मलाई पनि टेस्ट क्रिकेट खेल्न मन छ : रोहित [भिडियो]

विनोद पाण्डे

काठमाडौँ — नेपालका कप्तान रोहित पौडेलले आफ्नो उत्कृष्ट इनिङ्स अझै आउन बाँकी रहेको बताएका छन् । उनले विश्व क्रिकेट लिग २ मा स्कटल्यान्डविरुद्ध फेब्रुअरीको अन्तिम साता अविजित ९५ रन बनाएका थिए ।

मलाई पनि टेस्ट क्रिकेट खेल्न मन छ : रोहित [भिडियो]

यससँगै लिग २ को घरेलु शृंखला क्लिन स्विप गर्ने नेपाल पहिलो टोली बनेको थियो । यही शृंखलाबाट नेपालले उत्कृष्ट पुनरागमन गर्दै लिग २ को अन्तिम १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको थियो । २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले करण केसीसँग नवौं विकेटमा ७५ रन जोडेका थिए ।

प्रशिक्षक मोन्टी देसाईले रोहितको त्यो इनिङ्स आफूले देखेमध्येमा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । प्रशिक्षकको त्यो सरहानालाई ‘कम्पिलिमेन्ट’ को रुपमा लिँदै रोहितले भने, ‘स्कटल्यान्डविरुद्ध बनाएको अविजित ९५ रन मेरो उत्कृष्ट इनिङ्समध्येको एक हो, तर मेरो उत्कृष्ट इनिङ्स आउन अझै बाँकी छ ।’

तीन महिनाअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्षरत नेपालले अबको चार महिनाभित्र विश्वकप छनोट र एसिया कप खेल्दै छ । विश्वकप छनोट अर्को महिना जिम्बाब्वेमा हुँदै छ भने एसिया कपको समूहचरणमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने तालिका छ ।

उनले अबको नेपालको लक्ष्य टेस्ट क्रिकेट हुने जनाउँदै भने, ‘मलाई पनि सेतो ड्रेस लगाएर टेस्ट क्रिकेट खेल्न मन छ । ६-७ वर्षपछि कहिले हुन्छ, त्यो निश्चित छैन । अहिलेको क्रिकेट हेर्दा हामीले भर्खर राम्रो खेल्न सुरु गरेको छौं जस्तो लाग्छ । अब नतिजाहरू आउँदै गर्छ । राम्रो-राम्रो प्रतियोगिताहरू पनि खेल्न पाइन्छ । त्यसले गर्दा टेस्ट क्रिकेट खेल्न पनि सजिलो हुन्छ होला । ५-७ वर्षपछि मलाई पनि नेपालले टेस्ट क्रिकेट खेलेको हेर्न मन छ ।’

प्रकाशित : वैशाख २४, २०८० २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?