राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरण गर्छु : आईजीपी कुँवर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिने बताएका छन् ।महानिरीक्षकमा बढुवा भएपछि आइतबार दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि महानिरीक्षक कुँवरले प्रहरी नागरिकका हरेक दुःख र पीडाको प्रत्यक्ष साक्षी र सहयोगी रहेको बताए । 

‘प्रहरी संगठन समाजभन्दा अलग छैन । समाजमा देखिने राम्रा नराम्रा सबै पात्रहरू प्रहरीमा छन् । प्रहरीमा सुधार आवश्यक छ, तर त्यसका लागि दिन गनेर बस्ने छुट पनि छैन,’ महानिरीक्षक कुँवरले भने, ‘कसैले मार्ग बिराएका छन् भने तिनीहरूले आफूलाई नसुधारेर विकल्प छैन । प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो, म यसबाट किञ्चित पनि डगमगाउने छैन ।’

उनले आफ्नो कार्यकालमा प्रहरीले नागरिकमा राज्यप्रतिको भरोसा र प्रगाढता बढाउने गरी काम गर्ने र कार्ययोजना बनाउने बताए । ‘अपराधको रोकथाम, अनुसन्धान, कुनै पनि बाहना र विकल्पबिना शान्ति सुरक्षाको व्यवस्थाकालागि नेपाल प्रहरी कटिबद्ध रहनेछ,’ उनले भने, ‘प्रहरी संगठनको क्षमता अभिवृद्धि, न्यूनतम मानवीय आवश्यकता, श्रोतसाधनको समान वितरणमा कुनै कमजोरी हुँदैन, निष्पक्षता कायम रहन्छ ।’

महानिरीक्षक कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले गत शुक्रबार कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको थियो ।

प्रकाशित : चैत्र १२, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी सरकारबाट माओवादी बाहिरियो

घनश्याम गौतम, अमृता अनमोल

काठमाडौँ — लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आर्थिक मामिला मन्त्री जाेखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री जाेखबहादुर महराले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए ।

राजीनामा बुझाएर समर्थन फिर्ताको जानकारी दिन प्रदेश प्रमुख अमिक शेरचनको कार्यकक्षमा जाने तयारी भैरहेको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।

माओवादीकाे राजीनामासँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री गिरीले राजीनामा दिने कि विश्वासको मत लिने दुई विकल्प रहनेछन् । गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । भने कांग्रेसका २७ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ संसदले भने समर्थ गरेका थिएनन्।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश संसद रहेका छन्। सरकार गठनका लागि भने ४४ सांसदकाे मत आवश्यक हुन्छ ।

प्रकाशित : चैत्र १२, २०७९ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×