प्रहरी महानिरीक्षकलाई शुभकामना दिँदै गृहसचिवले भने– ‘प्रहरीमा सेटिङ छ भन्छन्, त्यसलाई कैंची लगाउनुहोला’

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रहरीमा रहेको ‘सेटिङ’ मा कैंची लगाउन शुभकामना दिएका छन् । आइतबार नवनियुक्त महानिरीक्षक कुँवरलाई गृहमन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेपछि बधाई तथा शुभकामना मन्तव्य राख्ने क्रममा गृहसचिव सिंहले नागरिकमा प्रहरीप्रतिको घट्दो विश्वासलाई बढाउन आग्रह गरे ।

‘प्रहरीमा सेटिङ हुन्छ भन्छन् । यदि सेटिङ छ भने त्यस्तो सेटिङलाई कैंची लगाएर चटक्कै काट्नुपर्छ, यसमा तपाईंको टिम सफल नै हुन्छ होला भन्ने लाग्छ । र अबका दिन यस्तो देख्न, सुन्न नपाइयोस् भन्ने चाहना हो,’ गृहसचिव सिंहले अघि भने, ‘अर्को कुरा, खरिद प्रक्रियामा पनि प्रश्न उठ्ने गरेको छ, अबका दिनमा त्यस्तो पनि हुने छैन भन्ने आशा छ ।’

उनले महानिरीक्षक कुँवरलाई आफ्नो कार्यकालमा प्रहरी संगठनको गुणात्मक सुधार गर्न र नागरिकमा सरकारप्रतिको भरोसा बढाउने गरी काम गर्न निर्देशन दिए ।

उनले प्रहरीमा जनशक्ति घट्दो रहेको अवस्थामा पनि बेला–बेलामा महत्त्वपूर्ण कार्य हुँदै आएको भन्दै प्रशंसा गरे । सचिव सिंहले प्रहरीमा आवश्यक सुधार र सुदृढिकरणका लागि सरकारले अब छिट्टै नयाँ प्रहरी ऐन ल्याउने तयारी रहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

सवारी होइन आवागमन शब्दको प्रयोग गरौं : राष्ट्रपति पौडेल

कान्तिपुर संवाददाता

गोरखा — राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई 'सवारी' नभनी 'आवागमन' शब्द प्रयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले 'सवारी' शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा 'आवागमन' शब्दको प्रयोग गर्न आग्रह गरे । 

'देशमा गणतन्त्र आएको छ । राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं । अवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फारसी शब्द हो,' पौडेलले भने, 'सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौं । आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।'

काठमाडौंबाट सेना हेलिकोप्टरमा गोरखा पुगेका राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घन्टा बिताए ।उनले ठूलो आँगन र गोरखा दरबारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए भने गोखरनाथ र गोरखकाली मन्दिरमा पूजाआजा गरेका थिए । त्यसैगरी संग्रहालयको अवलोकन पनि गरेका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×