राजविराज नगरपालिका कार्यालयमा बस्दैनन् कर्मचारी
काठमाडौँ — सप्तरी सदरमुकाम राजविराज नगरपलिका कार्यालयमा अधिकांश कर्मचारी फाँटमा भेटिँदैनन् । कार्यालय समयमा कर्मचारी र फाँट प्रमुखहरू नै नभेटिँदा सेवाग्राहीहरू समस्यामा पर्ने गरेका छन् ।
बिहीबार कार्यालय समय सुरु हुनासाथ ११ बजेर ३० मिनेटसम्म नगरपालिका कार्यालय चहार्दा अधिकांश फाँटमा कर्मचारी भेटिएनन् । योजना अनुगमन‚ प्राविधिक शिक्षा‚ स्वास्थ्यलगायत प्रमुख फाँटहरूमा कर्मचारी नभेटिँदा समस्या पर्ने गरेको सेवाग्राहीहरू बताउँछन् ।
राजविराज नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु सरुवा भई गत फागुन ५ गते नै अन्यत्र गइसके पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा कार्यालय अस्तव्यस्त बनेको छ । पछिल्लो डेढ महिनादेखि निमित्तको भरमा नगपालिका चल्दा कार्यालय सञ्चालनसमेत अलपत्र परेको छ ।
नगरपालिकाको राजनीतिक नेतृत्व समेत कार्यवाहककै भरमा चलेको छ । निर्वाचित हुनुअघिको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचित नगरप्रमुख भीमराज यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेसँगै नगरपालिका पनि कार्यवाहककै भरमा चलिरहेको हो । अहिले नगर उपप्रमुख इसरत परविन कार्यवाहक नगरप्रमुखको रूपमा छिन् ।
प्रकाशित : चैत्र २३, २०७९ १७:०२