम्बरको यामाहा कम्पनीको स्कुटर चोरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित : जेष्ठ ५, २०८० १९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×