काठमाडौँ — स्थानीय तहमा न्यायिक समितिको संयोजक उपप्रमुख हुने व्यवस्था छ । स्थानीय स्तरमा हुने वादविवाद तथा त्यही सल्टाउन सकिने विषयहरूलाई स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको कल्पना गरिएको छ ।
स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौती र सम्भावनालाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुँदैछ । यसको नेतृत्व काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गर्दैछिन् । यही चैत १५ र १६ गते महानगरको आयोजनामा हुने सम्मेलनको सन्दर्भमा उपप्रमुख डंगोलसँग न्यायिक समिति,अनुगमन, महानगरको गतिविधि र मेयर बालेन्द्र शाहको कदमका विषयमा रहेर केन्द्रित भएर कान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी पूरा पढ्न : 'महानगरलाई 'वान पर्सन सो' बनाउनुहुँदैन'
मेलबर्न — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आइतबार मेलबर्नमा सम्मानित भएका छन् । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले नेपाली क्रिकेटमा दिएको योगदानका लागि पारसलाई सम्मान गरिएको हो ।
पारसलाई न्याभका अध्यक्ष प्रेमराज उप्रेती, भिक्टोरिया राज्य सांसदद्वय क्याथलिन म्याथ्यु वार्ड, ट्रुङ लु, म्याक्सिम्याक्स एजुकेसन कन्सलटेन्सीका निर्देशक शंकर धरेलले सम्मान पदक प्रदान गरेका थिए ।
एक समय पारससँगै नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका न्याभ अध्यक्ष उप्रेतीले भने, ‘नेपाली क्रिकेट पारसकै कारण अहिलेको अवस्थामा आइपुगेको हो, एउटा खेलाडीको रूपमा होस् वा कप्तान रूपमा पारसले एकपछि अर्को ऐतिहासिक नतिजा दिँदै नेपाल यो अवस्थामा आइपुगेको हो ।’
नेपाली क्रिकेटका लागि गरेको अमूल्य र निःस्वार्थ योगदानको कदरस्वरुप सम्मान गरिएको जनाउँदै उप्रेतीले भने, ‘पारसलाई सम्मान गर्न पाउनु मेलबर्नमा रहेका नेपाली समुदायको मात्र नभई भिक्टोरिया प्रान्तकै गर्वको विषय भएको जनाए ।’ सोही अवसरमा कान्तिपुर दैनिकका खेलकुद ब्युरो प्रमुख विनोद पाण्डेलाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछि पारस खड्का । तस्बिर सौजन्य : न्याभ
पारसको सम्मानमा च्यारिटीमार्फत ‘गाला डिनर’ गरिएको थियो । त्यसको खर्चबाट बाँकी रकम बालचौतारीलाई प्रदान गर्ने उप्रेतीले जनाए । न्याभअन्तर्गत रहेका बाल भाषा तथा संस्कृति स्कुलमा भिक्टोरियामा रहेका नेपाली बालबालिकाका लागि नेपाली भाषा पढाउन उक्त रकम खर्च गरिने आयोजकले जनाएको छ ।
पारसले आफ्ना लागि यो ठूलो सम्मान रहेको जनाए । ‘दुई वर्षअघि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेको थिएँ, त्यसयता मेरा लागि यो पहिलो सम्मानजस्तै रह्यो । मेलबर्नमा रहेको नेपाली समुदायले जुन सम्मान म र नेपाल क्रिकेटप्रति देखाउनु भयो त्यसका लागि म कृतज्ञ छु ।’ न्याभ र मेलबर्नमा रहेका नेपाली समुदाय मिलेर नेपाली क्रिकेट खेलाडीलाई अस्ट्रेलियामा खेल्ने वातावरण मिलाउनुपर्नेमा पारसको जोड थियो ।
सम्मान कार्यक्रममा पारससँगै यू–१९ विश्वकप खेलेका सागर खड्का र यशवन्त सुवेदी ।
सन् २००२ मा एसीसी यू–१५ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएका पारसले १९ वर्ष नेपालबाट खेल्दै २०२१ मा संन्यास घोषणा गरेका थिए । पारसकै कप्तानीमा विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका थिए । २०१४ मा पारसकै कप्तानीमा नेपालले ट्वान्टी–२० विश्वकप खेल्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।
न्याभको आयोजनामा भएको १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको ‘गुडविल एम्बासडर’ का रूपमा पारस बुधबार राति मेलबर्न आएका थिए । कतारको दोहामा एसियन जायन्ट्सबाट लिजेन्ड्स कप खेलेर उनी अस्ट्रेलिया टेकेका थिए । पारसले १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए । भिक्टोरिया प्रान्तमा रहेका नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा फार वेस्ट हन्टर्सले नारे किंग्सलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
एनआरएनए भिक्टोरियाले नेप्लिज सोसाइटीलाई फाइनलमा पराजित गरी च्यारिटी सिल्ड जितेको थियो । आठ टोली यसमा सहभागी थिए । सबैले दर्ता शुल्क ५० अस्ट्रेलियन डलर तिरेका थिए र त्यसबाट उठेको रकम बाल चौतारीमा प्रदान गरिने आयोजकले जनाएको छ ।