राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो, छुट्टै सल्लाहकार चाहिँदैन : रघुजी पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताएका छन् । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै  प्रतिनिधिसभाको विशेष समयमा पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताए । 

'भारतीय र अमेरिकी राजदूतको भेटपछिको समाचार राष्ट्रपतिको परराष्ट्र मामिला सल्लाहकारको रुपमा बाहिर आयो । राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मूसम्म भारतमा १५ जना राष्ट्रपति भए । सल्लाहकार अहिलेसम्म बनाएको थाहा छैन,' उनले भने, 'हामीले अभ्यास गर्दै गरेको संसदीय व्यवस्था हो । राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हो । संवैधानिक राष्ट्रपति भए पनि सुरुदेखि नै यसमा गडबडी सुरु भएको छ । राजाको पालामा विभिन्न सचिवालयहरू राखे जस्तो अभ्यास राष्ट्रपतिको पनि भयो ।'

उनले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको टिप्पणी गरेका थिए । कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था छ । सांसद पन्तले भने कानुनमा राखे पनि त्यसलाई संशोधन गर्न जरुरी रहेको बताए ।

'राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्र बनाउने गरी । यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको सल्लाहकार मन्त्री र मन्त्रिपरिषद्‍ हो,' उनले भने । यस्तै संविधान संशोधन गरेर भए पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने उनको तर्क थियो ।

'उपराष्ट्रपति निर्वाचित हुनुभएको छ । काम नभएको संस्था राख्नु हुँदै । भारतमा माथिल्लो सदनको अध्यक्ष बनाउने चलन छ । अहिलेको अध्यक्षको कार्यकाल सकिएपछि संविधान संशोधन गरेर भए पनि उप राष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँ,' उनले भनेका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

आगलागीबाट घाइते भएका युवकको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको एकतले घरमा रहेको किराना पसलमा भएको आगलागीबाट घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ ।

भारतको लखनौमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय यज्ञ रानाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

खनालका अनुसार केही दिनअघि शंकर रानाको घरमा भएको आगलागीबाट घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सन्जीव शाह र १८ वर्षीय क्षेत्रमनी राना सख्त घाइते भएका थिए ।

घाइते सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

मेडिकल कलेज कोहलपुरले क्षेत्रमनी राना बाहेक सबैलाई भारतको लखनौ रेफर गरेकोमा मृत्यु भएका यज्ञ राना बाहेक अन्यको भने उपचार भइरहेको बताइएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×